स्वास्थ्यसमाचार/ राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजनामा मातृ, नवजात शिशु, बालस्वास्थ्य तथा पोषणसम्बन्धी सामाजिक व्यवहार परिवर्तन निर्देशिका २०२६ विकाससम्बन्धी कार्यशाला गोष्ठी बुटबलमा सम्पन्न भएको छ।
कार्यशालामा मातृ, नवजात शिशु तथा बालस्वास्थ्य राष्ट्रिय सञ्चार रणनीति २०१२–२०१६ को समीक्षा गर्दै आगामी निर्देशिकामा समावेश गर्नुपर्ने नयाँ नीति, कार्यक्रम तथा चुनौतीहरूको पहिचान गरिएको थियो। सहभागीहरूले प्रदेश, संघ तथा स्थानीय तहको भौगोलिक, सामाजिक र सांस्कृतिक विविधताअनुसार व्यवहार परिवर्तनका रणनीतिमा विशेष जोड दिनुपर्ने धारणा व्यक्त गरे।
कार्यशालामा वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक शिला श्रेष्ठ, वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शारदा पहारी तथा कन्सल्टेन्ट प्रणवराज भण्डारीले हालको निर्देशिका समयसापेक्ष, समावेशी, कार्यान्वयनमा सहज र लक्षित वर्गको व्यवहार परिवर्तनमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीले संघ, प्रदेश र स्थानीय तहको भूमिका निर्देशिकामा स्पष्ट हुनुपर्ने तथा तथ्यमा आधारित र सान्दर्भिक सामग्री समावेश गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यशालामा लुम्बिनी प्रदेश तथा स्थानीय तहका प्रतिनिधि, विकास साझेदार संस्था, गैरसरकारी संस्था, प्राविधिक विज्ञ तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यशालाका क्रममा सुरक्षित मातृत्व, नवजात शिशु तथा बालस्वास्थ्य, स्तनपान, पूरक आहार र स्वास्थ्य सेवा उपयोगमा देखिने सामाजिक, सांस्कृतिक तथा व्यवहारगत अवरोधबारे गहन छलफल गरिएको थियो। सहभागीहरूले समुदायस्तरमा प्रभावकारी सन्देश प्रवाह, लक्षित समूहअनुसार सञ्चार माध्यमको प्रयोग तथा बहुक्षेत्रीय समन्वयको आवश्यकता औँल्याएका छन्।
स्थानीय तह, प्रदेश स्वास्थ्य निर्देशनालय, तालिम केन्द्र तथा स्वास्थ्य आपूर्ति केन्द्रका प्रतिनिधिहरूको समेत सहभागिता रहेको कार्यशालाले निर्देशिकाको प्रभावकारिता बढाउन स्थानीय आवश्यकतालाई प्राथमिकता दिनुपर्ने निष्कर्ष निकालेको छ।
कार्यशालापछि लुम्बिनी प्रदेशको भालुवाडामा स्वास्थ्यकर्मी, चिकित्सक, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहलगायत सरोकारवालासँग छलफल गरी लक्षित समूहका वास्तविक समस्या पहिचान गर्दै निर्देशिका २०२६ तयार गर्ने योजना बनाइएको छ।
आयोजकले आगामी निर्देशिकाले सुरक्षित मातृत्व, नवजात शिशु तथा बालस्वास्थ्य र पोषण क्षेत्रमा स्थानीय चुनौती र आवश्यकतालाई सम्बोधन गर्दै समुदायमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।

प्रतिकया दिनुहोस्