हालै एक राइड सेयरिङ चालकले आत्मदाहको प्रयास गरेको घटनाले देशव्यापी बहस सिर्जना गरेको छ। यस घटनाको कानुनी पक्ष, नगर प्रहरीको भूमिका वा कारबाहीको वैधानिकताबारे निर्णय गर्ने जिम्मेवारी सम्बन्धित कानुनी संयन्त्रकै हो। त्यसैले यस लेखमा उक्त घटनालाई जनस्वास्थ्य तथा सडक सुरक्षाको दृष्टिकोणबाट मात्र विश्लेषण गर्ने प्रयास गरिएको छ।
हामी सार्वजनिक सवारी, ट्याक्सी, बस तथा राइड सेयरिङ सेवा प्रयोग गर्ने आम नागरिकले केही समयका लागि आफ्नो जीवन चालकको जिम्मामा सुम्पिएका हुन्छौँ। तर नागरिकको जीवनको जिम्मेवारी वहन गर्ने सार्वजनिक सवारी चालकहरूको मानसिक तथा संवेगात्मक स्वास्थ्य अवस्थाको मूल्याङ्कन गर्नुपर्ने आवश्यकतालाई राज्यले अहिलेसम्म गम्भीरतापूर्वक महसुस गरेको देखिँदैन। यो विषय आम नागरिकको सार्वजनिक सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको छ।
नेपालमा चालक अनुमतिपत्रका लागि गरिने स्वास्थ्य परीक्षण मुख्यतः शारीरिक स्वास्थ्यमा मात्र सीमित देखिन्छ, त्यो पनि धेरैजसो चिकित्सकको औपचारिक हस्ताक्षरमै सीमित हुने गरेको अनुभव छ। मानसिक तथा मनोसामाजिक स्वास्थ्यको मूल्याङ्कनबारे त नीतिगत बहससमेत पर्याप्त रूपमा सुरु भएको देखिँदैन।
नागरिकको मानसिक स्वास्थ्य केवल व्यक्तिगत विषय मात्र होइन। सार्वजनिक जिम्मेवारी वहन गर्ने पेशामा संलग्न व्यक्तिका लागि यो सार्वजनिक हितसँग पनि प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ। विशेषगरी सार्वजनिक सवारी चालकहरूले दैनिक रूपमा हजारौँ यात्रुको सुरक्षाको जिम्मेवारी वहन गर्ने भएकाले उनीहरूको मानसिक स्थिरता, तनाव व्यवस्थापन क्षमता तथा संवेग नियन्त्रण सुरक्षित सवारी सञ्चालनका आधारभूत पक्ष हुन्।
यदि कुनै चालक गम्भीर मानसिक समस्याबाट गुज्रिरहेका छन्, अत्यधिक तनावमा छन् वा संवेग नियन्त्रणमा कठिनाइ अनुभव गरिरहेका छन् भने त्यसले चालक स्वयं, यात्रु तथा अन्य सडक प्रयोगकर्ताको जीवनलाई कुनै पनि समयमा अतिरिक्त जोखिममा पार्न सक्छ।
धेरै विकसित मुलुकहरूले व्यावसायिक चालकको स्वास्थ्य मूल्याङ्कनमा मानसिक स्वास्थ्यलाई पनि समावेश गरेका छन्। अष्ट्रेलियामा बस, ट्रक तथा ट्याक्सी चालकको मेडिकल फिटनेस मूल्याङ्कनका क्रममा गम्भीर डिप्रेसन, साइकोसिस, आत्महत्याको जोखिम तथा औषधिको प्रभावजस्ता मानसिक स्वास्थ्यसम्बन्धी अवस्थाको चिकित्सकीय मूल्याङ्कन गरिन्छ र आवश्यक परे मनोचिकित्सकको रायसमेत लिइन्छ।
युनाइटेड किंगडममा व्यावसायिक चालकले सुरक्षित सवारी सञ्चालनमा असर पार्न सक्ने मानसिक रोग वा उपचारबारे सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने व्यवस्था छ, र आवश्यक परे लाइसेन्समा अस्थायी प्रतिबन्ध लगाउन सकिन्छ। त्यसैगरी क्यानडा र संयुक्त राज्य अमेरिकामा पनि व्यावसायिक चालकको मेडिकल फिटनेस मूल्याङ्कनका क्रममा मानसिक वा व्यवहारसम्बन्धी अवस्थाले सुरक्षित रूपमा सवारी सञ्चालन गर्न सक्ने क्षमतामा प्रभाव पार्छ कि पर्दैन भन्ने विषय चिकित्सकीय रूपमा मूल्याङ्कन गरिन्छ।
नेपालमा पनि सार्वजनिक सवारी तथा राइड सेयरिङ चालकहरूको स्वास्थ्य परीक्षणलाई केवल औपचारिक प्रशासनिक प्रक्रिया वा शारीरिक स्वास्थ्यमा मात्र सीमित नराखी मानसिक स्वास्थ्य प्रवर्द्धन, मनोसामाजिक सहयोग, तनाव व्यवस्थापन तथा आवश्यक परे विशेषज्ञबाट मानसिक स्वास्थ्य मूल्याङ्कन गर्ने विषयमा नीतिगत बहस सुरु गर्नु आवश्यक देखिन्छ।
यसको उद्देश्य कुनै समूहमाथि विभेद गर्नु वा अनावश्यक प्रतिबन्ध लगाउनु होइन; बरु चालक, यात्रु र समग्र समाजको सुरक्षालाई थप सुदृढ बनाउनु हो।
हालैको घटनालाई व्यक्तिगत वा कानुनी विवादका रूपमा मात्र सीमित नगरी जनस्वास्थ्य र सडक सुरक्षाको दृष्टिकोणबाट पनि विश्लेषण गर्न आवश्यक छ। कानुनी पक्षको मूल्याङ्कन सम्बन्धित निकायले गर्ने नै छन्। तर यस घटनाले उठाएको मानसिक स्वास्थ्य र सुरक्षित सार्वजनिक यातायातसम्बन्धी प्रश्नमा नीति निर्माता, स्वास्थ्य क्षेत्र, यातायात व्यवसायी तथा नागरिक समाजबीच तथ्यमा आधारित, गम्भीर र रचनात्मक बहस सुरु हुनु समयको आवश्यकता हो।
लेखक राजेश ज्ञवाली स्नातकोत्तर, मेडिकल एन्थ्रोपोलोजी


प्रतिकया दिनुहोस्