रुपन्देही–३ मा डाक्टर, पाइलट बिद्यार्थी नेता र निवर्तमान सांसदबीच–चतुष्पक्षीय भिडन्त, बदलिँदो जनमतले बनायो रोचक प्रतिस्पर्धा

रुपन्देही–३ मा डाक्टर, पाइलट बिद्यार्थी नेता र निवर्तमान सांसदबीच–चतुष्पक्षीय भिडन्त, बदलिँदो जनमतले बनायो रोचक प्रतिस्पर्धा
चन्द्रकान्त खनाल
रुपन्देही १३ फागुन हरेक निर्वाचनमा ‘हेभिवेट’ नेताका कारण चर्चामा रहने रुपन्देही–३ यसपाली पुनः राष्ट्रिय ध्यानको केन्द्रमा परेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा यहाँ डाक्टर, पाइलट, विद्यार्थी नेता र निवर्तमान सांसदबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
यसअघि पुर्व गृहमन्त्री बालकृष्ण खाँण र दीपक बोहोराबीच चर्चित प्रतिस्पर्धा रहने यो क्षेत्रमा यसपाली दुवै प्रभावशाली व्यक्तित्व चुनावी मैदानमा छैनन् । खाँण भुटानी शरणार्थी प्रकरणपछि बाहिरिनु भएको छ भने बोहोराको गत चैतमा निधन भएको थियो । त्यसैले नयाँ अनुहारबीचको प्रतिस्पर्धाले क्षेत्रको राजनीतिक समीकरण फेरिएको छ ।
को–को मैदानमा ?
नेपाली कांग्रेसबाट क्षेत्रीय सभापति तथा विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता सुशील गुरुङ उम्मेदवार रहनुभएको छ । गुरुङ पहिलोपटक प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्दै हुनुहुन्छ् । उहा जनतासँग प्रत्यक्ष सम्पर्क, स्थानीय मुद्दा र संगठन सुदृढीकरणलाई आफ्नो बलियो आधार मान्नयु भएको छ । २०७९ सालको निर्वाचनमा समानुपातिकतर्फ कांग्रेसले यस क्षेत्रमा २० हजार २७८ मत प्राप्त गरेको थियो । काग्रेसको वाहुल्य भएको क्षेत्र भएकोले पनि गुरुङ आफुलाई चुनाब जित्न सहज भएको बताउनु भएको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट वरिष्ठ न्यूरो सर्जन डा. लेखजंग थापा उम्मेदवार रहनु भएको छ । स्वास्थ्य क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका थापाले स्वास्थ्य, शिक्षा र रोजगारीलाई मुख्य एजेन्डा बनाएर चुनाबी मैदानमा आउनु भएको छ । उहा यसअघि उपनिर्वाचनका लागि पनि चर्चामा आउनु भएको थियो । २०७९ मा रास्वपाले समानुपातिकतर्फ १४ हजार १५४ मत पाएको थियो । तर स्वतन्त्र उम्मेदवारीका कारण मत विभाजन हुने सम्भावना पनि चर्चा भइरहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गौरव बोहोरा उम्मेदवार बन्नु भएको छ । उहा स्व. दीपक बोहोराका छोरा तथा लामो समय पाइलटको अनुभव बोकेका व्यक्ति हुनुहुन्छ । पारिवारिक राजनीतिक विरासत र राप्रपाको परम्परागत पकेट क्षेत्रलाई उहाले चुनावी आधार बनाएर मैदानमा आएको बताउनु भयो। २०७९ मा राप्रपाले समानुपातिकतर्फ ९ हजार १८३ मत प्राप्त गरेको थियो ।
यस्तै नेकपा एमालेबाट निवर्तमान सांसद तथा तिलोत्तमा नगरपालिकाका पूर्वमेयर वासुदेव घिमिरे उम्मेदवार बन्नु भएको छ । २०७९ सालमा रुपन्देही–५ बाट निर्वाचित घिमिरे यसपाली क्षेत्र–३ मा झन्नु भएको हो । स्थानीय तहमा विकासमुखी छवि बनाएका घिमिरेले संगठन र मत संरचनालाई आफ्नो बलियो पक्ष भएको बताउनु हुन्छ । २०७९ मा समानुपातिकतर्फ एमालेले १६ हजार ९८६ मत पाएको थियो ।
नेपाली कम्युनिस्ट पार्टीबाट फैज अहमद खाँ पनि उम्मेदवार रहनु भएको छ । तारा चिन्नबाट उम्मेदवार बन्नु भएका उहा जातीय तथा समुदायगत आधारमा मत तान्ने उहाको रणनीति रहेको देखिन्छ ।
अघिल्लो चुनावको सन्दर्भ
२०७९ सालको निर्वाचनमा एमाले–राप्रपा तालमेलबाट दीपक बोहोरा ३६ हजार ७१७ मतसहित विजयी बन्नु भएको थियो। भने कांग्रेसका बालकृष्ण खाँणले ३४ हजार ३६ मत प्राप्त गर्नु भएको थियो । त्यो चुनाव कडा प्रतिस्पर्धापूर्ण थियो । अहिले भने सबै दल एक्लाएक्लै चुनावी मैदानमा छन्, जसले समीकरण जटिल बनाएको छ ।
समानुपातिक मत परिणाम हेर्दा कांग्रेस, एमाले, रास्वपा र राप्रपाबीच प्रतिस्पर्धा सन्तुलित देखिन्छ । त्यसैले यसपाली सानो मत अन्तरले परिणाम निर्धारण हुन सक्ने विश्लेषण गरिएको छ ।
मतदाता र भूगोल
रुपन्देही–३ मा करिब १ लाख ५० हजार मतदाता छन् । बुटवल उपमहानगरपालिकाका वडा १४ देखि १९, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाका केही वडा, ओमसतिया–२, सियारीका वडा १, २, ३, ६, ७ तथा तिलोत्तमा–१३ र १४ यस क्षेत्रमा पर्छन् ।सहरी–अर्धसहरी र ग्रामीण क्षेत्र मिश्रित भूगोल भएकाले यहाँ विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार र युवाको विदेश पलायन मुख्य चुनावी मुद्दा बनेका छन् । यो क्षेत्रमा स्थानिय तह भने बुटबल सिद्धार्थनगर शुद्धोधन मायादेवी सियारी र तिलोत्तमा नेपाली काग्रेसले जितेको छ भने ओमसतिया गाउँपालिकामा अध्यक्ष एमालेले जितेको छ ।
बदलिँदो जनमत
स्थलगत रूपमा मतदातासँग गरिएको कुराकानीमा परम्परागत पार्टीप्रति निष्ठा कायम राख्ने कि परिवर्तनको पक्षमा जाने भन्ने दोधार देखिएको छ । विशेषगरी जेन–जी पुस्ताका मतदाताले नयाँ अनुहार र वैकल्पिक शक्तिलाई अवसर दिनुपर्ने धारणा राखेका छन् । तर पुराना संगठन र मत संरचनाले परम्परागत दललाई बलियो बनाइरहेको छ ।
विगतका निर्वाचनमा तालमेल निर्णायक बन्ने गरेको यस क्षेत्रमा यसपाली सबै दल एक्लै मैदानमा उत्रिएका छन् । त्यसैले डाक्टर, पाइलट, विद्यार्थी नेता र निवर्तमान सांसदबीचको प्रतिस्पर्धाले अन्तिम परिणामसम्म रोमाञ्चक अवस्था सिर्जना गर्ने देखिन्छ । खाँण र बोहोराको गृहनगरसमेत रहेको यस क्षेत्रमा अब कसले बाजी मार्ला भन्ने चासो चुलिएको छ । यी सबै यस क्षेत्रका लागि नयाँ अनुहार हुन् । यहाँ राजनीतिक दल र स्वतन्त्र गरी ३६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :