स्वास्थ्यसमाचार/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका डा. लेखजंग थापाले क्षेत्रगत समग्र विकासका लागि बहुआयामिक योजना सार्वजनिक गरेका छन्। उनले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै समन्वित विकासको खाका अघि सारेका हुन्।
उम्मेदवार थापाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्। विमानस्थल प्रभावकारी रूपमा सञ्चालन हुन सके क्षेत्रको पर्यटन, व्यापार र रोजगारीमा उल्लेख्य वृद्धि हुने उनको विश्वास छ।
स्वास्थ्य क्षेत्र सुधारलाई मुख्य एजेन्डा बनाएका उनले जिल्ला अस्पतालको स्तरोन्नति, प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार तथा स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने बाचा गरेका छन्। “स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो, त्यसलाई सहज र पहुँचयोग्य बनाउनु राज्यको दायित्व हो,” उनले बताएका छन्।
त्यस्तै, शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, कृषिमा आधुनिक प्रविधि र बजार सुनिश्चितता, पर्यटन प्रवर्द्धन तथा सडक लगायतका पूर्वाधार विस्तारलाई पनि उनले प्राथमिकतामा राखेका छन्। उनले सार्वजनिक गरेका योजनामा पार्टी केन्द्रीय तहले अघि सारेका प्रतिबद्धताका मुख्य बुँदासमेत समेटिएको जनाइएको छ।
डा. थापाले समग्र विकासका लागि पारदर्शिता, सुशासन र उत्तरदायित्वलाई आधार बनाएर अघि बढ्ने बताएका छन्। उनका अनुसार रुपन्देही–३ लाई स्वास्थ्य, शिक्षा र आर्थिक गतिविधिको केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य रहेको छ।

प्रतिकया दिनुहोस्