स्वास्थ्यसमाचार/ देवदह नगरपालिका वडा नं. २ ढेकावरस्थित केरवानी स्वास्थ्य चौकीको आयोजनामा महिनावारी स्वच्छता दिवसका अवसरमा विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। महिनावारी स्वच्छताबारे किशोर–किशोरी अवस्थादेखि नै सचेतना फैलाउने, गलत धारणा हटाउने तथा स्वास्थ्यसम्बन्धी ज्ञान विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम देवदह–२ स्थित सेभेन स्टार इङ्लिस बोर्डिङ स्कुलमा गरिएको हो।
प्रतियोगितामा देवदह नगरपालिका वडा नं. १ को सरस्वती मा.वि., वडा नं. २ को भविष्य निर्माण मा.वि., सेभेन स्टार इङ्लिस बोर्डिङ स्कुल तथा नमुना एभरग्रिन इङ्लिस बोर्डिङ स्कुल गरी चार वटा विद्यालयको सहभागिता रहेको थियो। विद्यार्थीहरूबीच महिनावारी स्वच्छता, स्वास्थ्य, सरसफाइ तथा सामान्य ज्ञानसम्बन्धी विषयमा प्रतिस्पर्धा गराइएको थियो।
प्रतियोगिता पाँच चरणमा सञ्चालन गरिएको थियो। जसमा परिचय चरण, सामान्य प्रश्नोत्तर, रेपिड फायर राउन्ड, बजर राउन्ड तथा अन्तिम फाइनल चरण समावेश थिए। विभिन्न चरणमा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्नो ज्ञान र क्षमता प्रस्तुत गरेका थिए।
प्रतिस्पर्धाको अन्तिम परिणाम अनुसार सेभेन स्टार इङ्लिस बोर्डिङ स्कुल प्रथम, भविष्य निर्माण मा.वि. द्वितीय, सरस्वती मा.वि. तृतीय तथा नमुना एभरग्रिन इङ्लिस बोर्डिङ स्कुलले सान्त्वना स्थान हासिल गरेका थिए।
कार्यक्रम सेभेन स्टार इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक टिकाराम चापागाईंको अध्यक्षता तथा देवदह नगरपालिका वडा नं. २ का वडाध्यक्ष दल बहादुर राकसकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमको प्राविधिक सत्रको सहजीकरण केरवानी स्वास्थ्य चौकी प्रमुख जनस्वास्थ्य निरीक्षक काशीराम रेग्मीले गर्नुभएको थियो भने औपचारिक सत्रको सञ्चालन सि.अ.हे.व. जनक पोखरेलले गर्नुभएको थियो।

प्रतिकया दिनुहोस्