लुम्बिनी प्रदेशमा स्वास्थ्यमा केन्द्रीत ३८अर्ब बजेट आउने, कृषि र रोजगारीलाई पनि प्राथमिकता

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७८/७९ को लागि ३८ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । प्रदेश सभामा दिउसो ३ बजे बजेट प्रस्तुत हुने भएको छ।

लुम्बिनी प्रदेश सरकारले बजेटको आकार गत वर्षको भन्दा वृद्धि हुुने जनाएकोे छ । कोरोना नियन्त्रण र थला परेको अर्थतन्त्रलाई उकास्ने गरी आगामी वर्षका लागि ३८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी भएको छ । प्रदेशमा चालू आर्थिक वर्ष २०७७/७८ को लागि मुख्यमन्त्री शंकर पोखरेलले ३६ अर्ब ३५ करोड रूपैयाँ बराबरको बजेट प्रस्ताव गरेका थिए ।

आइतबार बसेको प्रदेशसभाको बैठकले प्रदेश नीति तथा कार्यक्रम बहुमतले पारित गरेसँगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको हो । असार १ मा संवैधानिक रूपमा प्रदेशले बजेट ल्याउनुपर्ने व्यवस्था छ । मंगलबार दिउँसो ३ बजे प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बजेट प्रस्तुत गर्नेछन् ।

गत वर्षको प्रकृतिसँग खासै फरक नहुने गरि कोरोना नियन्त्रण, उपचार, स्वास्थ्य पूर्वाधार निर्माण र उत्पादनलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिएको मन्त्री बैजनाथ चौधरीले बताए । गत वर्षदेखि सुरु भएको कोरोना महामारी यसवर्षपनि कायम रहेकाले बजेट कार्यान्वयन यस पटक पनि त्यस्तै हुने मन्त्री चौधरीको आँकलन रहेको छ ।

कोरोना नियन्त्रणलाई केन्द्रमा राखेर बजेटको ठूलो हिस्सा त्यसैमा छुट्याईएको उल्लेख गर्दै मन्त्री चौधरीले यो पटक नयाँ योजना केही नथपिएको वताए । ‘गत वर्षको भन्दा बजेटको आकार केही मात्रामा बढेर आउनेछ,’ मन्त्री चौधरीले भने, ‘तर, यो पटक नयाँ योजना केही थपिने छैनन्, पूराना अधुरा योजनालाई पूरा गर्ने गरी बजेट आउनेछ ।

बजेटमा कोरोना नियन्त्रणका लागि उपचार, परीक्षण, जनशक्ति व्यवस्थापनमा बिशेष रुपमा सम्बोधन गर्ने गरी बजेट छुट्याइएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोना महामारीबाट पुर्नउत्थान गर्ने गरी स्वास्थ्यपछि कृषिलाई लुम्बिनी प्रदेश सरकारले विशेष महत्व दिएको छ ।

कृषि प्राविधिक सेवामा किसानको पहुँच नभएकाले वडा तहमै प्राविधिकको उपलब्धता सुनिश्चित गर्ने कार्यक्रम बजेटमा उल्लेख गरिएको छ ।गत बर्षको बजेट पनि यस्तै आकारको बजेट मुख्यमन्त्रीले बिनीयोजन गरेका थिए ।

सम्बन्धित शिर्षक :