स्वास्थ्यसमाचार/ नेपाली काँग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ३ का उम्मेदवार डा. सुनिल शर्माले मुलुकलाई दुर्घटनाबाट जोगाउन आसन्न निर्वाचनमा आफ्नो पार्टीलाई बहुमतका साथ विजयी गराउनुपर्ने बताउनु भएको छ ।
आईतवार मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर ५ मा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नेता शर्माले काँग्रेस नयाँ नेतृत्वसहित नयाँ मिसन र भिजन लिएर आएकाले पनि काँग्रेसलाई विजयी गराउनुको विकल्प नभएको जिकिर गर्नुभयो । उहाँले एक महिना अघिबाट काँग्रेसमा नयाँ पुराना दुवै पुस्ताले रुचाएको नयाँ नेतृत्व आएकाले त्यसैलाई मतदान गर्न पनि आम मतदातालाई अपिल गर्नुभयो ।
नेता शर्माले भन्नुभयो,‘यहाँ गाउँमा अचेल एक हुल मान्छेहरु आएर के भन्दा रहेछन् भने–भोट नयाँलाई हाल्ने, नयाँलाई दिनुप¥यो नि । अनि मैले सोचे–विज्ञापन त हाम्रो नै गर्दैछन । सबभन्दा नयाँ काँग्रेस पार्टीको नेतृत्व आजभन्दा एक महिना अगाडि हामीले परिवर्तन गरेको होइन ? हाम्रो पार्टीको नेतृत्व, काँग्रेस पार्टीको नेतृत्व बदलिएको नेतृत्व युवाहरु त्यही पनि गुरु घिमिरेहरु भनेको त हाम्रो यहीबाट एसएलसी गरेको मान्छे ।
हामीले सम्मानजनक ढंगले मोरङबाट गएको काँग्रेसको सत्ता सुदूरपश्चिममा गएको सत्तालाई फर्काएर ल्यायौ । अनि विचार नयाँ ल्यायौ । विपी कोइरालाले, गिरिवाबाबुले, सुशील कोइराला, सुवर्ण शमशेरहरुले छोडेर जानु भएको जुन आदर्श छ, त्यो सँगसँगै नयाँ युवा साथीहरु काँग्रेसको नेतृत्वमा ल्यायौँ ।
जेन—जी पुस्ताले पनि मान्ने, बुढा पुस्ताहरुले पनि माया गर्ने । सबैलाई ल्याएर हामीले अहिले बदलिएको काँग्रेस लिएर हामी आइरहँदाखेरी अब कुन नयाँ चाहियो साथीहरुलाई ? त्यसकारण तपाईहरुले गाउँमा गएर भन्न सक्नु प¥यो–बदलिएको काँग्रेस नयाँ मिशन, भिजनसहित आज काँग्रेस गाउँमा आएको छ । त्यसलाई बहुमत दिएर मुलुकलाई दुर्घटनाबाट जोगाउनु पर्दछ ।’
त्यस अवसरमा नेता शर्माले आफूले सो निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा ३० वर्षमा पनि अरुले गर्न नसकेको काम गरेर देखाएको दावी समेत गर्नुभयो ।

प्रतिकया दिनुहोस्