साविक राप्तीको रिफरल सेन्टर बनाउने लक्ष्यसहित सेवा सुरु गरेका छौँ : दीपक रोका

ARE FOR ALL’ ‘सबैको ख्याल राखौँ’  भन्ने मूल नाराका साथ घोराही उप–महानगर पालीका वडा नं. ३, बर्गदुवामा स्वास्थ्य मन्त्रालयबाट ३०० शैयाको अस्पताल संञ्चालन स्वीकृती लिई २०८२ साल माघ २८ गतेबाट सेवा प्रारम्भ गरेको संजीवनी टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत दिपक रोका संग गरिएको कुराकानी ।

अस्पतालको परिचय
संजीवनी टिचिङ हस्पिटल तीन वर्ष लामो अध्ययनको निष्कर्ष स्वरुप जन्मेको हो । साविक राप्तीका जिल्लाहरुको जनसंख्या, जनतामा स्वास्थ्य सेवाको पहुँच, अस्पतालहरुको अवस्था, विरामीको चाप, यहाँबाट रिफर गरीएको बिरामीहरुको संख्या लगाएको बृहद अध्ययन गरी दाङ जिल्लाको घोराहीमा एउटा सुविधा सम्पन्न अस्पताल आवश्यक भएको निष्कर्षमा पुगेर नै अस्पतालको निर्माण योजना बनेको हो । २०८२ साल माघ २८ गतेबाट सेवा प्रारम्भ भएको छ ।

अस्पतालको कुल लगानी कति रहेको छ ?

लगानी ४ अर्व बढी रहेको छ । यस महान् कार्यका प्रणेता तथा लगानी कर्ता मेडिकल कलेज संचालनको अनुभव भएका अध्यक्ष खुमा प्रसाद अर्याल हुनुहुन्छ । उहाँको दुरदृष्टी, समर्पण र योजनाले आज नेपाल भर अस्पताल सहित ६ वटा मेडिकल कलेज स्थापना गर्न सफल जहाँ कुल दश हजार बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । देशको अर्थतन्त्रमा टेवा पुगेको छ ।

अस्पतालको मूल विशेषताहरु के हुन्?

अस्पताल आफैमा एक समाज सेवा हो । यो आम जनताको सेवामा समर्पित हुन्छ नै । अहिले साविक राप्तीमा लगभग ३०० वढी विरामीलाई आइपिडि सेवा आवश्यक छ सो पुरा गर्न अत्याधुनिक सेवा भएको नयाँ अस्पताल आवश्यक थियो । सो अब पुरा हुनेछ ।

अस्पताल कति शैयाको हो र उपलब्ध सेवाहरूबारे के के छन ?

अस्पताल हाल ३०० शैया रहेको छ । अस्पतालको क्षमता भने ५०० शैयाको रहेको छ । जस अन्तर्गत जनरल फिजिसियन, हाडजोर्नी तथा नशा, स्त्री तथा प्रसुती, जनरल सर्जरी, मानसिक तथा नसा रोग, छाला तथा यौन, शिशु तथा बालरोग, मुटुरोग, ग्यास्ट्रोलोजी, इएनटि, डेन्टल, नेत्र रोग

तथा फिजियोथेरापी विशेषज्ञ सेवा उपलब्ध हुनेछन् ।

सुपर स्पेसेयलिटी तर्फका सेवाहरु के के छन् ?

हाल सबै विभागमा विशेषज्ञ चिकित्सकहरुले सेवा दिइरहेका छन् । आगामी तीन महिना भित्र न्युरोलोजी, कार्डियोलोजी, युरोलोजी र नेफ्रोलोजी सुपर स्पेशेयलीटि विशेषज्ञहरूले सेवा दिनेछन् ।

डाइनेस्टीको तर्फ के कस्ता सेवाहरु रहेका छन् ?
प्रयोगशाला तर्फ सम्पूर्ण सेवाहरु रहेका छन् । रेडियोग्राफी तर्फ डिजिटल एक्स रे, भिडियो एक्स रे, म्यामोग्राफी, इसिजी, इको, सिटि स्क्यान, एम.आर.आइ., इन्टर्भेन्सनल इन्डोस्कोपी, क्लोनस्कपी सेवा रहेका छन् । अन्य सेवामा क्याथ ल्याव, पिएफटी, इएमजि, इइजि, व्लड बैंक र एम्बुलेन्स सेवा उपलब्ध छन् ।

भर्ना हुनुपरेमा कस्तो खालको व्यवस्था छ ?
भर्ना हुनुपर्ने विरामीको लागि जनरल वार्ड र डिलक्स क्यावीन रहेका छन् । जनरल वार्डमा सबै विभागका छुट्टाछुट्टै महिला, पुरुष वार्डको व्यवस्था गरीएको छ ।

आपतकालीन अवस्थामा कस्तो खालको सेवा प्रवाह गर्न सक्नुहुन्छ ?

चौबिसै घण्टा बिशेषज्ञ चिकित्सक सहित इमरजेन्सी सेवा रहेको छ । इमरजेन्सी र अब्जरभेसनमा गरी पचास शैया रहेका छन् । जसले गर्दा प्राकृतिक प्रकोप वा ठुलो दुर्घटना भएमा आइपर्ने आपतकालीन उपचारका लागि अस्पताल इमरजेन्सी मेडिकल टीम सहित तयारी अवस्थामा रहन्छ । इमरजेन्सी सेवाको साथमा फार्मेसी र ल्याव सेवा पनि चौबिसै घण्टा उपलब्ध हुन्छ ।

कस्ता खालका शल्यक्रिया (अपरेशन) सम्भव छन् ?
अस्पतालमा मोडुलर र सेमी मोडुलर गरी हाल ११ वटा अपरेसन कक्ष तयार छन् । सबै प्रकृतिका सामान्य तथा मेजर सर्जरी (अपरेशन) हरु शुरु भइसकेका छन् ।

क्रिटिकल केयर तर्फ कस्ता खालका सुविधा रहेका छन् ?
क्रिटिकल केयरमा आइसीयु, सिसियु, एमआइसीयु, एनआइसीयु, पिआइसीयु, एसआइसीयु, एचडियु र हेमोडायलासिस सेवा रहेका छन् ।

अलि वढी चर्चामा आउने गाइने तर्फ कस्तो सुविधा रहेको छ ?
गाइने तर्फ छुटै डेडिकेटेड शल्यक्रिया कक्ष सहितको ३५ शैयाको लेवर वार्ड रहेको छ ।

नवजात शिशुको लागि आइसीयु को व्यवस्था छ ?
नवजात शिशुको स्वास्थ्यमा समस्या आएमा १८ शैयाको भेन्टिलेटर सहितको एनआइसियुको व्यवस्था छ ।

बच्चाको लागि आइसीयु को व्यवस्था छ ?
बालबालिकाको स्वास्थ्यमा जटिल समस्या आएमा १५ शैयाको भेन्टिलेटर सहितको पिआइसियुको व्यवस्था छ ।

खुसी लाग्यो, यस क्षेत्रमा अभाव रहेको विभिन्न आइसियुहरुको समुचित व्यवस्था गर्नु भएको मा । उसोभए यो त यस प्रदेशको रिफरल सेन्टर पनि त बन्ने भयो नि ?

हो  हामी सामान्य स्वास्थ्य सेवा देखि जटिल स्वास्थ्य समस्या समाधानको लागि काम गर्न यो स्थापना गरेका हौँ । अवश्य पनि साविक राप्तीका अस्पतालहरुले हामीलाई विभिन्न केसहरू रिफर गर्नु पर्छ । र मानव स्वाथ्यका लागि त्यो आवश्यक छ ।

के यस क्षेत्रका सबै वर्गका जनताले अस्पतालको सेवा शुल्क तिर्न सक्छन् ?

यहाँ ओपिडी शुल्क एक सय पचास भन्दा वढी छैन । यहाँ हाल त्यही सेवाको पाँच सय भन्दा वढी तिर्नु परेको छ । यति कुरा विश्वास गरौँ कि नीजि अस्पताल भएपछि शुल्क सबै सेवामा लाग्छ । तथापि त्यो मध्ययम र निम्न आय भएका वर्गले समेत तिर्न सक्ने खालको कायम गरीएको छ । अर्को कुरा यहाँबाट स्वास्थ्य सेवा लिन वाहिर जानुपर्दा लाग्ने खर्च समेत जोगिने भएकोले आम विरामीको समय र खर्च दुवै पर्याप्त मात्रामा जोगिनेछ ।

संस्थाको शैक्षिक योजना के रहेको छ ?

आगामी वर्षबाट नर्सिङ तथा प्यारामेडिक्स विषयहरु अध्यापन गराइने छ । ठीक तीन वर्ष पछि एम.वि.वि.एस. र वि.डि.एस. लगाएका शैक्षिक कार्यक्रमहरु संचालनमा ल्याइने छ । साथसाथै अस्पतालको शैया संख्या ५०० पुर्याइने छ ।

शैक्षिक छात्रवृत्तिबारे स्थानीयलाई के सुविधा छ ?

भैरहवा भन्दा पश्चिम बाँके कोहलपुर सम्म चिकित्सा शिक्षा अध्ययन गर्ने सस्था छैनन् । त्यसैले साविक राप्ती अचल र आसपासका जिल्लाहरुबाट चिकित्सा, नर्सिङ र प्यारामेडिक्स जस्ता विषय अध्ययन गर्न यहाँका विद्यार्थीहरुलाई सहज हुने छ ।

त्यसमा पनि दाङका स्थानीयलाई त घरमै बसेर अध्ययन गर्न पाउँदा आधा खर्च त्यसै कमी हुन्छ । जहाँसम्म छात्रवृत्तिको सवाल छ सबै विषयहरुमा दश प्रतिशत गरिव तथा जेहनदार छात्रवृत्ति उपलब्ध गराइन्छ । जसबाट गरीब तथा चिकित्सा शिक्षामा कम पहुँच भएका वर्गले सो क्षेत्रमा पहुँच वढाउन सहज हुन्छ ।

कानुनी पक्षहरु ?

हामीले जनस्वास्थ्य सेवा ऐन २०७५, जनस्वास्थ्य सेवा नियमावली २०७७, स्वास्थ्य सस्था सञ्चालन मापदण्ड २०७७, चिकित्सा शिक्षा ऐन २०७५ तथा अन्य मौजुदा कानुनको अधिनमा रही आफ्नो सेवा प्रवाह गर्ने भएकोले सहज नै छ ।

आमा सुरक्षा कार्यक्रम र इन्स्यारेन्स सेवा ?
आमा सुरक्षा र स्वास्थ्य विमा कार्यक्रमहरु अनुमतिका प्रकृयामा रहेकोले छिटै सेवा दिन सकिने छ ।

सेवा लिने मुख्य जनसंख्या कुन भुगोलका रहन्छन् ?

दाङ जिल्ला र यसको आसपासमा अवस्थित जिल्लाहरु सल्यान, प्युठान, रोल्पा, रुकुम पूर्व र पश्चिम लगाएत अन्य क्षेत्रका आम नागरिकको स्वास्थ्य सेवामा समर्पित रहने मूल उद्धेश्यले यस अस्पतालको स्थापना भएको हो ।

रोजगारीमा कुन क्षेत्रका जनता वढी लाभान्वित भएका छन्?

अवश्य पनि अधिक रोजगारी स्थानीय बासीले पाएका छन् । यहाँ उपलब्ध हुन नसक्ने चिकित्सकहरु भने देशका विभिन्न क्षेत्रबाट यहाँ सेवा दिन आइरहेका छन् । हाल कुल ३५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । यो क्रमशः बढ्दै तीन वर्षमा एक हजार पुग्नेछ ।

अन्तमा समाजसँग अपेक्षा ?

सबैको हेरचाह गरौँ गरौँ भन्ने मूल नाराका साथ स्थापनासँगै विशेषज्ञ सेवाको लागि बाहिर जानुपर्ने वाध्यताको अन्त्य भएको छ । संस्थाले सबै विरामीहरुको लागि आत्म सम्मानसाथ स्वाथ्य उपचारको सुनिश्चितता गरेको छ ।

समाजका सम्पूर्ण सदस्यहरुमा हामीप्रति गरेको विश्वास र समर्थनका लागि धन्यवाद । यो अस्पताल तपाईहरुको हो । समाजको अभिन्न अङ्ग हो । विरामी हुदा दैलोमै सेवा दिनेछ अनि तपाईलाई निको बनाएर हर्षोल्लास साटासाट गर्ने छ । आशा छ सबैको सहयोगले यो अस्पताल सफल उपचारको केन्द्र तथा गुणस्तरीय चिकित्सा शिक्षा अध्ययनको मानक बन्ने छ ।

आशा छ यस क्षेत्रका सम्पूर्ण नागरिक, राजनीतिक दलहरु, पेशाकर्मीहरु, व्यवसायीहरु तथा सम्पूर्ण संघ, संस्थाहरुको हामीलाई सहयोग प्राप्त हुने नै छ । धन्यवाद ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :