संजीवनी टिचिङ हस्पिटलद्वारा गाउँमै विशेषज्ञ सेवा, ६ सय बढी बिरामी लाभान्वित

स्वास्थ्यसमाचार/ संजीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोग तथा शान्तिनगर गाउँपालिकाको संयुक्त आयोजनामा दाङको शान्तिनगर गाउँपालिका–५ बैसास्थित सभाहलमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरबाट ६ सयभन्दा बढी स्थानीय नागरिक लाभान्वित भएका छन्।

शिविरमा ६०५ जना बिरामीहरूले विभिन्न विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा लिएको आयोजकले जनाएको छ। ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो।

शिविरको उद्घाटन गर्दै शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले गाउँमै विशेषज्ञ चिकित्सकबाट सेवा पाउनु स्थानीयवासीका लागि महत्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँले आर्थिक अभाव र पहुँचको समस्याका कारण उपचारबाट वञ्चित हुने नागरिकलाई यस्ता शिविरले ठूलो राहत मिल्ने उल्लेख गर्नुभयो। साथै, ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सहयोग गरेको भन्दै उहाँले संजीवनी टिचिङ हस्पिटल परिवारप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा अस्पताल सञ्चालक समिति सदस्य डा. लुना अर्यालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिइने जानकारी दिनुभयो। उहाँले स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउने उद्देश्यले अस्पतालले विभिन्न स्थानमा निःशुल्क शिविर सञ्चालन गर्दै आएको बताउनुभयो।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत दिपक रोकाले शान्तिनगर गाउँपालिकासँगको सहकार्यप्रति धन्यवाद व्यक्त गर्दै विपन्न तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको बताउनुभयो। उहाँले अस्पताल स्थापनादेखि नै सामाजिक सेवामा केन्द्रित भएर काम गर्दै आएको उल्लेख गर्नुभयो।

शिविरमा स्वास्थ्य परीक्षणसँगै आवश्यक परामर्श र औषधि वितरणसमेत गरिएको थियो। स्थानीयवासीले गाउँमै विशेषज्ञ सेवा पाउँदा खुशी व्यक्त गरेका छन्।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :