अद्यावधिक तीव्र : बुटवलमा १४ ल्याबले एकै दिन पाए सञ्चालन अनुमति

स्वास्थ्यसमाचार/  बुटवल उपमहानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरूको दर्ता तथा नवीकरण प्रक्रियालाई तीव्रता दिएको छ।

स्वास्थ्य संस्थाहरूलाई तोकिएको मापदण्डअनुसार सञ्चालन गर्न प्रोत्साहित गर्ने उद्देश्यले उपमहानगरपालिकाले सञ्चालकहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै सञ्चालन प्रमाणपत्र वितरण गरिरहेको छ।

बुटवल उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाका प्रमुख युवराज पाण्डेका अनुसार स्वास्थ्य संस्थाहरूलाई कानुनी तथा प्राविधिक मापदण्डबारे जानकारी गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो। अभिमुखीकरणपछि आवश्यक प्रक्रिया पूरा गरेका संस्थाहरूलाई सञ्चालन प्रमाणपत्र प्रदान गरिएको पान्डेले बताउनु भयो।

उपमहानगरपालिकाले सोमबार मात्रै १४ वटा स्वास्थ्य संस्थाका सञ्चालकहरूलाई अभिमुखीकरणसहित सञ्चालन प्रमाणपत्र वितरण गरेको छ। यस अभियान मार्फत नगर क्षेत्रभित्रका स्वास्थ्य संस्थाहरूलाई नियमनको दायरामा ल्याउने तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।

जनस्वास्थ्य शाखाका प्रमुख पाण्डेका अनुसार हालसम्म बुटवल उपमहानगरपालिकाबाट ३६ वटा स्वास्थ्य संस्थाले सञ्चालन अनुमतिपत्र प्राप्त गरिसकेका छन्। अझै दर्ता तथा अनुमति नलिई सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरूलाई यथाशीघ्र सम्पर्कमा आउन उपमहानगरपालिकाले सूचना जारी गरेको छ।

स्थानीय सरकार सञ्चालन ऐन तथा प्रचलित स्वास्थ्यसम्बन्धी मापदण्डअनुसार १५ शैयासम्मका अस्पताल, मेडिकल अफिसरसहितका क्लिनिक तथा ‘डी’ र ‘ई’ समूहका प्रयोगशालालाई सञ्चालन अनुमति दिने अधिकार स्थानीय तहलाई रहेको छ। यस व्यवस्थाअनुसार बुटवल उपमहानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने स्वास्थ्य संस्थाहरूको दर्ता, नवीकरण तथा अनुगमन गर्दै आएको छ।

१५ शैयाभन्दा माथिका अस्पताल तथा उच्चस्तरीय स्वास्थ्य संस्थाहरूको अनुमति, नियमन र सञ्चालनसम्बन्धी अधिकार भने प्रदेश तथा संघीय सरकारअन्तर्गत पर्दछन्।

उपमहानगरपालिकाले स्वास्थ्य संस्थाहरूलाई कानुनी दायराभित्र ल्याएर गुणस्तरीय, सुरक्षित र प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले दर्ता, नवीकरण तथा अनुगमन कार्यलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने जनाएको छ।

सम्बन्धित शिर्षक :