देशभर आज–भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाई राष्ट्रिय अभियान सफल पारौँ

“नयाँ वर्ष २०८३ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण देशवासीहरूमा शुभ स्वास्थ्य, दीर्घायु एवं उच्च प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना।”

राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा यही मिति २०८३ साल बैशाख ६ र ७ गते देशैभरि एकैसाथ सञ्चालन हुने भएको हुँदा आफ्ना बालबालिकाहरूलाई तोकिए अनुसार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन नजिकको स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग सम्पर्क गरी अनिवार्य रूपमा सेवन गराऔँ।

सरकारले भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र भिटामिन ‘ए’ सँगै जुकाको औषधि सन् २००१ देखि सुरु गरेको यस कार्यक्रममा आफ्ना बालबालिकाहरूलाई अभियानमा नछुटाऔँ। हरेक वर्ष बैशाख र कार्तिक महिनामा सञ्चालन हुँदै आइरहेको यो महाअभियान यही बैशाख ६ र ७ गते मन्त्रालयको निर्णय र परिपत्र अनुसार देशैभरि एकैसाथ खुवाउन परिपत्र गरिएको हुनाले सबैले आ-आफ्नो स्थानबाट अभियान सफल बनाउन लागिपर्नु आवश्यक छ।

आफ्ना भविष्यका कर्णधार ६ महिनादेखि ५ वर्षसम्मका उमेर समूहका सम्पूर्ण बालबालिकाहरूलाई भिटामिन ‘ए’ को क्याप्सुल र जुकाको औषधि खुवाउन नभुलौँ। यो अभियानले बच्चालाई कमजोरी हुनबाट बचाउँछ, लुलो-लङ्गडो तथा असक्त हुनबाट जोगाउँछ, साथै अन्य रोगसँग लड्ने क्षमता पनि बढाउँछ र रतन्धो जस्तो घातक रोग हुनबाट समेत बचाउँछ।

त्यसैले आफ्ना बालबालिकाहरूलाई निःशुल्क रूपमा उपलब्ध भएको यो औषधि सेवन गराउने कार्यमा अनिवार्य रूपमा सहभागी बनौँ। भिटामिन ‘ए’ को कमीको रोकथाम तथा नियन्त्रण कार्यक्रमका लागि हरेक सूचीकृत स्वास्थ्य संस्थाहरूले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूमार्फत वर्षको दुई पटक बैशाख र कार्तिक महिनामा ६ महिनादेखि ५ वर्षसम्मका सम्पूर्ण बालबालिकाहरूलाई भिटामिन ‘ए’ को क्याप्सुल खुवाइन्छ।

जसमा ६ देखि १२ महिनाका लागि १,००,००० आई.यु. (आधा क्याप्सुल) र १२ महिना पूरा भएदेखि ५ वर्षसम्मका लागि २,००,००० आई.यु. (१ क्याप्सुल) खुवाइन्छ। साथै दादुरा, कडा कुपोषण, दीर्घ झाडापखाला र भिटामिन ‘ए’ को कमीबाट हुने आँखा सम्बन्धी रोगहरूको उपचारका लागि पनि स्वास्थ्य संस्थाहरूबाट भिटामिन ‘ए’ क्याप्सुल प्रयोग गरिन्छ।

त्यसैगरी शिशुलाई स्तनपानमार्फत भिटामिन ‘ए’ को आपूर्ति गर्ने उद्देश्यले सुत्केरी महिलाहरूलाई शिशु जन्मेको ६ हप्ताभित्र स्वास्थ्य संस्था तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकामार्फत २,००,००० आई.यु. भिटामिन ‘ए’ को एक क्याप्सुल खुवाइन्छ।

परजीवी नियन्त्रण कार्यक्रम अन्तर्गत जन्मेदेखि १ वर्ष उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैन। १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकाहरूलाई सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकामार्फत अर्धवार्षिक रूपमा कार्तिक र बैशाख महिनामा जुकाको औषधि एल्बेन्डाजोल ४०० मि.ग्रा. एक मात्रा खुवाइन्छ। जसमा १ देखि २ वर्षसम्मका लागि २०० मि.ग्रा. (आधा चक्की) र २ वर्षदेखि ५ वर्षसम्मका लागि ४०० मि.ग्रा. (एक चक्की) खुवाइन्छ।

विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत विद्यालय जाने बालबालिकाहरूलाई अर्धवार्षिक रूपमा जेठ र मंसिर महिनाको पहिलो हप्तामा जुकाको औषधि एल्बेन्डाजोल ४०० मि.ग्रा. एक मात्रा खुवाउने व्यवस्था छ।

६ महिनादेखि २ वर्ष मुनिका बालबालिकाहरूलाई बहुसूक्ष्म पोषक तत्व (बालभिटा) वितरण गरिँदैछ भने ५ वर्ष मुनिका बालबालिकाको पाखुराको नाप लिइँदैछ। त्यसैले यो कार्यक्रम अत्यन्त महत्वपूर्ण भएको हुँदा यसलाई अभियानकै रूपमा सञ्चालन गरिएको हो।

के हो त भिटामिन ‘ए’?
व्यक्तिको शारीरिक क्रियाकलापलाई नियन्त्रण गरी राम्रोसँग कार्य गर्न थोरै मात्रामा आवश्यक पर्ने तर शरीरलाई अत्यावश्यक हुने सूक्ष्म पोषक तत्वलाई भिटामिन भनिन्छ। भिटामिन ‘ए’ ले शरीरलाई विभिन्न संक्रमणबाट बचाउँछ, आँखालाई स्वस्थ राख्छ र बालबालिकाको वृद्धि विकासमा महत्वपूर्ण सहयोग गर्दछ।

यो आमाको बिगौति दूध, सिङ्गो माछा, जनावरको दूध, हरिया सागपात, कर्कलो, कलेजो, किड्नी, अण्डा तथा पहेँलो फलफूल र तरकारी (जस्तै फर्सी, मेवा आदि) मा पाइन्छ।

यसरी नेपाल सरकारबाट निःशुल्क रूपमा वितरण गरिएका यी महत्वपूर्ण स्वास्थ्य कार्यक्रमहरूमा आफ्ना बालबालिकालाई सहभागी गराउनु प्रत्येक अभिभावकको कर्तव्य हो। त्यसैले यही मिति २०८३ बैशाख ६ र ७ गते सञ्चालन हुने राष्ट्रिय अभियानमा सबै सहभागी भई सफल पारौँ।

प्रत्येक अभिभावक, स्वास्थ्यकर्मी, शिक्षक, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालाहरूको सक्रिय सहयोगबाट मात्र यस कार्यक्रमको सफलता सुनिश्चित हुन्छ।“भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क पाइन्छन्, सुरक्षित छन् र जीवन रक्षा गर्दछन्।”

भोजराज पोख्रेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :