गुल्मी अस्पतालका ६ विशेषज्ञलाई रेसुङ्गा नगरपालिकाबाट प्रोत्साहन भत्ता

स्वास्थ्यसमाचार/ रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पतालका ६ जना विशेषज्ञ डक्टरलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । अस्पतालमा विशेषज्ञ सेवाको निरन्तरता र टिकाउ बनाउने उद्देश्यले नगरपालिकाले यस्तो कार्यक्रम ल्याएको हो ।

सोमबार नगरपालिकाको कार्यकक्षमा आयोजित कार्यक्रममा नगर प्रमुख खिलध्वज पन्थीले अस्पतालका डक्टरहरुसँग प्रोत्साहन भत्ता उपलब्ध गराउनेबारे सम्झौता गरे । नगरपालिकाले डक्टरहरूले नेपाल सरकारबाट पाउने तलब बराबरकै प्रोत्साहन भत्ता दिने निर्णय गरेको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख पन्थीले जानकारी दिए ।

यसअघि हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डक्टरलाई मात्र प्रोत्साहन दिँदै आएको नगरपालिकाले अबदेखि सबै विशेषज्ञ डक्टरलाई सुविधा उपलब्ध गराउने भएको हो । यसका लागि नगरपालिकाले ४० लाख रुपैयाँ खर्च गर्ने जनाएको छ ।

प्रोत्साहन भत्ता पाउने विशेषज्ञ डक्टरमा अस्पताल प्रमुख तथा आन्तरिक चिकित्सा विशेषज्ञ डा. विभव बस्याल, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. प्रदीप शिवाकोटी, सामान्य तथा आकस्मिक चिकित्सक विशेषज्ञ डा. अर्जुन केसी, आन्तरिक चिकित्सा विशेषज्ञ डा. सुरेन्द्र केसी, बालरोग विशेषज्ञ डा. प्रज्ञा शाख्य र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. शोफिष थापा रहेका छन् ।हाल गुल्मी अस्पतालमा ६ जना विशेषज्ञ डक्टरसहित १८ जना मेडिकल अधिकृत कार्यरत छन् ।

बिरामीको चाप बढ्दो, पुरानो भवनमै सेवा

गुल्मी अस्पतालमा स्वास्थ्य सेवा लिने बिरामीको चाप बढ्दै गएको छ । अस्पतालले सार्वजनिक गरेको वार्षिक तथ्याङ्कअनुसार हरेक आर्थिक वर्षमा सेवाग्राहीको संख्या उल्लेख्य रूपमा वृद्धि हुँदै आएको छ ।

सुविधा भने अझै पुरानो र साँघुरो भवनमै सीमित छ । आर्थिक वर्ष २०८१/०८२ मा मात्र ७८ हजार २५४ जनाले अस्पतालमार्फत उपचार सेवा लिएको अस्पतालले जनाएको छ ।

यस्तै आर्थिक वर्ष २०८०/०८१ मा ७३ हजार ८७९ र २०७९/०८० मा ६७ हजार ९७९ जनाले अस्पतालको सेवा लिएका थिए ।

अस्पताल प्रमुख डा. विभव बस्यालले आर्थिक वर्ष २०८१/०८२ को प्रस्तुत गरेको वार्षिक प्रगति विवरणमा पछिल्लो वर्षहरूमा शल्यक्रिया सेवामा पनि उल्लेख्य वृद्धि भएको जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा २ हजार ६३९ जनाको शल्यक्रिया गरिएको छ । २०८०/०८१ मा १ हजार ९२६ र २०७९/०८० मा १ हजार ८०९ जनाको शल्यक्रिया भएको थियो ।

जनस्वास्थ्य निरीक्षक बोम अर्यालका अनुसार इमरजेन्सी सेवामा पनि उपचार लिन आउने, अस्पतालमा भर्ना हुने बिरामी तथा विभिन्न विशेषज्ञ सेवा लिनेहरूको संख्या पनि बढ्दो क्रममा रहेको बताए ।अनलाईन खबरवाट

सम्बन्धित शिर्षक :