तिलोत्तमा सहित ८ पालिकामा चैत १ देखि कोरोनाविरुद्धको खोप

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा कोभिड–१९ विरुद्धको खोप अभियान यहीँ चैत १ गतेबाट सुरु हुँदैछ । नगरका सबै वडामैं खोप केन्द्र कायम गरी कोरोना विरुद्धको खोप अभियान चलाउने तयारी भैरहेको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी गराएको छ ।

तिलोत्तमा नगरपालिकाभित्र हाल १७ वटा सरकारी स्वास्थ्य संस्था सञ्चालनमा छन् । जनप्रतिनिधिहरुसँगको परामर्शको आधारमा नगरबासीको सहजताको लागि हरेक वडामा खोप केन्द्र निर्धारण गरिएको जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले वताए ।

फागुन २३ गतेदेखि मुलुकभर सञ्चालन भएको दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत् तिलोत्तमामा चैत १ गतेदेखि सुरु हुने खोप अभियान चैत ३ गतेसम्म चल्नेछ । अभियान अन्तर्गत् ६५ वर्ष उमेर पुगेका नगरभित्रका झण्डै दश हजार ज्येष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाउने नगरपालिकाको अनुमान छ ।

नगर प्रमुख बासुदेव घिमिरेले उमेर खुल्ने सरकारी कागजातसहित आफ्नो नजिकको खोप केन्द्रमा पुगी खोप लगाउन सबै नगरबासीलाई गरेका छन । विश्व स्वास्थ्य संगठन समेतले प्रयोग अनुमति दिएको खोप लगाईं कोभिड–१९ बाट सुरक्षित रहन उहाँले सबै नगरबासीलाई आह्वान गरे । निःशुल्क पाइने खोप सुरक्षित रहेको र खोपले जीवन रक्षा गर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

स्वास्थ्य शाखाले जनप्रतिनिधिहरुको साथैं स्वास्थ्य संस्था ईञ्चार्जहरुसँग खोप अभियानको तयारी र स्थानीय स्तरमा गर्नुपर्ने कार्यसम्पादनको बारेमा छलफल गरिसकेको शाखा प्रमुख मोती पौडेलले वताए । त्यसक्रममा नगर प्रमुख घिमिरेले खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिँदै जनस्वास्थ्यको संवेदनशीलतालाई ख्याल राख्न आग्रह गरे ।

अभियानलाई सफल बनाउन जनप्रतिनिधिहरु प्रतिबद्ध भएर लाग्ने बताउँदै उनले कोरोना महामारीको समयमा जनप्रतिनिधिसँगै स्वास्थ्यकर्मी र जनस्तरबाट भएको समन्वय र सहकार्यको स्मरण गरे ।

नगरका स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्रहरुमा खोप कार्यक्रम सञ्चालन हुनेछ । मुटु रोग, श्वासप्रश्वास सम्बन्धी समस्या, मधुमेह (सुगर), शिकलसेल, एनिमियाजस्ता स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिनु झनै आवश्यक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण भएमा यस्ता स्वास्थ्य समस्या भएकाहरू बिरामी हुने सम्भावना बढी भएकाले पनि उनीहरुले यो खोप लिन जरुरी रहेको बताइन्छ ।
कोभिड–१९ खोप लगाएका केही मानिसहरूमा अन्य खोपहरू लगाउँदा जस्तै सामान्य असरहरू देखिन सक्छन् ।

यसका सामान्य असरहरूमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महशुस हुने, वाकवाकी लाग्ने, मांशपेशी वा जोर्नी दुख्ने, वान्ता आउने, आदि रहेका छन् । यस्ता सामान्य असरहरू विस्तारै ठिक भएर जान्छन् ।

तिलोत्तमा सहित रुपन्देहीका ८ पालिकामा चैत्र १ गतेबाट कोरोना बिरुद्धको खोप लगाउने तयारी भैरहेको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले बताए ।

दोश्रो चरणमा चैत्र १ गते देखी ३ गते सम्म कोरोना बिरुद्धको खोपलगाउने
१ तिलोत्तमा नगरपालिका,

२ देबदह नगरपालिका

३ ओमसतिया गाउँपालिका

४ लुम्बिनी सांकृतिक नगरपालिका

५ कोटहीमाई गाउँपालिका

६ मर्चवारी गाउँपालिका

७ सम्मरीमाई गाउँपालिका

८रोहीणी गाउँपालिका रहेका छन।

 

सम्बन्धित शिर्षक :