चिनबाट नेपाल आइपुग्यो कोरोना विरुद्धको ८ लाख डोज खोप

स्वास्थ्यसमाचार/ चीन सरकारले अनुदानमा उपलब्ध गराएको ८ लाख डोज कोभिडविरुद्धको खोप काठमाडौं आइपुगेको छ। नेपाल एयर लाइन्सको विमानबाट बिहान आइपुगेको खोप नेपाललाई हस्तान्तरण गरिएको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरेकी हुन् ।चीन सरकारले सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको सार्स कोभ–२ भाक्सिन (भेरोसेल) खोपको ८ लाख डोज नेपाललाई अनुदानमा दिएको हो।

खोप प्राप्त गरेपछि स्वास्थ्यमन्त्री त्रिपाठीले कोभिडविरुद्धको लडाइँमा चीनले गरेको सहयोगप्रति धन्यवाद दिए। चिनियाँ राजदूत यान्छीले यो खोप ८० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको बताइन्।

चीनबाट आएको उक्त खोप टेकुस्थित खोप भण्डारण केन्द्रमा लगेर राखिएको छ। यो खोप पनि कोभिसिल्ड जस्तै दुई मात्रामा लगाउनुपर्ने हुन्छ।खोप लगाउनुपर्ने जनसंख्या धेरै भएको र अनुदानमा आउन लागेको खोपको मात्रा कम भएकाले स्वास्थ्य मन्त्रालयले कस्ता व्यक्तिहरुलाई खोप दिने भन्ने निर्णय भने गरिसकेको छैन।

सो खोप कसरी र कस्ता व्यक्तिका लागि लगाउने भनेर स्वास्थ्य मन्त्रालयले छलफल गरिरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले बताए।

‘यो खोप आम सर्वसाधारणलाई पुग्ने आएमा सोही अनुसार दिन सकिन्थ्यो, सिमित मात्र आउने भएकाले जोखिम समूहमा पर्ने लक्षित वर्गलाई प्राथमिकीकरण गरेर लगाउने कि भन्ने कुरा भएको छ,’ डा अधिकारीले भने, ‘योजनाहरु बन्दै छ, छलफल भइरहेको छ, तर अहिले नै कस्ता समूहलाई लगाउने भन्ने टुंगो लागेको छैन।’

सम्बन्धित शिर्षक :