वायु प्रदूषणका कारण देशभरका शिक्षण संस्था ४ दिन बन्द गर्ने निर्णय

स्वास्थ्यसमाचार/ पछिल्ला दिनमा वायु प्रदूषण बढ्दै गएपछि सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

सोमबार शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो। बैठकले मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको मन्त्रीका प्रेस सल्लाहकार ईश्वरराज ढकालले बताए। बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको बताए।

 

बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा हरि लम्साल, शिक्षा, तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्याल लगायतको उपस्थिति रहेको थियो।

बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए। लगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौं विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकुलताको कारण सबै शिक्षणसंस्था बन्द गर्नुपरेको बताए।

सम्बन्धित शिर्षक :