नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत स्वास्थ्य क्षेत्रमा ऐतिहासिक र दूरगामी प्रभाव पार्ने कदम चालेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले घोषणा गरेअनुसार अब नेपालमा ‘एक बिरामी, एक डिजिटल आईडी’ (One Patient, One Digital ID) र बिरामीको रियल-टाइम मनिटरिङ (Real-Time Monitoring) प्रणाली लागू हुनेछ। यसका साथै, रातको समयमा खटिने नर्सहरूको मनोबल बढाउन रात्रिकालीन ड्युटी भत्तामा ५०% वृद्धि गरिनेछ।
हाल हाम्रो क्लिनिकल स्वास्थ्य प्रणालीमा उच्च स्तरको जवाफदेहिताको अभाव छ । बिरामीको महत्त्वपूर्ण जानकारीहरू अझै पनि कलम र कागजमै सीमित छन् । तर यो नयाँ अवधारणाले नेपालको स्वास्थ्य प्रणालीलाई पूर्ण रूपमा डिजिटल र सुरक्षित बनाउनेछ, जुन नेपाल सरकारद्वारा सञ्चालित एकीकृत सफ्टवेयरमार्फत लागू हुनेछ ।
यस प्रणालीका मुख्य फाइदाहरू
यो प्रणाली लागू भएपछि स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन आउनेछ। यसका प्रमुख फाइदाहरू यस प्रकार छन्:
• बिरामीको सुरक्षा र त्रुटि न्यूनीकरण: यो डिजिटल प्रणालीले बिरामीलाई दिइने औषधिको सही रेकर्ड राख्नेछ, जसले गर्दा औषधि सिफारिसमा हुने त्रुटिहरू कम हुनेछन् र बिरामीको सुरक्षा सुनिश्चित हुनेछ ।
• औषधिको रियल-टाइम रेकर्ड: नर्सहरूले बिरामीलाई कुन औषधि, कुन मात्रामा र कति बजे दिइयो भन्ने कुराको प्रत्यक्ष (Live) विवरण अनलाइन प्रणालीमा राख्नेछन् । यसले उपचारलाई थप प्रभावकारी बनाउनेछ।
• अस्पताल रेफरलमा सहजता: हाल एक अस्पतालबाट अर्को अस्पतालमा बिरामी रेफर गर्दा बिरामीको पुरानो उपचार विवरण बुझ्न निकै गाह्रो छ । तर डिजिटल प्रणाली लागू भएपछि, नयाँ अस्पतालका डाक्टरले बिरामीको सम्पूर्ण ऐतिहासिक उपचार विवरण तुरुन्तै हेर्न सक्नेछन्, जसले गर्दा दीर्घकालीन उपचार सहज र सुरक्षित हुनेछ ।
• स्वास्थ्य मन्त्रालयको प्रत्यक्ष निगरानी: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय (MoHP) ले एउटै सफ्टवेयर प्लेटफर्मबाट डाक्टरका प्रेस्क्रिप्शन, बिरामीको रेकर्ड र रक्त परीक्षण रिपोर्टहरू हेर्न सक्नेछ । यसले अनावश्यक वा गलत औषधिको सिफारिस रोक्न मद्दत गर्नेछ ।
• स्वास्थ्य बीमा र आपूर्ति शृङ्खलामा पारदर्शिता: सबै फार्मेसीहरूमा बिक्री हुने औषधिको अनलाइन ट्र्याकिङ हुनेछ । सम्पूर्ण डाटा एउटै डिजिटल छानामुनि आउँदा यसले पारदर्शी इकोसिस्टम निर्माण गर्नेछ र स्वास्थ्य बीमा कम्पनीहरूलाई डाटा प्रमाणित गरी नागरिकलाई छिटो बीमा सुविधा दिन मद्दत गर्नेछ ।
सम्भावित चुनौती र समाधान
सरकारले यो महत्त्वपूर्ण सुधार लागू गर्दा केही सामान्य चुनौतीहरू सामना गर्नुपर्ने हुन सक्छ, तर उचित व्यवस्थापनले यी समस्याहरू सजिलै समाधान गर्न सकिन्छ।
मुख्य चुनौती भनेको बिरामीको डाटा सुरक्षा हो। अस्पतालको अनलाइन प्रणालीबाट बिरामीको डाटा ह्याकिङ (Data Hacking) हुने र ती संवेदनशील जानकारीहरू राष्ट्रिय वा बहुराष्ट्रिय औषधि (Pharma) तथा जडीबुटी कम्पनीहरूलाई बिक्री हुन सक्ने जोखिम रहन्छ। निजी कम्पनीहरूले यस्ता डाटा खरिद गरी आफ्नो स्वार्थका लागि प्रयोग गर्न सक्छन्।
समाधानको उपाय:
यस प्रकारको सम्भावित दुरुपयोग रोक्न बिरामीको नाम, सम्पर्क नम्बर, ठेगाना र अन्य व्यक्तिगत जानकारीहरू पूर्ण रूपमा गोप्य राखिनुपर्छ। प्रणालीमा यी विवरणहरूलाई विशेष ‘कोड’ (Code) मा परिणत गरी इन्क्रिप्ट (Encrypt) गरिनुपर्छ।
यी इन्क्रिप्टेड डाटाहरू केवल कानुनी आवश्यकता वा विशेष न्यायिक परिस्थितिमा (Jurisdictional necessity) मात्र डिक्रिप्ट (Decrypt) गर्न मिल्ने कडा सुरक्षा व्यवस्था लागू गर्नुपर्छ। यसो गर्दा बिरामीको संवेदनशील विवरण सुरक्षित रहन्छ र डाटा चुहावटको सामान्य जोखिम पनि जरैदेखि अन्त्य हुन्छ।
अन्ततः, यो सुधारको लागि असम्भव बजेटको आवश्यकता पर्दैन, तर यसले सरकारको बलियो इच्छाशक्ति र कार्यान्वयनको माग गर्दछ । ‘एक बिरामी, एक डिजिटल आईडी’ को सफल कार्यान्वयनले पक्कै पनि स्वस्थ र डिजिटल नेपालको निर्माण गर्नेछ ।
सहायक प्राध्यापक, फार्मेसी विभाग, क्रिमसन कलेज अफ टेक्नोलोजी रुपन्देही ।

प्रतिकया दिनुहोस्