केशवधाममा १५ शैयाको कोभिड आइसोलेसन सेन्टर सञ्चालन

स्वास्थ्यसमाचार/ सेवा इन्टरनेशनल, नेपाल र हिन्दु स्वयंसेवक संघ, नेपालले भैरहवास्थित केशवधाममा १५ शैयाको कोभिड आइसोलेसन सेन्टर निर्माण गरी सञ्चालनमा ल्याएको छ । हिन्दु स्वयंसेवक संघ, नेपालको सिद्धार्थनगर–१३ सेवापथस्थित नवनिर्मित कार्यालय भवनमा १५ शैयाको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको संघका विभाग कार्यवाहक रविकान्त उपाध्यायले बताए ।

आइसोलेसन सेन्टरको मंगलबार लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डेयले उद्घाटन गरे । सो अवसरमा बोल्दै मन्त्री पाण्डेयले विषम परिस्थितिमा हिन्दु स्वयंसेवक संघ र सेवा इन्टरनेशनलले आइसोलेसन सेन्टर निर्माण गरी भीम अस्पताललाई हस्तान्तरण गर्नु उदाहरणीय कार्य रहेको बताए । उनले भीम अस्पतालले विगतको तुलनामा धेरै कोरोना संक्रमित बिरामीहरूको उपचार गरेर निको पार्ने कार्यमा अग्रणी भूमिका निर्वाह गरेको बताए ।

भीम अस्पताल विकास समितिका अध्यक्ष नारायणप्रसाद भण्डारीले अस्पतालहरूमा बेडको अभाव भएको बेला सेवा इन्टरनेशनल र हिन्दु स्वयंसेवक संघले आइसोलेसन सेन्टर बनाउनु पुण्य काम भएको बताए । उनले अस्पताल हिन्दु स्वयंसेवक संघसंग सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

समाजसेवी अजयकुमार गुप्ताले राज्यले सोचे अनुरूप बिरामीको उपचार तथा व्यवस्थापन गर्न नसकेको बेला गैरनाफामूलक संस्थाले १५ शैयाको आइसोलेसन सेन्टर बनाउनु स्वागतयोग्य कार्य भएको बताए । कोभिड आइसोलेसन सेन्टर निर्माण समितिका संयोजक उमाशंकर पाठकले अक्सिजन कन्सन्टे«टर आउन केही ढिलाइ भएकोले आइसोलेसन सेन्टर सञ्चालनमा पनि थोरै ढिलाइ हुन पुगेको बताए ।

१५ शैयामध्ये १० वटा बेड अक्सिजन कन्सन्टे«टर र ५ वटा सामान्य अवस्थाका बिरामीका लागि बिना अक्सिजन आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हिन्दु स्वयंसेवक संघ नेपालका रूपन्देही जिल्ला सेवा प्रमुख सुरज उपाध्यायले बताए । उनले बिरामीको उपचारमा कुनै कमी नहोस् भन्ने उद्देश्यले औषधिलगायतका स्वास्थ्य सामग्री समेत राखिएको जानकारी दिए ।

आइसोलेसन सेन्टर भीम अस्पतालको मातहतमा सञ्चालन हुने गरी मंगलबार अस्पताल विकास समितिका अध्यक्ष नारायणप्रसाद भण्डारी र मेडिकल सुपरिटेण्डेण्ट डा शकुन्तला गुप्तालाई हस्तान्तरण गरिएको हिन्दु स्वयंसेवक संघ, नेपालका भैरहवा नगर सेवा प्रमुख राजन शुक्लाले बताए ।

सम्बन्धित शिर्षक :