रुपन्देही निपाह भाइरसको जोखिममा: सीमा नाकामा परीक्षण तीव्र

स्वास्थ्यसमाचार/ रुपन्देहीमा निपाह भाइरसको सम्भावित जोखिम बढ्दो छ। नेपालमा प्राणघातक निपाह भाइरसको संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै महामारी तथा रोग नियन्त्रण महाशाखाले देशभरका अस्पताललाई सतर्क रहन निर्देशन दिएपछि स्वास्थ्य कार्यालय रुपन्देहीले सिमाक्षेत्रमा परीक्षणलाई तीव्र बनाएको छ।

भारतको पश्चिम बंगाल राज्यमा केही दिनयता निपाह भाइरसका घटनाहरू देखिएपछि नेपालमा पनि सतर्कता अपनाइएको हो। खुला सिमाना भएकाले आवतजावत गर्ने व्यक्तिलाई लक्षित गर्दै परीक्षण गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख उमा थापाले बताइन। उनले नेपालमा अहिलेसम्म कुनै संक्रमित देखिएको छैन र केन्द्रको निर्देशनअनुसार काम भइरहेको जानकारी दिइन्।

उनी भन्छिन्, “निपाह भाइरस प्रायः संक्रमित जनावरबाट मानिसमा सर्छ। चमेरो र सुँगुर यस भाइरसका मुख्य होस्ट हुन्। संक्रमित जनावरको मासु खाने वा चमेरोको सम्पर्कमा आउनाले पनि संक्रमण फैलिन सक्छ। मानिसबाट मानिसमा पनि संक्रमण हुनसक्छ। समान वातावरण र निकटताका कारण भारतबाट चमेरो र संक्रमित मानिस नेपालमा आउनसक्ने जोखिम छ। त्यसैले सचेत रहन आवश्यक छ।”

लुम्बिनी प्रदेशमा निपाह भाइरसको परीक्षण तामनगरस्थित जनस्वास्थ्य प्रयोगशालामा हुने बताइएको छ। खुला सिमाना र सीमित स्वास्थ्य पूर्वाधारले चुनौती थपिरहेको थापाले बताईन ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार, निपाह भाइरस संक्रमित व्यक्तिमा ३–१४ दिनभित्र ज्वरो, खोकी, टाउको दुखाइ, घाँटी दुखाइ र श्वासप्रश्वासमा समस्या देखा पर्न सक्छ। केहीमा मस्तिष्क सुन्निने समस्या देखिन सक्छ भने गम्भीर अवस्थामा कोमा र मृत्युको जोखिम ४०–७० प्रतिशतसम्म हुन्छ।

अहिलेसम्म निपाह भाइरसको प्रत्यक्ष उपचार उपलब्ध छैन। चिकित्सक र स्वास्थ्यकर्मीहरूले लक्षणको आधारमा उपचार गर्ने र समुदायलाई सतर्क रहन, चमेरोले टोकेको फलफुल नखान र व्यक्तिगत सरसफाइमा ध्यान दिन सुझाव दिएका छन्।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :