नेपालमा पहिलोपटक पुष्टि भयो कोरोनाको ओमिक्रोन भेरिएन्ट

स्वास्थ्यसमाचार/ नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भुर्चअल प्रेस मिट गर्दै नेपालमा २ जनामा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको जानकारी दिएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ७१ र ६६ वर्षीय विदेशी नागरिकमा ओमिक्रोन पुष्टि भएको हो। ६६ वर्षीय पुरुष मंसिर ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका थिए। उनी ओमिक्रोन पुष्टि भएको देश हुँदै नेपाल आएका थिए।

उनको नजिकको सम्पर्कमा आएका ७१ वर्षीय पुरुषलाई पनि ओमिक्रोन पुष्टि भएको हो। ६६ वर्षीय पुरुष नेपाल आउँदा नियमानुसार पिसिआर रिर्पोट नेगेटिभ र कोरोना विरुद्धको दुबै मात्रा खोप लगाएको पनि मन्त्रालयले जनाएको छ। दुबै नागरिक अफ्रिकाबाट आएको बताइएको छ।

उनीहरु दुबैलाई मंसिर ७ गते कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना पोजिटिभ आएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना पोजिटिभ आएकाहरुको एस जीन परीक्षण गर्नुपर्ने र एस जीन परीक्षण गर्दा दुबैजनाको नमुनामा एस जीन फेला परेको थिएन।

‘एस जीन नेगेटिव आएपछि दुबै जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन सिक्वेन्सिङ गर्दा मंसिर १९ गते कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भने।

सहप्रवक्ता अधिकारीका अनुसार उनीहरुको सम्पर्कमा आएका ६६ जनाको कन्ट्याक्ट ट्रेसिङ गरी पिसिआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको र सबै स्वस्थ रहेका छन्।दुबैमा अन्य कुनै लक्षण नदेखिएको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको थियो। हालसम्म यो भेरियन्ट विश्वका ३५ देशहरुमा फैलिसकेको छ।यी देशहरुमा आजको मितिसम्म ५७४ जना ओमिक्रोन भेरियन्टका संक्रमित देखिएका छन् ।

विश्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आँकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख छ। दक्षीण एसियाका केहि देशहरुमा समेत यो भेरिएन्ट पुष्टि भैसकेको छ।

यो भाइरस सर्ने दर र संक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा वैज्ञानिक तथ्यहरूको खोज भैरहेको छ।स्वास्थ्य मन्त्रालयले यसको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले विभिन्न प्रयासहरू जारी राखेको जनाएको छ।

सम्बन्धित शिर्षक :