नवनियुक्त मेसु गौतम द्धारा पदभार ग्रहण : समन्वय र सुशासनमा प्रतिवद्धता

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा नव नियुक्त डा. विष्णु गौतम ले शुक्रबार पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहण गर्दै मेसु डा. गौतमले अस्पतालमा उपलब्ध जनशक्ति, उपकरण, प्रविधि तथा संरचनाको अधिकतम प्रयोग गरी प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने आफ्नो मुख्य प्राथमिकता रहने बताए। उनले जनअपेक्षा र उपलब्ध स्रोतबीच ठूलो खाडल रहेको उल्लेख गर्दै त्यसलाई कम गर्न प्रदेश तथा संघीय सरकारसँग आवश्यक समन्वय र सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गरे।

डा. गौतमले अस्पताल व्यवस्थापनमा सुशासन कायम गर्दै सेवा प्रवाहलाई अझ पारदर्शी र व्यवस्थित बनाइने पनि बताए।अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, सदस्य लक्ष्मी भट्टराई, निवर्तमान मेसु डा. इन्द्र ढकाल, पूर्व मेसु डा. सुदर्शन थापा लगायतले बोल्दै सफल कार्यकालका लागि बधाईसहित शुभकामना व्यक्त गरे ।

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गौतमलाई मेसुको जिम्मेवारी दिने निर्णय गरेको हो।  डा.गौतम स्वास्थ्य सेवाको जनरल हेल्थ सर्भिस (जहेस) समूह अन्तर्गत ११ तहका वरिष्ठ चिकित्सक हुन्। लामो समयदेखि सरकारी स्वास्थ्य सेवामा आबद्ध रहँदै विभिन्न जिम्मेवारी सम्हालेको अनुभवका आधारमा उनलाई मेसुमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।

यस क्षेत्रकै सबैभन्दा ठुलो लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक करिब २ हजार ५ सयदेखि ३ हजारसम्म बिरामीले सेवा लिने गरेका छन्।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :