दुधराक्ष स्वास्थ्य चौकीमा सामाजिक परीक्षण : बर्थिङ सेन्टर देखि एम्बुलेन्स सम्म माग

स्वास्थ्यसमाचार/ रुपन्देहीको सैनामैना नगरपालिकास्थित दुधराक्ष स्वास्थ्य चौकीमा सेवा प्रवाहको अवस्था, उपलब्धि, चुनौती र आगामी सुधारका योजनाबारे विस्तृत रूपमा सामाजिक परीक्षण सम्पन्न गरिएको छ।

स्वास्थ्य चौकीमा एक वर्षको अवधिमा भएका कामहरूको समीक्षा गर्दै सार्वजनिक गरिएको तथ्यांकले सेवा विस्तारसँगै सेवाग्राहीको पहुँच उल्लेखनीय रूपमा बढेको देखाएको छ।

वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष गोपाल पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त सामाजिक परीक्षण कार्यक्रममा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिइएको थियो।

२० हजारभन्दा बढी सेवाग्राहीलाई सेवा

सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनअनुसार दुधराक्ष स्वास्थ्य चौकीबाट एक वर्षमा २० हजारभन्दा बढी सेवाग्राहीले विभिन्न स्वास्थ्य सेवा लिएका छन्। यसले स्थानीय स्तरमै प्राथमिक स्वास्थ्य सेवाप्रति नागरिकको निर्भरता बढ्दै गएको संकेत गरेको छ।

स्वास्थ्य चौकी प्रमुख खगराज पोखरेलका अनुसार सेवा विस्तारसँगै संस्थामा आउने सेवाग्राहीको संख्या वर्षेनी वृद्धि भइरहेको छ। “हामीले सीमित स्रोतसाधनका बीच पनि अधिकतम सेवा दिन प्रयास गरेका छौँ। सेवाग्राहीको चाप बढेसँगै सेवा गुणस्तरमा सुधार ल्याउनु हाम्रो प्रमुख प्राथमिकता हो,” उनले भने।

“ प्रमुखले दुधराक्ष स्वास्थ्य चौकीमा आएपछि सेवा प्रवाह सुधार, बिरामीको उपचार पहुँच विस्तार तथा भौतिक पूर्वाधार सुधारका क्षेत्रमा निरन्तर काम भइरहेको बताए । उनले स्वास्थ्यकर्मीहरूले दिनरात सेवा दिँदै आएको उल्लेख गर्दै बिरामीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखिएको बताए ।

साथै, सामाजिक परीक्षणले संस्थाको वास्तविक अवस्था बुझ्न, कमजोरी पहिचान गर्न र सेवा सुधारका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै यसले आगामी योजना बनाउन मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे।”

खोप, पोषण र मातृ स्वास्थ्यमा सुधार

खोप तथा पोषण सेवातर्फ एक हजारभन्दा बढी बालबालिकाले नियमित खोप सेवा लिएका छन्। पोषण कार्यक्रमअन्तर्गत कुपोषणको जोखिममा रहेका करिब १०० जना बालबालिकालाई नियमित निगरानी तथा उपचार सेवा प्रदान गरिएको छ।

मातृ तथा प्रजनन स्वास्थ्य सेवामा पनि उल्लेखनीय सुधार देखिएको छ। गर्भवती महिलाहरूको नियमित ANC (गर्भ जाँच) सेवा, संस्थागत सुत्केरी तथा परिवार नियोजन सेवामा पहुँच बढेको स्वास्थ्य चौकीले जनाएको छ।

परिवार नियोजन सेवा लिनेको संख्या ५ हजारभन्दा बढी पुगेको तथ्यांक सार्वजनिक गरिएको छ। यसले जनचेतना र सेवा पहुँच दुवैमा सकारात्मक प्रभाव परेको संकेत गरेको छ।

प्रयोगशाला सेवा विस्तार

स्वास्थ्य चौकीमा प्रयोगशाला (ल्याब) सेवा लिने सेवाग्राहीको संख्या २ हजारभन्दा बढी पुगेको छ। यसले स्थानीयस्तरमै सामान्य परीक्षणका लागि टाढा जानुपर्ने बाध्यता घट्दै गएको देखाउँछ।

नगरपालिकाका नर्सिङ अधिकृत नरमदा घिमिरेले सेवा विस्तारलाई सकारात्मक उपलब्धि भएको बताउँदै यसको निरन्तर सुधार आवश्यक रहेको उल्लेख गरिन्। “स्थानीय तहमा स्वास्थ्य सेवाको पहुँच विस्तार हुनु महत्वपूर्ण उपलब्धि हो।

बढ्दो सेवाग्राहीको मागअनुसार जनशक्ति, उपकरण र औषधि व्यवस्थापनलाई  नगरपालिकाले  व्यवस्थापनमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गरिन्।”“उनले आवश्यक थप सेवा विस्तारका लागि यहाँको बिरामीको चापअनुसार योजना बनाएर अघि बढाइने समेत बताइन्।”

सहभागीहरूको सुझाव

कार्यक्रममा सहभागी १२ जनाले स्वास्थ्य सेवा सुधारका लागि विभिन्न महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए। उनीहरूले विशेषगरी एम्बुलेन्स सेवा अभाव, बर्थिङ सेन्टर स्तरोन्नति, एक्स–रे तथा भिडियो एक्स–रे सेवा सञ्चालन, निःशुल्क ल्याब सेवा विस्तार तथा औषधि आपूर्तिमा नियमितता आवश्यक रहेको बताए।

“सेवाग्राहीहरूले प्रयोगशाला सेवा पूर्ण रूपमा निःशुल्क हुनुपर्ने र डाक्टर सेवाका लागि स्वास्थ्य चौकीले पहल गर्नुपर्ने माग गरेका छन्।” स्थानीयवासीहरूले भौतिक पूर्वाधार विस्तार गर्दै सेवा प्रवाहसँगै संरचनागत सुधारलाई पनि समान रूपमा अघि बढाउनुपर्ने माग राखेका छन्।

अध्यक्षको प्रतिबद्धता

स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष गोपाल पोखरेलले सेवाग्राहीको बढ्दो चापलाई ध्यानमा राख्दै आगामी दिनमा सेवा विस्तारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए।“सामाजिक परीक्षणले हाम्रो कमजोरी र सुधारका क्षेत्र स्पष्ट गरेको छ। अब एम्बुलेन्सदेखि पूर्वाधार सुधारसम्मका विषयलाई चरणबद्ध रूपमा अघि बढाइनेछ,” उनले भने।“

उनले स्वास्थ्य चौकीलाई बिरामीमैत्री बनाउनका लागि कम्पाउन्ड भित्र बगैचा व्यवस्थापन गरिएको र सेवा लिने बिरामी तथा सेवाग्राहीलाई सहज, शान्त र मैत्रीपूर्ण वातावरण प्रदान गर्ने उद्देश्यले आवश्यक सुधारका कामहरू अघि बढाइएको समेत बताए ।”

खुला छलफल र पारदर्शितामा जोड

सामाजिक परीक्षणका क्रममा सेवा प्रवाह, पारदर्शिता, जनशक्ति अवस्था, सेवा गुणस्तर तथा सेवाग्राही सन्तुष्टिबारे खुला छलफल गरिएको थियो। सरोकारवालाहरूले स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीच समन्वय अझ सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्। “सामाजिक परीक्षण क्रममा सेवा सुशासनदेखि बिरामीमैत्री सेवासम्मका पक्षहरू स्पष्ट रूपमा देखिएका छन्।” कार्यक्रम सैनामैना नगरपालिकाको सहयोग तथा रुपन्देही मिडिया नेटवर्कको आयोजनामा सम्पन्न भएको हो।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :