मेरुदण्ड भाँचिएकी खगिश्वरालाई उपचारका लागि आर्थिक अभाव

बिरामीसँगै सिङ्गो परिवार बिचल्लीमा, सहयोगको लागि अनुरोध

सन्तोष महतरा

स्वास्थ्यसमाचार / गुल्मीको मदाने गाउँपालिका वडा नं २ बाँझकटेरी सिराहाकी खगिश्वरा भुसाल केही महिनादेखि मेरुदण्ड भाँचिएर आर्थिक अभावमा छटपटाइरहेकी छिन् । आर्थिक समस्याका कारण केही महिनादेखि कहिले गाउँ त कहिले अस्पतालका बिस्तारामा छट्पटाइरहेकी भुसाललाई उपचारका लागि परिवारले आर्थिक सहयोगकोे आहारगुहार गरिरहेको छ ।

भुसालको २०७७ साल भदौ २१ गते रागोँले लखेटेपछि भीरबाट एक सय मिटर तल लड्दा मेरुदण्ड भाँचिएको थियो । भुसाल उमेरले ४६ वर्षकी हुन् । मेरुदण्ड भाँचिएकी भुसाललाई उपचारको लागि परिवारले गाउँकै स्वास्थ्य चौकी हुँदै लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास र भरतपुर अस्पताल चितवनसम्म लगेर आर्थिक अभावका कारण घर फकाइएको छ ।

भुसाललाई निःशुल्क उपचार गर्नका लागि श्रीमान् देवीराम भुसालले आशा अपाङ्ग केन्द्र ल्याई थेरापिको माध्यमबाट उपचार गराइरहेका छन् । खगिश्वरा भुसालले रुँदै म त यस्तै भइहालेँ तर उपचारमा लागेको ऋणले मेरो परिवारको भविष्य के होला रु भन्दै देश तथा विदेशमा रहेका नेपालीसँग सक्दो सहयोग को अपिल गरेकी छिन् । उनको श्रीमान्ले २०६१ सालदेखि गाउँकै बाल विकास निमाविमा कार्यालय सहयोगीको काम गर्दै आएका छन् ।

विद्यालयमा कार्यालय सहयोगीको रूपमा काम गरी जिवीकोपार्जन गर्दै आएका देवीरामलाई जागिरबाट हात धुने अवस्था आएको छ । उनी जागिर छोडेर यतिबेला श्रीमतीको उपचारका लागि आशा अपाङ्ग केन्द्र तम्घासमा छन् । उनको दैनिकी विद्यालयमा हैन श्रीमतीको स्याहारसुसारमा चलेको छ । उता घरमा छोराछोरीको बिचल्ली छ ।

भुसालको परिवारमा आठ जना रहेका छन् । छ सन्तानमध्ये २ छोरा र चार छोरी रहेका छन् । उनको सानो छोरो कक्षा आठमा अध्ययनरत छन् । श्रीमतीको उपचारमा लागेकोे ऋण र छोराछोरीको भविस्य सम्झेर आँसु निकाल्नुबाहेक अरु विकल्प नरहेको बताउँछन् देवीराम भुसाल ।

भुसाल भन्छन्, ‘श्रीमतीको उपचारको लागि मात्रै गाउँबाट खोजेर लगेको ऋण सातदेखि आठ लाख पुग्यो अब श्रीमतीको उपचारलाई पैसा कोही पत्याउँदैनन् ।’ बाँकी उपचारको लागि कति लाग्ने भन्ने टुङ्गो नै छैन । यतिबेला श्रीमतीको उपचारको लागि आर्थिक जोहो गर्न गाह्रो परेपछि देवीरामले देशविदेशमा रहेका नेपालीसँग सहयोगको माग गरिदिन मिडियालाई अपिल गरिरहेका छन् ।

आशा अपाङ्ग केन्द्र तम्घासमा थेरापीबाहेक अन्य उपाय नभएकाले उनको उपचारको लागि पोखरा र काठमाडौँ जानुपर्ने फिजियोथेरापिस्ट डाक्टर सुभाष राई बताउँछन् ।भुसालजस्ता धेरैलाई आशा अपाङ्ग केन्द्र गुुल्मीले नयाँ जीवन दिनुका साथै निःशुल्क सहयोग गर्दै आइरहेको छ । अपाङ्ग केन्द्र तम्घासले अपाङ्गता भएकाहरूलाई अपाङ्गमैत्री चर्पी, आँगन, घरवरिपरिको बाटो निर्माण गर्नुका साथै आवश्यक स्वास्थ्य सामग्री प्रदान गर्दै आएको आशा अपाङ्ग केन्द्रकी प्रमुख गंगा रायमाझीले बताइन् ।

रायमाझीका अनुसार भुसालको परिवार आर्थिक अभाव भएकै कारण पोखरा, काठमाडौँ जान नसकेपछि आशा अपाङ्ग केन्द्र गुल्मीले सक्दो उपचार गर्दै आएको बताइन् । भुसाललाई सहयोग गर्ने चाहनेले ९८५७०६७७३८ मा फोन गर्ने सक्नेछन् ।

सम्बन्धित शिर्षक :