किन संक्रमित हुँदै छन् दुई डोज खोप लिनेहरु ?

काठमाडौं । पछिल्लो समय कोभिड–१९ विरुद्धको दोस्रो डोज खोप लिइसकेका व्यक्तिहरु संक्रमित भएको खबर धेरै आउन थालेका छन् । कतिपयले आफूले दुवै डोज खोप लिए पनि संक्रमित भएको भन्दै सतर्क हुन आग्रह गर्दै सामाजिक सञ्जालमार्फत सन्देश दिएका छन् ।

नेपालमा हालसम्म चार लाख २९ हजारजनाले दुवै डोज कोभिसिल्ड खोप लगाएका छन् भने १६ लाख ६२ हजार ५११ जनाले पहिलो डोज कोभिसिल्ड र भेरोसेल खोप लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

यसो भन्छन् विज्ञ

स्वास्थ्यका दृष्टिकोणले दोस्रो डोज खोप लगाएको दुई हप्ता अर्थात् १४ दिन पूरा भएपछि मात्रै पूर्ण खोप लिएको मानिन्छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनका अनुसार सामान्यतः पूर्ण खोप लिएको १४ दिनपछि मानिसको शरीरमा एन्टिबडीको विकास हुन थाल्छ । खोपमार्फत दिइएको कम्पोनेन्टले स्वास्थ मानिसको शरीररमा प्राकृतिक रुपमा विकास भएको एन्टिबडीजसरी नै काम गर्दछ र थप विकासका लागि मद्दत पुर्‍याउँछ ।

तर, १४ दिन नपुग्दासम्मको अवधिमा मानिसलाई संक्रमण हुने सम्भावना कायमै रहन्छ । त्यसैले खोप लिइसकेका व्यक्तिहरुले पनि सजग रहन र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन डा। पुन सुझाव दिन्छन् ।

खोपको प्रभावकारिता अध्ययनले के भन्छ ?
खोप परीक्षणका क्रममा देखिएको प्रभावकारिताले खोप लगाइसकेपछि कति सुरक्षित हुने भन्ने निर्धारण गर्दछ । भारतमा विकास भएको अक्सफोर्ड अष्ट्राजेनिका कोभिसिल्ड खोप दोस्रो मात्रा लगाएपछि ९० प्रतिशत सुरक्षित हुने वितरक सिरम इन्स्टिच्युट अफ इन्डियाले दाबी गरेको छ ।

‘युनिभर्सिटी अफ वासिङटन, स्कुल अफ मेडिसिन’ले खोपको प्रभावकारिता प्रतिशत नै यसले गर्ने सुरक्षा रहेको जनाएको छ । अर्थात् कोभिसिल्ड खोपको प्रभावकारिता ९० प्रतिशत हो भने यो खोप लिएका ९० प्रतिशत मानिस संक्रमित हुनबाट बच्छन् । यदि, उनीहरुमा संक्रमण भइहाले पनि लक्षण नदेखिने खालको संक्रमण हुन्छ । बाँकी १० प्रतिशतमा भने संक्रमण देखिए पनि सिकिस्त नहुने र अस्पतालसम्म पुग्ने अवस्था नहुने युनिभर्सिटीको अध्ययनले देखाएको छ ।

खोप लगाएका व्यक्ति संक्रमित भएमा अरुलाई सार्ने सम्भावना हुन्छ हुँदैन ?
युनिभर्सिटी अफ वासिङटन, स्कुल अफ मेडिसिनका अनुसार पूर्ण खोप लिएका व्यक्तिमा संक्रमण भइहाले पनि उनीहरुको शरीरमा भाइरल पार्टीकल्स  संक्रमण गराउने जीवाणुहरुको मात्रा कम हुन्छ ।

हालसालै प्रकाशित ‘प्रिप्रिन्ट’को रिपोर्ट अनुसार इजरायलमा दुई हजार ८९७ जना पूर्ण खोप लिएका व्यक्तिहरुमा गरिएको अध्ययनमा अधिकांशको शरीरमा भाइरसको मात्रा नगन्य देखिएको थियो । जुन मात्रा संक्रमित भएर निको भएका तर खोप नलिएकाहरुमा एकतिहाइ देखिएको थियो ।

सो अध्ययनकर्ता टोलीले भाइरल पार्टीकल्स थोरै हुनु भनेको अरुलाई सर्ने सम्भावना कम हुनु रहेको निष्कर्ष निकालेको थियो । यस अर्थमा पूर्ण खोप लिएका व्यक्ति संक्रमित भइहालेको खण्डमा पनि अरुलाई सार्ने सम्भावना भने करिब शून्य रहेको अनुसन्धानकर्ताहरुको ठहर छ ।

तर, कोभिसिल्ड खोप लगाएकाहरुको हकमा पनि खोपले शतप्रतिशत सुरक्षा गर्न नसक्ने भएकाले मास्क लगाउन र भौतिक दूरी कायम गर्न भारतको रोग नियन्त्रण तथा सुरक्षा केन्द्रले सुझाव दिएको छ ।वाह्रखरिवाट साभार गरिएको हो ।

सम्बन्धित शिर्षक :