भेरी अस्पतालमा आक्रमणमा परेका नर्स भन्छन्, हामी अझै त्रासमै छौ

स्वास्थ्यसमाचार/ नेपालगन्ज–ड्युटी गरिरहेका बेला आक्रमणमा परेका नेपालगन्जको भेरी अस्पतालका नर्सहरुले आफूहरु अझै पनि डर र त्रासमै रहेको बताएका छन् । घटना भएको ५ दिन बितिसक्यो ।

तर, उनीहरु राम्रोसँग निदाउन सकेका छैनन् । सानो स्वरमा बोल्दा पनि आक्रमण गर्न आउनै लागेको हो भन्ने त्रास हुने गरेको आक्रमणमा परेकी नर्स भावना श्रेष्ठले बताइन् । स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि नेपाल चिकित्सक संघ, सरकारी चिकित्सक संघ र नेपाल नर्सिङ संघलगायत विभिन्न पेशागत संघसंस्थाहरुले दोषीमाथि कारबाही र जेल विथ आउट बेलको प्रावधानसहितको कानुनको माग गर्दै आन्दोलन गरिरहेका छन् ।

स्वास्थ्यकर्मीहरु हरेक दिन साँझ भेरी अस्पताल परिसरमा भेला भएर शान्तिपूर्ण प्रदर्शन गर्दै आएका छन् । उनीहरुले स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि स्थानीय प्रशासनले थप सुरक्षाकर्मी खटाउनु सकारात्मक भएपनि सुरक्षाकर्मीकै अगाडि स्वास्थ्यकर्मी माथिको आक्रमण हुने गरेकाले कडा कानुन आवश्यक भएको आक्रमण परेका स्वास्थ्यकर्मी हेल्थ असिस्टेन्ट पुपेन्द्र शाहीले बताए ।

शाही २४ बैशाखमा भेरी अस्पतालको इमर्जेन्सी वार्डमा बिरामीको उपचार गर्ने क्रममा आक्रमणमा परेका थिए । आक्रमणमा संलग्न दोषी माथि कारबाही र जेल विद आउट बेलको प्रावधानसहितको कानुनको माग गर्दै नेपालगन्जका स्वास्थ्यकर्मीहरुले १४ १४ जेठदेखि शान्तिपूर्ण आन्दोलन गर्दै आएको नर्सिङ संघ बाँकेकी अध्यक्ष लक्ष्मी केसीले बताइन् ।

दोषीमाथि कारबाही सुरु भइसकेको र अस्पतालमा थप २५ जना सुरक्षाकर्मी खटाइएकाले अस्पतालमा भय र त्रासको वातावरण केही हटे पनि कडा कानुनी ब्यवस्था नहुँदासम्म स्वास्थ्यकर्मीमाथि आक्रमणको जोखिम कायमै रहेको अध्यक्ष केसी बताउँछिन् । १३ जेठ राती भेरी अस्पतालका स्टाफ नर्स सदीक्षा गैरे, अश्विनी गुरुङ, रीता भण्डारी, भावना श्रेष्ठ, कविता पुन, डा। चन्द्र प्रकाश साहु, दीपक गुप्ता र समा अन्सारीमाथि आक्रमण भएको थियो ।हेल्थआवाजबाट ।

सम्बन्धित शिर्षक :