स्वास्थ्यसमाचार/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका नवनिर्वाचित सांसदहरूलाई सकेसम्म सरकारी अस्पतालमा उपचार गराउन आग्रह गरेका छन् ।
ललितपुरको ग्वार्कोमा भइरहेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् ।आकस्मिक अवस्थामा भन्दा बाहेक सरकारी अस्पतालमा उपचार गराउन उनले आग्रह गरेका हुन् ।
‘सक्नुहुन्छ भने सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुस् । इमरजेन्सीको बेलामा भनेको छैन । म बाध्यकारी भन्दिनँ,’ उनले भने । सेवालाई चुस्त बनाउनुस् । जनताको छोराछोरीलाई जुन अफ्टेरो परेको छ त्यो महसुस हुनुपर्छ ।
मैले जस्तै उपचार गर्न जाँदा जनताले पनि सोर्सफोर्स विना बेड पाउनु पर्छ भन्ने कुरा तपाईँले महसुस गर्नुपर्छ,’ सभापति लामिछानेले निर्देशन मन्तव्यमा भने ।पार्टी स्थापना भएको ४ वर्ष पनि नहुँदा विभिन्न व्यक्तिहरू जोडिएको भन्दै जनताले दिएको ठूलो जिम्मेवारी ख्याल गर्न आग्रह गरे ।
‘रास्वपा स्थापना भएको ४ वर्ष पनि भएको छैन । यसबीचमा विभिन्न पृष्ठभूमि भएका साथीहरू हुनुहुन्छ । हामीभित्र कसैको विवाद पनि होला, कसैको उच्च छवि पनि होला, कसैको सामान्य कसैको उच्च किसिमको सार्वजनिक जीवन होला,’ उनले भने, ‘आफ्नो सरकार बहुमतमा रहन्छ, संख्या घट्ला भन्ने कुराको प्रवाह नगरी काममा लाग्नुस् ।’
उनले सरकारमा को जाने वा नजाने भन्ने विषयमा पार्टीले अहिलेसम्म निर्णय गरिनसकेको भन्दै यस विषयमा बाहिर धेरै क्रिया प्रतिक्रिया नदिन समेत सांसदहरुलाई निर्देशन दिए ।

प्रतिकया दिनुहोस्