कानदेखि थाइराइडसम्मको उपचार अब लुम्बिनी प्रादेशिक अस्पतालमै

स्वास्थ्यसमाचार/ विशेषज्ञ उपचार र आधुनिक प्रविधिका लागि काठमाडौं धाउनुपर्ने लुम्बिनी प्रदेशका बिरामीको बाध्यता विस्तारै घट्दै गएको छ । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले विभिन्न विशेषज्ञ सेवा तथा आधुनिक शल्यक्रिया सेवा विस्तार गरेसँगै जटिल उपचारका लागि बाहिर जानुपर्ने अवस्था कम हुँदै गएको हो ।

अस्पतालका ईएनटी शल्यचिकित्सक डा. सन्तोष बस्नेतका अनुसार थाइराइडमा क्यान्सरको आशंका भएमा, गाँठो ठूलो वा निरन्तर बढ्दै गएमा, औषधिबाट नियन्त्रण नभएको हाइपरथाइराइडिज्म भएमा वा गाँठोका कारण निल्न तथा सास फेर्न कठिनाइ भएमा थाइराइडको शल्यक्रिया आवश्यक पर्न सक्छ ।

आधुनिक प्रविधि र दक्ष जनशक्तिको प्रयोगबाट थाइराइडको शल्यक्रिया सुरक्षित र प्रभावकारी रूपमा गर्न सकिने उनले बताए । उनका अनुसार अस्पतालमा थाइराइडबाहेक एन्डोस्कोपिक कानको शल्यक्रिया तथा नाकसम्बन्धी विभिन्न शल्यक्रिया पनि हुँदै आएका छन् । डा. बस्नेतका अनुसार केही दिनअघि एक आमाले आफ्नो बच्चाको कानको उपचारका लागि बुटवल ल्याएकी थिइन् ।

ती बालकको काठमाडौंस्थित एक अस्पतालमा एन्डोस्कोपिक प्रविधिबाट कानको शल्यक्रिया भइसकेको थियो । शल्यक्रियामा लागेको खर्चबारे जानकारी पाएपछि आफूलाई अचम्म लागेको उनले बताए ।बुटवलमै हामीले उही प्रविधि, आवश्यक उपकरण र विशेषज्ञतासहित यस्तो शल्यक्रिया गर्दै आएका छौं ।

तर उहाँलाई यहाँ पनि यो सेवा उपलब्ध छ भन्ने जानकारी रहेनछ,’ उनले भने ।बस्नेतका अनुसार उनले विगत सात वर्षदेखि एन्डोस्कोपिक कानको शल्यक्रिया गर्दै आएका छन् । शनिबार मात्रै पनि बुटवलमा एउटै प्रकृतिका दुईवटा एन्डोस्कोपिक कानको शल्यक्रिया सम्पन्न भएको उनले जानकारी दिए ।

एन्डोस्कोपिक शल्यक्रियामा कानको नलीबाटै दूरबिनजस्तो उपकरण प्रयोग गरी उपचार गरिन्छ । बाहिरी भागमा ठूलो चिरा लगाउनुपर्ने अवस्था नहुने भएकाले शल्यक्रियापछि बाहिर दाग वा स्पष्ट चिन्ह नदेखिनु यसको विशेषता भएको उनले बताए ।

‘उपचारका लागि काठमाडौं जाँदा खर्चसँगै यात्रा र समय पनि खर्च हुन्छ । यहाँ सेवा उपलब्ध छ भन्ने जानकारी पाए बिरामीले आर्थिक भारसँगै समय पनि बचाउन सक्छन्,’ उनले भने ।

लुम्बिनी प्रादेशिक अस्पतालले पछिल्लो समय विशेषज्ञ सेवा तथा आधुनिक प्रविधियुक्त उपचार विस्तार गर्दै आएको छ । अस्पतालमा दक्ष चिकित्सक, आवश्यक उपकरण र शल्यक्रिया सेवा विस्तार हुँदै गएपछि प्रदेशमै विशेषज्ञ उपचारको पहुँच बढ्दै गएको अस्पतालको भनाइ छ ।

चिकित्सकहरूका अनुसार आफूलाई आवश्यक सेवा आफ्नै क्षेत्रमा उपलब्ध छ कि छैन भन्नेबारे जानकारी लिएर मात्र बाहिर उपचारका लागि जान सके बिरामीको समय र खर्च दुवै बच्न सक्ने बताउछन ।

 

सम्बन्धित शिर्षक :