लुम्बिनी प्रादेशिक अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण

स्वास्थ्यसमाचार/ कोरोना भाइरस कोभिड–१९ को महामारीका विरुद्ध जारी लडाइँमा विभिन्न क्षेत्रबाट सहकार्य भइरहेको छ । यसैक्रममा लुम्बिनी विद्युत उद्योग प्रालिले उपचारार्थ सहयोगका लागि अक्सिजन सिलिण्डर प्रदान गरेको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा मंगलबार बिहान एक संक्षिप्त समारोहबीच ३० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ । उक्त अवसरमा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई, मेसु डा राजेन्द्र खनाललाई लुम्बिनी विद्युत उद्योग प्रालिका तर्फबाट प्रबन्ध निर्देशक रोहित गुप्तासहितको टोलीले हस्तान्तरण गरिएको हो ।

महामारीका विरुद्धमा उद्योगका तर्फबाट भएको मानवीय सेवाप्रति उपमहानगरपालिका तथा अस्पतालले धन्यवाद ज्ञापन गरेका छन् । उपमहानगर प्रमुख शिवराज सुवेदीले सबैको सहकार्य र समन्वयमा नै महामारी विरुद्धको लडाइँ जित्न सकिने भन्दै सबै क्षेत्रबाट सकारात्मक सोंच सहितको सहकार्यको खाँचो रहेको वताए।

अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई, मेसु डा राजेन्द्र खनालले अस्पतालसंग गरिएको सहकार्यले स्वास्थ्यकर्मीमा समेत हौसला बढ्ने र उपचाररत बिरामीमा मनोबल बढाउन पनि काम गर्ने भन्दै धन्यवाद ज्ञापन गरे ।

उक्त अवसरमा उद्योगका प्रबन्ध निर्देशक रोहित गुप्ता, महाप्रबन्धक मनोज घिमिरे र एचआर म्यानेजर भूवन गिरीले महामारी विरुद्धको लडाइँमा उद्योगका तर्फबाट आफुहरुले पनि अस्पतालको काममा समन्वय गर्ने अवसर प्राप्त भएको भन्दै सहकार्य जारी राखिने प्रतिवद्धता जनाए । । मानवीय सेवा भाव र महामारी विरुद्धको विद्यमान लडाइँमा यसखालका सहयोग र सहकार्यको महत्वपूर्ण भूमिका रहने कार्यक्रमका सहभागीको साझा भनाइ थियो ।

सम्बन्धित शिर्षक :