स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित उपमहानगरपालिका घोषणा गरिएको छ। जिल्ला खोप समन्वय इकाईबाट प्राप्त सिफारिस तथा आवश्यक मापदण्ड पूरा गरेपछि बुधबार आयोजित कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई पूर्ण खोप दिगोपना सुनिश्चित उपमहानगरपालिका घोषणा गरेका हुन्।
नगरभित्र रहेका करिब ६ हजार बालबालिकाले पूर्ण खोप प्राप्त गरेसँगै उपमहानगरपालिकाले पूर्ण खोप दिगोपना सुनिश्चितताको मान्यता हासिल गरेको हो।
कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईँले बुटवलले पूर्ण खोप सुनिश्चितताका लागि आवश्यक सबै सूचक पूरा गरेको भन्दै प्रमाणपत्र हस्तान्तरण गरे। अन्य पालिकाको तुलनामा बसाइँसराइको उच्च चापका कारण बुटवलमा पूर्ण खोप सुनिश्चितता घोषणा गर्न केही चुनौती रहेको उनले बताए। पूर्ण संस्थागत प्रसूति सुनिश्चितता घोषणा गर्ने योजना समेत बनाइएको भए पनि अपेक्षित सफलता प्राप्त हुन नसकेको उनको भनाइ थियो।
नगर प्रमुख खेलराज पाण्डेयले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप कार्यक्रमलाई उपमहानगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताए। खोप सेवाको नियमित अनुगमन, व्यवस्थापन तथा पहुँच विस्तारका कार्यलाई निरन्तरता दिइएको उनले उल्लेख गरे।
कार्यक्रममा स्वास्थ्य कार्यालय नवलपरासीका खोप अधिकृत भेषराज शर्माले पूर्ण खोप दिगोपना सुनिश्चितता अभियान लुम्बिनी प्रदेशबाट करिब १२ वर्षअघि सुरु भएको दाबी गर्दै स्थानीय तहबाट प्रदान गरिने स्वास्थ्य सेवाको महत्वबारे प्रकाश पारे। खोप, पोषण र सुरक्षित मातृत्वजस्ता सेवाले समुदायको स्वास्थ्य अवस्था सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने उनले बताए।
स्वास्थ्य कार्यालय रुपन्देहीका खोप फोकल व्यक्ति डिलाराम भुषालले रुपन्देहीमा बुटवल पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा हुने नवौँ पालिका बनेको जानकारी दिए। अभियानको सफलतामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले यसको निरन्तरतामा जोड दिए।
कालिका मानवज्ञान माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश थापाले स्वस्थ बालबालिकाबाट मात्र गुणस्तरीय शिक्षा सम्भव हुने भन्दै खोप कार्यक्रमलाई महत्वपूर्ण अभियानका रूपमा व्याख्या गरे। स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर उपमहानगरपालिकाले प्रभावकारी काम गरिरहेको उनको भनाइ थियो।
कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईँ, नगर प्रमुख खेलराज पाण्डेय तथा उपप्रमुख सावित्रादेवी अर्यालले अभियानमा योगदान पुर्याउने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, वडा कार्यालय तथा स्वास्थ्यकर्मीहरूलाई सम्मान गरेका थिए।
बुटवल उपमहानगरपालिकाको जनस्वास्थ्य व्यवस्थापन तथा रोग नियन्त्रण शाखाका प्रमुख युवराज पाण्डेले हरेक वर्ष घरधुरी सर्वेक्षणमार्फत बालबालिकाले उमेरअनुसार खोप पाए–नपाएको यकिन गर्ने, छुटेका बालबालिकालाई खोप सेवा उपलब्ध गराउने तथा नियमित अनुगमन गर्ने कार्यलाई निरन्तरता दिइँदै आएको बताए।
उपमहानगरपालिकाकी जनस्वास्थ्य अधिकृत तथा खोप फोकल व्यक्ति कल्पना भुषालका अनुसार सबै निर्धारित मापदण्ड पूरा भएपछि बुटवललाई पूर्ण खोप दिगोपना सुनिश्चित उपमहानगरपालिका घोषणा गरिएको हो। उपमहानगरपालिकामा १५ महिनामुनिका तथा १६ महिनादेखि ५ वर्षमुनिका गरी करिब ६ हजार बालबालिका रहेका छन्।



प्रतिकया दिनुहोस्