आनन्दबन आधारभूत अस्पतालको सामाजिक परीक्षण : विशेषज्ञ सेवा विस्तार गर्ने तयारी

स्वास्थ्यसमाचार/तिलोत्तमा नगरपालिका–६ स्थित आनन्दबन आधारभूत नगर अस्पतालको आर्थिक वर्ष २०८२-८३ को सामाजिक परीक्षण सम्पन्न भएको छ।

अस्पतालले एक वर्षमा प्रदान गरेको स्वास्थ्य सेवा, आर्थिक अवस्था, उपलब्धि, चुनौती तथा आगामी योजनाबारे स्थानीय जनप्रतिनिधि, सरोकारवाला र सेवाग्राहीबीच सार्वजनिक समीक्षा गर्दै सेवा विस्तार र गुणस्तर सुधारका विषयमा छलफल गरिएको हो।

तिलोत्तमा वडा नं. ६ का वडा सदस्य एवं आनन्दबन आधारभूत नगर अस्पताल व्यवस्थापन समितिकी उपाध्यक्ष सीता खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य पूर्णप्रसाद आचार्य, गीता गन्धर्व, तिलोत्तमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेल, वरिष्ठ स्वास्थ्य अधिकृत रामप्रसाद ढकाल, व्यवस्थापन समितिका सदस्य अर्जुनराज उपाध्याय, उमा आधारभूत विद्यालयकी प्रधानाध्यापक किरणदेवी खनाल, टोल विकास संस्थाका पदाधिकारी, आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा अस्पताल प्रमुख रामप्रसाद चुडालीले सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साविक आनन्दबन स्वास्थ्य चौकी हाल आधारभूत नगर अस्पतालमा स्तरोन्नति भएको जानकारी दिए। उनले हाल १५ शैयाको भवन निर्माणाधीन रहेको, अस्पतालका लागि १४ कट्ठा जग्गा व्यवस्थापन गरिएको तथा स्थायी प्रकृतिका दुई भवनबाट सेवा सञ्चालन भइरहेको बताए।

उनका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म अस्पतालबाट ९ हजार ६८२ जनाले सेवा लिएका छन्। गत आर्थिक वर्ष ९ हजार ८९७ जनाले सेवा लिएको तुलनामा कुल सेवाग्राही संख्या सामान्य घटे पनि सामान्य उपचार, पोषण, परिवार नियोजन, नसर्ने रोग, प्रयोगशाला, भिडियो एक्स–रे तथा एण्टी–रेभिज खोपजस्ता सेवामा उल्लेखनीय वृद्धि भएको छ।

प्रतिवेदनअनुसार सामान्य उपचार सेवा लिने बिरामीको संख्या ६ हजार २५१ बाट बढेर ६ हजार ७८८ पुगेको छ। पोषण सेवा ५२९ बाट ७३० पुगेको छ भने परिवार नियोजनका नयाँ प्रयोगकर्ता १२८ बाट १४३ पुगेका छन्।

नसर्ने रोगसम्बन्धी सेवा ५४० बाट बढेर ६७० पुगेको छ। त्यसैगरी निःशुल्क भिडियो एक्स–रे सेवा लिनेको संख्या १०० बाट बढेर १५५ पुगेको छ भने प्रयोगशाला परीक्षण सेवा ८ सयबाट बढेर १ हजार ४० पुगेको छ।

अस्पतालले चालु वर्षमा ५८४ जनालाई एण्टी–रेभिज खोप सेवा उपलब्ध गराएको जनाएको छ। यसका लागि नगरपालिकाले २२५ भाइल खोप खरिद गरेको र हाल थप १५० भाइल प्राप्त भएको जानकारी पनि कार्यक्रममा दिइयो। त्यस्तै सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा ३२ जना महिलाले निःशुल्क प्रसूति सेवा लिएका छन्।

चार पटक गर्भवती जाँच गराउने महिलाको संख्या ९१ पुगेको छ। स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति गराउने सेवामा समेत निरन्तरता रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। आर्थिक प्रतिवेदनअनुसार अस्पतालको कुल आम्दानी १४ लाख २० हजार ६ सय ६७ रुपैयाँ रहेको छ। बैशाख मसान्तसम्म बैंक मौज्दात ८ लाख ९१ हजार ६ सय ६७ रुपैयाँ र नगद मौज्दात १५ हजार रुपैयाँ रहेको जानकारी दिइएको छ।

औषधि, प्रयोगशाला सामग्री, कर्मचारी तलब, पूर्वाधार मर्मत तथा गुणस्तर सुधारका कार्यक्रमहरूमा खर्च गरिएको अस्पतालका प्रमुख चुदालीले बताए। सामाजिक परीक्षणमा सहभागी स्थानीय पार्वती न्यौपानेले नगर अस्पताल घोषणा भइसकेपछि स्वास्थ्य बीमा, भिडियो एक्स–रे, ईसीजी, ल्याब तथा अन्य विशेषज्ञ सेवा स्थानीयमै सहज रूपमा उपलब्ध हुनुपर्ने बताइन्।

मोहिनीलाल आचार्यले अस्पतालको निर्माण कार्य शीघ्र सम्पन्न गरी विशेषज्ञ चिकित्सकसहितको सेवा तत्काल सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए। उमा आधारभूत विद्यालयकी प्रधानाध्यापक किरणदेवी खनालले स्वास्थ्य चौकीदेखि नगर अस्पतालसम्मको यात्रामा अस्पतालले स्थानीय नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह हुने विश्वास व्यक्त गरिन्।

व्यवस्थापन समितिका सदस्य अर्जुनराज उपाध्यायले अस्पताल निर्माणका लागि स्थानीय समुदायले गरेको पहलबारे जानकारी दिँदै अन्य स्थानमा सहज उपलब्ध नभएको एण्टी–रेभिज खोप सेवा समेत यस अस्पतालबाट सञ्चालन गरिनु महत्वपूर्ण उपलब्धि भएको बताए।

स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले अस्पतालका लागि आवश्यक जग्गा व्यवस्थापन, नगर अस्पताल निर्माण, जनशक्ति व्यवस्थापन तथा औषधि आपूर्तिलाई थप व्यवस्थित बनाउन नगरपालिका निरन्तर लागिरहेको बताए। उनले निर्माणाधीन १५ शैयाको अस्पताल सञ्चालनमा आएपछि थप विशेषज्ञ सेवा विस्तार गरिने जानकारी दिए। उनले नगरले संञ्चालनमा ल्याएको सुलभ फार्मेसीलाई यस अस्पतालबाट पनि संञ्चालनको लागी तयारी भएको बताए ।

त्यस्तै कार्यक्रमको अध्यक्षता गर्दै वडा सदस्य तथा अस्पताल व्यवस्थापन समितिकी उपाध्यक्ष सीता खनालले सामाजिक परीक्षणले अस्पतालका सबल पक्ष, कमजोरी तथा समुदायका अपेक्षालाई उजागर गरेको बताइन्। उनले सामाजिक परीक्षणबाट प्राप्त सुझावलाई कार्ययोजनामा समेटेर अस्पताललाई अझ व्यवस्थित, पारदर्शी, सेवामैत्री र गुणस्तरीय बनाइने प्रतिबद्धता व्यक्त गरिन्।

साथै निर्माणाधीन भवन समयमै सम्पन्न गरी स्वास्थ्य बीमा, विशेषज्ञ चिकित्सक, आधुनिक प्रयोगशाला, ईसीजी, भिडियो एक्स–रे लगायतका सेवा स्थानीय नागरिकले आफ्नै नगरभित्र सहज रूपमा पाउने वातावरण बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन्।

स्वास्थ्य क्षेत्र सामाजिक परीक्षण निर्देशिकाअनुसार स्वास्थ्य संस्थामा नियमित रूपमा सामाजिक परीक्षण  गरिन्छ। यस प्रक्रियाले स्वास्थ्य संस्थाले प्रदान गरेको सेवा, बजेट, उपलब्धि तथा चुनौतीलाई समुदायसमक्ष पारदर्शी रूपमा प्रस्तुत गर्नुका साथै सेवाग्राहीका सुझावलाई योजनामा समेटेर संस्थालाई पारदर्शी, जवाफदेही, उत्तरदायी र नागरिकमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।  तिलोत्तमा नगरपालिको सहयोग र रुपन्देही मिडीया नेटबर्क प्रालिको आयोजनामा सामाजीक परिक्षण भएको थियो ।

 

सम्बन्धित शिर्षक :