महेश्वर श्रेष्ठ बागमती प्रदेश लोक सेवा आयोग अध्यक्षमा नियुक्त

बागमती प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन् ।बागमती प्रदेश अध्यक्ष दिपक प्रसाद देवकोटाले आइतबार श्रेष्ठलाई लोक सेवा आयोग अध्यक्षमा नियुक्त गरेका हुन् ।

श्रेष्ठ नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ निवासी हुन् । श्रेष्ठ बिहीवार मात्रै सरकारी सेवाबाट अवकाश भएका थिए । उनी लुम्बिनी प्रदेशको बुटवलस्थित स्वास्थ्य तालिम केन्द्रको निर्देशक पदमा कार्यरत थिए । उनी ११औं तह सहसचिव हुन् । उनी तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको प्राविधिक सल्लाहकारमा समेत नियुक्त भएका थिए ।

उनलाई लोक सेवा आयोगको अध्यक्ष नियुक्त गर्न मुख्यमन्त्री बहादुर सिं लामा, सभामुख भुवनकुमार पाठक र विपक्षी दलका नेता शालिकराम जम्मकट्टेल सम्मिलित ३ सदस्यीय समितिले २१ असोजमा सिफारिस गरेको थियो ।

सम्बन्धित शिर्षक :