हृदयघातका कारण एमाले नेता कृष्ण थापाको निधन

स्वास्थ्यसमाचार/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाको ६६ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । बिहीबार क्षेत्रीय निर्वाचन समीक्षा बैठकमा सम्बोधन गर्ने क्रममा उहाँ अचानक ढल्नुभएको थियो ।

बैठकस्थलमा आफ्नो मन्तव्य राखेलगत्तै हृदयघात भई ढल्नुभएका थापालाई उपचारका लागि तुरुन्तै मणिपाल शिक्षण अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।

उहाँको पार्थिव शरीर अहिले मणिपाल अस्पतालमै राखिएको छ । अस्पताल परिसरमा एमालेका नेता तथा कार्यकर्तासहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, आफन्त र शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको छ । पारिवारिक स्रोतका अनुसार उहाँका छोरा वैदेशिक रोजगारीका सिलसिलामा नेपालबाहिर रहनुभएकाले अन्त्येष्टिको निर्णय उहाँ आएपछि गरिनेछ ।

थापा गण्डकी प्रदेशसभाका संस्थापक सदस्य हुनुहुन्थ्यो । उहाँले पोखरा महानगरपालिकाको पूर्वप्रमुख (मेयर) को रूपमा समेत जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँको निधनले कास्कीको राजनीति र एमाले पंक्तिमा अपूरणीय क्षति पुगेको नेताहरूले बताएका छन् ।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :