५ महिनामा स्वास्थ्य मन्त्री डा. सुधा शर्माको प्रगति प्रतिवेदन सार्वजनिक

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले आफ्नो कार्यकालमा सम्पादन भएका प्रमुख उपलब्धिहरू समेटिएको ‘प्रगति प्रतिवेदन’ सार्वजनिक गरेकी छिन्।

‘जेन-जी’ आन्दोलन पश्चात् गठन भएको सरकारको नेतृत्व सम्हालेकी उनले चुनौतीपूर्ण परिस्थितिमा मन्त्रालयको जिम्मेवारी लिएर केही दूरगामी महत्वका ‘क्विक विन्स’ हासिल गरेको दाबी गरेकी छन्।

प्रतिवेदन अनुसार मन्त्रालयले सेवा प्रवाह सुधार र प्रणाली सुदृढीकरणलाई दुई मुख्य पिलरका रूपमा अघि बढाएको छ। ‘जेन-जी’ आन्दोलनका घाइतेहरूको उपचारलाई उच्च प्राथमिकतामा राख्दै ‘जेन-जी प्रदर्शनका घाइतेहरूको वर्गीकरण कार्यविधि २०८२’ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ।

यसैगरी, मस्तिष्कघात (स्ट्रोक) उपचारमा प्रयोग हुने महँगो इन्जेक्सन निःशुल्क उपलब्ध गराउने निर्णय समेत गरिएको छ। स्वास्थ्य सेवा विभागमार्फत अस्पतालहरूसँग सम्झौता गर्ने यो निर्णयलाई ऐतिहासिक कदमका रूपमा लिइएको छ।

प्रणालीगत सुधारमा जोड
स्वास्थ्य बीमा कार्यक्रममा देखिएका पुराना समस्या समाधानका लागि मन्त्रालयले विशेष पहल गरेको जनाएको छ। दाबी भुक्तानी प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउने प्रयासबाट राज्यको ठूलो धनराशि बचत हुने अपेक्षा गरिएको छ।

त्यस्तै, औषधि व्यवस्था विभागको स्तरोन्नति तथा राष्ट्रिय औषधि प्रयोगशालाको सुदृढीकरणका लागि पूर्वाधार र जनशक्ति विकासको खाका तयार पारिएको छ।

विशेष प्राथमिकताका क्षेत्र
मन्त्री गौतमले आफ्नो कार्यकालमा केही क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गरेकी छन्:

-समुदायस्तरसम्म मानसिक स्वास्थ्य सेवा विस्तार
-वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको स्वास्थ्य सुरक्षा
-मातृ तथा नवजात शिशु स्वास्थ्य सुधार कार्यक्रम
-औषधि तथा उपकरण खरिद प्रक्रियामा पारदर्शिता र गति

बजेट अभाव मुख्य चुनौती
प्रगति प्रतिवेदन सार्वजनिक गर्दै उनले अर्थ मन्त्रालयबाट पर्याप्त बजेट नपाएको गुनासो गरेकी छन्। अस्पतालहरूको अत्यावश्यक सेवा सञ्चालनका लागि माग गरिएको ७ अर्बमध्ये १ अर्ब मात्र निकासा भएको र बाँकी रकम ‘कुलिङ पिरियड’ भन्दै रोकिएकोमा उनले असन्तुष्टि व्यक्त गरिन्।

आगामी सरकारलाई सुझाव
प्रतिवेदनको अन्त्यमा उनले नयाँ आउने स्वास्थ्य मन्त्रीका लागि औषधि व्यवस्था, स्वास्थ्य बीमा, जनशक्ति व्यवस्थापन, कर्मचारीको वृत्तिविकास, मेडिकल पर्यटन भिसा तथा स्वास्थ्य व्यवसायी परिषद् सुधारका विषयमा बुँदागत सुझाव दिएकी छन्।

health

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :