नेपाल नर्सिङ संघ लुम्बिनी इकाईले मनायो विविध कार्यक्रम सहित अन्तर्राष्ट्रिय नर्सिङ दिवस

स्वास्थ्यसमाचार /नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल इकाई समिति बुटवलले मे १२ (वैशाख २९) का दिन अन्तर्राष्ट्रिय नर्सिङ दिवस विविध कार्यक्रम गरी मनाईएको छ ।

दिवसको अवसरमा वैशाख २६ गते बुटवल उपमहानगरपालिका वडा नं. १३ स्थित जबई टोल विकास संस्थामा स्तन क्यान्सर स्क्रिनिङ कार्यक्रम आयोजना गरिएको थियो।स्तन क्यान्सर विशेषज्ञ डा. सञ्जय पाण्डेको सहजीकरणमा सम्पन्न उक्त शिविरमा प्रारम्भमा क्यान्सर सम्बन्धी जानकारी दिइएको थियो। कुल ८९ जनाको स्वास्थ्य परीक्षण गरिएकामा ५२ जनालाई मेमोग्राम गर्न सल्लाह दिइएको थियो भने ५ जनाको परिवारमा क्यान्सरको इतिहास रहेकोले विशेष परीक्षणको सिफारिस गरिएको थियो।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, प्रशासन प्रमुख, लेखा प्रमुख, विभिन्न वार्डका युनिट इन्चार्जहरू, नर्सिङ कर्मचारी तथा (नान) सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता विष्णु पन्थीले गर्नुभएको थियो भने सञ्चालन सीता खनालले गर्नुभएको थियो।
अन्तर्राष्ट्रिय नर्सिङ दिवसकै दिन वैशाख २९ गते अस्पताल परिसरमै औपचारिक कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा (नान)का सल्लाहकार कुमारी हरि केसी, नर्सिङ प्रमुख एवं सल्लाहकार नेहा थापा, ज्योति पौडेल लगायतले नर्सिङ पेशाको महत्त्व र योगदानबारे मन्तव्य व्यक्त गर्नुभएको थियो।

त्यसपछि सबै सहभागीहरू अपाङ्ग आश्रम पुगेर मास्क, सेनिटाइजर, सेनिटरी प्याड, दाल–चामल, तेल, चना, अण्डा, दही, केरालगायतका खाद्यान्न तथा आवश्यक सामग्रीहरू आश्रम व्यवस्थापक लाई हस्तान्तरण गरिएको थियो। साथै स्वास्थ्य सम्बन्धी जानकारी पनि दिइएको थियो। सोफिया काफ्लेद्वारा हात धुने तरिका र समयबारे डेमोसमेत प्रस्तुत गरिएको थियो।

उक्त दिनभरिका कार्यक्रमहरूमा नानका सम्पूर्ण टिम, नर्सिङ प्रमुख, तथा विभिन्न नर्सिङ कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। यसरी नेपाल नर्सिङ संघ लुम्बिनी इकाईद्वारा आयोजित अन्तर्राष्ट्रिय नर्सिङ दिवस विशेष कार्यक्रमहरू सफल र प्रभावकारी रूपमा सम्पन्न गरिएको थियो ।

सम्बन्धित शिर्षक :