गंगानगर स्वास्थ्य केन्द्रमा सामाजिक परीक्षण: स्वास्थ्य सेवा र पूर्वाधारमा जोड

रुपन्देहीको सैनामैना नगरपालिका–३ स्थित गंगानगर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्वास्थ्य सेवा प्रवाहको अवस्था, चुनौती तथा सुधारका आवश्यकताबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा कार्यालयका प्रमुख जनस्वास्थ्य निरिक्षक रिम बहादुर पाटाले स्वास्थ्य संस्थाले प्रदान गर्दै आएको सेवा, वर्तमान अवस्था, आवश्यकता तथा आगामी योजनाबारे जानकारी गराउँदै बिरामीलाई अझ प्रभावकारी र विस्तृत सेवा दिनुपर्ने आवश्यकता औंल्याए।

उनले स्वास्थ्य केन्द्रमा कर्मचारी अभाव, भौतिक पूर्वाधारको अपुग अवस्था तथा निर्माणाधीन तारबारलगायतका समस्या रहेको बताए। उनका अनुसार करिब ६ हजार जनसंख्या रहेको सेवाक्षेत्रमध्ये ३ हजार ७५९ जनाले मात्र स्वास्थ्य सेवा लिएका छन्। यस वर्ष बिरामीको चाप उल्लेख्य नरहेको उल्लेख गर्दै उनले स्वास्थ्य संस्था सबैका लागि सहज पहुँचमा नपुगेकाले केही बिरामी अन्यत्र उपचारका लागि जाने गरेको बताए।

वडा अध्यक्ष तथा स्वास्थ्य सेवा केन्द्र व्यवस्थापन समितिका अध्यक्ष तम बहादुर पुर्जाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीयवासीले सेवा प्रवाहप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। टोल विकास समितिका अध्यक्ष भीम बहादुर पुर्जा र पार्वती सिंजाली क्षेत्रीले स्वास्थ्य केन्द्रबाट सेवा सहज रूपमा पाइरहेको बताए।

तर, स्वास्थ्य संस्थामा पुग्नका लागि पुल आवश्यक रहेको उनीहरूको भनाइ थियो। त्यस्तै दिल कुमारी गुरुङ र नरमाया भुजेलले स्वास्थ्य केन्द्रले बिरामीमैत्री सेवा प्रदान गरिरहेको धारणा व्यक्त गरे।कार्यक्रममा बोल्दै वडा अध्यक्ष पुर्जाले स्वास्थ्य संस्थामा देखिएका भौतिक संरचना, जनशक्ति तथा व्यवस्थापनसम्बन्धी समस्या समाधानलाई प्राथमिकतामा राखिएको बताए।

उनले चालु आर्थिक वर्षमै कम्पाउन्ड वाल निर्माण तथा रंगरोगका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए। साथै, पुल निर्माणको आवश्यकता महसुस गरिएको भन्दै त्यसका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

स्वास्थ्य संस्थामा सेवा प्रवाहको पारदर्शिता र प्रभावकारिता अभिवृद्धि गर्न सामाजिक परीक्षण गरिने गरिएको छ। यस प्रक्रियामार्फत सेवाग्राही, स्वास्थ्यकर्मी तथा सरोकारवालाबीच अन्तरक्रिया गर्दै सेवाको अवस्था मूल्यांकन गरिन्छ। सामाजिक परीक्षणले स्वास्थ्य सेवामा देखिएका समस्या र सुधार गर्नुपर्ने पक्ष पहिचान गर्न सहयोग पु¥याउने गर्दछ।

यसले स्वास्थ्य संस्थालाई अझ उत्तरदायी, गुणस्तरीय र सेवामुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।रुपन्देही मिडिया नेटवर्कको आयोजना तथा सैनामैना नगरपालिकाको सहयोगमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको हो।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :