स्वास्थ्यसमाचार/ दाङमा आर्थिक वर्ष २०८२/८३ मा स्थानीय तहबाट सम्पादित स्वास्थ्य कार्यक्रम तथा प्रमुख स्वास्थ्य सूचकको मूल्याङ्कनमा राप्ती गाउँपालिका उत्कृष्ट भएको छ। स्वास्थ्य कार्यालय दाङको आयोजनामा २०८३ भदौ ५ र ६ गते सम्पन्न जिल्ला स्तरीय दुईदिने वार्षिक समीक्षा कार्यक्रममा राप्ती गाउँपालिका प्रथम घोषित भएको हो।
स्वास्थ्य कार्यालय दाङका अनुसार स्वास्थ्यका विभिन्न कार्यक्रमको प्रगति, प्रमुख स्वास्थ्य सूचक तथा कार्यसम्पादनका आधारमा गरिएको मूल्याङ्कनमा दंगिशरण गाउँपालिका दोस्रो र गढवा गाउँपालिका तेस्रो भएका छन्।
स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका स्वास्थ्य प्रशासक डा. अच्युत न्यौपानेको संयोजकत्वमा गठित मूल्याङ्कन टोलीले खोप, सुरक्षित मातृत्व, पोषण, सरुवा रोग, नसर्ने रोगको परीक्षण, औलो लगायत स्वास्थ्यका १६ वटा सूचकलाई आधार बनाएर स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गरेको थियो।
राप्ती गाउँपालिका यसअघि लगातार चार पटकसम्म स्वास्थ्य क्षेत्रमा प्रथम भएको थियो। आर्थिक वर्ष २०८१/८२ मा भने चौथो स्थानमा झरेको राप्ती गाउँपालिका यस वर्ष पुनः उत्कृष्ट बन्दै पहिलो स्थानमा फर्किएको हो।
कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख टीबी गुरुङले जिल्लाको स्वास्थ्य क्षेत्रमा स्थानीय तहले गरेका काम, उपलब्धि, चुनौती तथा सुधारका क्षेत्रबारे समीक्षा आवश्यक रहेको बताए। कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिले आ–आफ्नो पालिकामा गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रगति र चुनौती प्रस्तुत गरेका थिए।
त्यस्तै, पोस्टर प्रस्तुतीकरणतर्फ घोराही उपमहानगरपालिका प्रथम, राप्ती गाउँपालिका दोस्रो र तुलसीपुर उपमहानगरपालिका तेस्रो भएका छन्।
स्वास्थ्य कार्यालय दाङका प्रमुख टीबी गुरुङ को अध्यक्षता जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा कोप्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसी र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. सुरेश रसाइली विशिष्ट अतिथि आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालयका स्वास्थ्य प्रशासक डा. अच्युत न्यौपाने, प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीका निर्देशक डा. प्रवेश श्रीवास्तव, राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरका प्रमुख डा. मदन बीसी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीलगायत स्वास्थ्य शाखाका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पत्रकार र गैरसरकारी संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो।
समिक्षामा बोल्दै स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले स्थानीय तहमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रदेश सरकार आवश्यक सहयोग, समन्वय र सहकार्यका लागि प्रतिबद्ध रहेको बताइन्।
कार्यक्रममा उत्कृष्ट भएका पालिकालाई बधाई दिँदै अन्य स्थानीय तहले पनि आगामी दिनमा थप सुधार र प्रभावकारी कार्यसम्पादन गर्ने अपेक्षा गरिएको थियो। साथै समीक्षा कार्यक्रममा प्राप्त सुझाव, पृष्ठपोषण, मार्गदर्शन तथा निर्देशनलाई आत्मसात् गर्दै स्वास्थ्य सेवा थप परिष्कृत र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाइएको थियो।
समग्र जिल्लाको स्वास्थ्य अवस्था सुधारमा योगदान पुर्याउने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखाका प्रमुख तथा कर्मचारी, जनप्रतिनिधि, स्वास्थ्य कार्यालयको टोली, प्रदेश तथा संघीय स्वास्थ्य निकाय, सञ्चारकर्मी, पत्रकार, विकास साझेदार संस्था तथा आम सरोकारवालाप्रति स्वास्थ्य कार्यालय दाङले आभार व्यक्त गरेको छ।


प्रतिकया दिनुहोस्