पाल्पामा आयातित औलोको जोखिम कायमै, स्वास्थ्य सतर्कता बढाइँदै

स्वास्थ्यसमाचार/ पाल्पामा आयातित औलोको सङ्क्रमणको जोखिम कायमै रहेको पाइएको छ । जिल्लामा परीक्षण गर्दा फेला परेका सबै बिरामी भारतबाट सङ्क्रमण बोकेर आएका आयातित बिरामी भेटिने गरेकोले जोखिम रहेको हो ।

स्वास्थ्य कार्यालय पाल्पाले विश्व औलो दिवसका अवसरमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा कार्यलयका प्रमुख टुकप्रसाद पोखरेलले जिल्लामा औलो रोगको समग्र अवस्था बारे जानकारी गराउदै पछिल्ला वर्षमा परीक्षणको दरमा वृद्धि गरिएको बताउनुभयो ।

किटद्धारा गरिने द्रुत परीक्षण (आरडिटी) परीक्षणमा आर्थिक वर्ष २०८०/८१ मा ४ हजार २७६ जनाको रगत परीक्षण गरिएकोमा ४ जनामा सङ्क्रमण देखिएको थियो । यस्तै, आर्थिक वर्ष २०८१/८२ मा परीक्षणको दायरा बढाएर ५ हजार १७५ पु¥याउँदा ११ जनामा औलो पुष्टि भयो । चालु आर्थिक वर्ष २०८२/८३ को चैत्र मसान्तसम्म ३ हजार १८४ जनाको परीक्षण भइसकेको छ, जसमा २ जनामा सङ्क्रमण फेला परेको छ ।

विगत तीन वर्षमा फेला परेका मध्य २० जना सङ्क्रमित आयातित बिरामी रहेको र पाल्पामा आफ्नै भूगोलभित्र लामखुट्टेले टोकेर एक व्यक्तिबाट अर्कोमा सर्ने स्थानीय औलोको दर शून्य रहेको प्रमुख पोखरेलको भनाइ छ ।

कार्यक्रममा ल्याब टेक्निसियन अधिकृत मधुसुधन भट्टराईले मलेरिया अर्थात् औलो रोग एनोफिलिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने बताउनुभयो । उहाँले औलो रोग, नेपालको अवस्था र रणनीतिका विषयमा जानकारी गराउदै कामज्वरो आउनु, टाउको दुख्नु, वाकवाकी लाग्नु र पसिना आएर ज्वरो निको हुनु यसका प्रमुख लक्षण रहने जानकारी गराउनुभयो ।

समयमै उपचार नभए यसले कलेजो, फियो र मस्तिष्कमा गम्भीर असर पु¥याउने भएकाले ज्वरो आउनासाथ रगत परीक्षण गराउनुपर्ने भट्टराईको सुझाव छ । नेपालका सबै सरकारी स्वास्थ्य संस्थामा औलोको परीक्षण र औषधि निःशुल्क उपलब्ध रहेको उहाँले बताउनुभयो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :