स्वास्थ्यसमाचार/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रूपन्देही क्षेत्र नं. ३ का मतदातासँग यसपटकको निर्वाचनलाई “देश जिताउने अवसर” का रूपमा लिन आग्रह गर्नुभएको छ।
क्षेत्र नं. ३ मा आयोजित जनसम्पर्क कार्यक्रममा उहाँले उम्मेदवार डा. लेखजंग थापालाई देशको उपचार गर्न सक्षम व्यक्तिका रूपमा चित्रित गर्दै मतदाताको विश्वास नै परिवर्तनको आधार हुने बताउनुभयो।
कार्यक्रममा लामिछानेले भन्नुभयो, “डा. लेखजंग थापाले अहिलेसम्म मानिसको उपचार गरिरहनुभएको छ, अब देशको उपचार गर्न उहाँलाई जिताउनुस्।” उहाँले देश निर्माणका लागि सक्षम, इमानदार र पेशागत अनुभव भएका प्रतिनिधि आवश्यक रहेको उल्लेख गर्नुभयो।
लामिछानेका अनुसार मतदाताले मनमै निर्णय गरिसकेका छन्, औपचारिक मतदान मात्रै बाँकी छ। “यो चुनाव व्यक्ति वा दल जित्ने होइन, देश जिताउने चुनाव हो,” उहाँले भन्नुभयो।
उहाँले विगतका निर्वाचनमा व्यक्ति र दल जिते पनि देशले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको टिप्पणी गर्दै यसपटक भ्रष्टाचारविरुद्ध स्पष्ट जनमत आवश्यक रहेको धारणा राख्नुभयो। “अब पुरानै शैली दोहोर्याएर देश अघि बढ्दैन,” उहाँको भनाइ थियो।
कार्यक्रममा लामिछानेले क्षेत्र नं. ३ का प्रत्यक्ष उम्मेदवार डा. लेखजंग थापालाई सक्षम र अब्बल उम्मेदवारका रूपमा प्रस्तुत गर्दै संसद्मा यस्ता व्यक्तिहरूको आवश्यकता रहेको बताउनुभयो।
यसैगरी, समानुपातिकतर्फकी उम्मेदवार ज्ञानु पौडेललाई निडर, स्पष्ट र योग्य प्रतिनिधि भएको उल्लेख गर्दै उहाँलाई पनि संसद्मा पठाउन मतदातासँग आग्रह गर्नुभयो।
लामिछानेले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्नमा मतदान गर्न आह्वान गर्नुभयो। उहाँका अनुसार जनताको विश्वास र सही निर्णयले मात्रै देशमा वास्तविक परिवर्तन सम्भव छ।

प्रतिकया दिनुहोस्