भीम अस्पतालको वार्षिक समीक्षा : ३ लाख १२ हजार बढीले लिए सेवा

सरसफाइ सुधार्न, भारतमा उपचार र निश्चित पसलबाट औषधि किन्नुपर्ने बाध्यता हटाउन मेयरको आग्रह

स्वास्थ्यसमाचार/ भीम अस्पताललाई नेपालकै उत्कृष्ट अस्पतालका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिइएको छ। अस्पतालमा पछिल्लो समय सेवा तथा पूर्वाधारमा उल्लेखनीय सुधार भएको जनाउँदै सेवा विस्तारसँगै गुणस्तर सुधारमा ध्यान दिन सरोकारवालाले आग्रह गरेका छन्।

शुक्रबार आयोजित आर्थिक वर्ष २०८२/०८३ मा अस्पतालबाट सञ्चालित स्वास्थ्य सेवाको वार्षिक प्रगति समीक्षा गोष्ठीमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भीम अस्पताल नेपालकै उत्कृष्ट अस्पताल बन्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले अस्पतालको सरसफाइमा विशेष ध्यान दिनुपर्ने, बिरामीलाई उपचारका लागि भारत जानुपर्ने अवस्था अन्त्य गर्नुपर्ने तथा अस्पताल बाहिरका निश्चित पसलबाट औषधि किन्न बाध्य पार्न नहुने बताउनुभयो।‘यो अस्पताल नेपालकै उत्कृष्ट बन्छ भन्नेमा विश्वस्त छु। राम्रो काम भएको छ, अझै मिहिनेत गर्नुपर्छ,’ नगरप्रमुख खाँले भन्नुभयो।

भीम अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्तकुमार शर्माले सीमित स्रोतसाधनका बाबजुद अस्पतालले गुणस्तरीय सेवा प्रदान गरिरहेको बताउनुभयो। उहाँले आगामी दिनमा एक सय शय्याको अस्पताल निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै विशिष्टीकृत सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो। मुटुसम्बन्धी उपचार सेवा सञ्चालन गर्ने लक्ष्यसमेत रहेको उहाँले बताउनुभयो।

अध्यक्ष शर्माले अस्पतालको विकासमा तीनै तहका सरकारको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै भवन र पूर्वाधारसँगै चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको योगदान उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो।अस्पताल विकास समितिका सदस्य विष्णु भट्टराईले सबैको साथ र सहयोगबाट अस्पताललाई थप व्यवस्थित र प्रभावकारी बनाउन सकिने बताउनुभयो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वर्षा थापाले वार्षिक समीक्षा विगतका कामको मूल्यांकन मात्र नभई उपलब्धिबाट सिक्ने, समस्या तथा चुनौती पहिचान गर्ने र आगामी दिनका लागि प्रभावकारी तथा सेवाग्राहीमैत्री स्वास्थ्य सेवाको मार्गदर्शन तयार गर्ने माध्यम भएको बताउनुभयो।

उहाँका अनुसार सीमित स्रोतसाधनका बाबजुद स्वास्थ्य सेवा विस्तार, गुणस्तर सुधार, पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन तथा नयाँ सेवा सञ्चालनका क्षेत्रमा उल्लेखनीय प्रयास भएका छन्। यी उपलब्धि चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, विकास समिति तथा सम्पूर्ण सरोकारवालाको सामूहिक प्रयासको परिणाम भएको उहाँले बताउनुभयो।

अस्पताल व्यवस्थापक छमबहादुर अधिकारी ‘सुरेन्द्र’ले आर्थिक वर्ष २०८२/०८३ मा प्रदान गरिएका स्वास्थ्य सेवाको विवरण प्रस्तुत गर्दै लुम्बिनी प्रदेश सरकार, अस्पताल विकास समिति र सिद्धार्थनगर नगरपालिकाको सहयोगमा आधुनिक प्रविधिसहित थप विशेषज्ञ सेवा सञ्चालनको तयारी भइरहेको जानकारी दिनुभयो।

अस्पतालको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/०८३ मा २ लाख ६४ हजार ५३१ जनाले ओपीडी सेवा लिएका छन्। त्यस्तै ४७ हजार ८११ जनाले आकस्मिक सेवा लिएका छन्।

वि.सं. १९९० सालमा स्थापना भएको भीम अस्पतालले पछिल्लो समय सेवा तथा पूर्वाधार विस्तारलाई प्राथमिकता दिँदै आएको छ। वार्षिक समीक्षा गोष्ठीमा अस्पतालको समग्र प्रगति, चुनौती र आगामी योजनाबारे छलफल गरिएको थियो।

सम्बन्धित शिर्षक :