बाँकेका नर्सहरु आन्दोलनमा : १५ बुँदे मागसहित काम ठप्प गर्ने घोषणा

स्वास्थ्यसमाचार/ नर्सहरुको छाता संगठन नेपाल नर्सिङ संघको केन्द्रीय कार्यक्रम अन्तर्गत बाँकेका नर्सहरु पनि आन्दोलनमा उत्रिएका छन् । तलबवृद्धि, जोखिम भत्ता, पेशागत सम्मान लगायतका १५ बुँदे मागसहित देशभरका नर्सहरु आन्दोलनमा छन् ।

नर्सिङ संघ बाँकेका अध्यक्ष शिला शर्माका अनुसार, केन्द्रीय कार्यक्रम अन्तर्गत बाँकेका नर्सहरु पनि आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज हातमा कालोपट्टी बाँधेर काम गरे । १२ गतेदेखि भने उनीहरुले आन्दोलनलाई थप सशक्त बनाउँदै २ घण्टा आकास्मिक बाहेकको सेवा ठप्प पार्ने घोषणा गरेका छन् ।

संघले सार्वजनिक सेवामा कार्यरत नर्सहरुका लागि सार्वजनिक बिदा, चाडपर्व र अन्य विशेष दिनहरुमा एक दिन बराबरको तलब तथा भत्ताको सुविधा सुनिश्चित गर्न माग गरेको छ ।

सरकारी, निजामती तथा शिक्षण अस्पतालका स्थायी र करार नर्सहरूलाई समान रूपमा व्यवहार गर्न पनि संघले जोड दिएको छ । संघका अनुसार आवश्यकता अनुसार दरबन्दी सृजना र तदनुसार नियुक्तिको व्यवस्था हुनुपर्ने, नर्सहरुको शैक्षिक योग्यता र कार्य अनुभवका आधारमा स्तरोन्नति र बढुवाको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

साथै, सामुदायिक तथा निजी विद्यालयमा कार्यरत नर्सहरूको दरबन्दी व्यवस्थापन गरी तिनीहरुलाई राज्यको स्वास्थ्य सेवामा समावेश गर्न माग गरिएको छ ।

संघले स्वास्थ्य तथा शैक्षिक संस्थाहरुमा कार्यरत नर्सहरुलाई उचित पारिश्रमिक, पदोन्नति र सुरक्षाको ग्यारेन्टी दिलाउन माग गरेको छ । करार नर्सहरुलाई स्थायी नर्सहरु बराबर पारिश्रमिक उपलब्ध गराउनुपर्ने र सम्पूर्ण दरबन्दी पदहरु भरिनुपर्नेमा संघको जोड छ । त्यसैगरी, संघले निजी स्वास्थ्य सेवा प्रदायकहरुको तलब सुविधा र सेवा शर्त स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको न्यूनतम मापदण्ड अनुसार हुनुपर्ने माग राखेको छ ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य बीमा बोर्ड लगायतका निकायमा नर्सहरुको सहभागिता सुनिश्चित गर्नुपर्ने भनिएको छ । नेपाल सरकारको अन्य सेवा जस्तै निजामती, शिक्षक सेवामा कार्यरत कर्मचारीहरु सरह स्वास्थ्यकर्मीहरुलाई पनि समान अधिकार र सुविधा दिनुपर्ने माग गरिएको छ । साथै, औद्योगिक नर्सिङ व्यवस्था लागू गरी उद्योग, कलकारखानामा काम गर्ने श्रमिकहरुको स्वास्थ्य सुरक्षाको सुनिश्चितता गर्न संघले प्रस्ताव राखेको छ ।

संघले नर्सहरुको विशेषता र दक्षता अनुसार सेवाको वर्गीकरण गरी विशेषज्ञ नर्सिङ सेवाको व्यवस्था गर्न, प्रशिक्षण र योग्यता अनुसार जिम्मेवारी तोक्न, तथा Evidence Based Practi लाई नर्सिङ अभ्यासमा अनिवार्य रूपमा लागू गर्नुपर्ने सुझाव दिएको छ । त्यसैगरी, नीति निर्माणमा नर्सहरूको समान सहभागिता सुनिश्चित गर्न, पेशागत सशक्तिकरणका लागि कानुनी अधिकारको प्रत्याभूति गर्न र कार्यस्थलमा मानसिक तथा शारीरिक स्वास्थ्य सुरक्षाको व्यवस्था गर्न पनि संघले सरकारसमक्ष आग्रह गरेको छ ।

संघका बाँके अध्यक्ष शर्माले भनिन्–‘हाम्रो १५ बुँदे माग नर्सहरुको पेशागत सशक्तीकरण र स्वास्थ्य प्रणालीको गुणस्तरीय सुधारका लागि हो । सरकारले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ ।’

सरकार र सम्बन्धित निकायहरुलाई नर्सहरुको माग पूरा गर्न आग्रह गर्दै उनले नर्सहरुले निरन्तर सेवा दिइरहेकाले अब उनीहरुको अधिकार र सम्मानको प्रत्याभूति राज्यले गराउनुपर्ने बताइन् । बाँकेमा दुई सय बढी नर्सहरु संघमा आवद्ध छन् ।

सम्बन्धित शिर्षक :