रोटरी क्लव अफ बुटवलले क्यान्सर स्क्रिनिङ सेन्टर सहित ४ परियोजना संञ्चालन गर्ने

लुम्बिनी प्रादेशिक अस्पतालमा क्यान्सर स्क्रिनिङ आम्दामा अक्सिजन र रोटरी ब्लड कलेक्सन मोवाइल भ्यान संञ्चालन गर्ने

स्वास्थ्यसमाचार/ रोटरी क्लव अफ बुटवलले स्वास्थ्य र शिक्षा क्षेत्रलाई लक्षित गर्दै विभिन्न चारवटा प्रोजेक्ट अगाडि बढाएको छ । रोटरीको ग्लोवल ग्रान्ट प्रोजेक्ट अन्तर्गत वर्ष २०२०/२१ को लागि चारवटा परियोजनाको काम अगाडि बढाइएको हो । चारवटा अन्तर्गत क्यान्सर स्क्रिनिङ सेन्टर सहित ब्लड कलेक्सन मोवाइल भ्यान सम्म छन् ।

रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट कार्यक्रमको पुर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा रोटरीले अगाडि बढाएका परियोजनाबारे जानकारी दिइएको हो । जस अन्तर्गत रोटरी क्लव अफ बुटवलले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा द रोटरी क्यान्सर स्क्रिनिङ्घ एण्ड डाइग्नोष्टिक सेन्टर स्थापना, आम्दा अस्पताल बुटवलमा अक्सिजन जेनरेशन प्लाण्ट निर्माण, शंकरनगर वनवाटिकामा रोटरी इ–लर्निङ्घ साइन्स एण्ड थिएटर र रोटरी ब्लड कलेक्सन मोवाइल भ्यान गरी चारवटा परियोजना अघि बढेको अध्यक्ष सुनिल श्रेष्ठले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा स्थापना गर्न लागिएको क्यान्सर स्क्रिनिङ सेन्टर मेगा प्रोजेक्टको रुपमा रहेको क्लवले जनाएको छ । “यो करिव १० करोड रुपियाँको मेगा प्रोजेक्ट हो, सुरुमा यसका लागि साढे २ करोड लगानी हुँदैछ”–उनले भने । क्यान्सर स्क्रिनिङ सेन्टर स्थापना भएपछि विशेषगरी महिलाहरुलाई क्यान्सर रोग पत्ता लगाउन बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने पनि बताए ।

त्यसैगरी आम्दा अस्पतालमा निर्माण हुने अक्सिजन प्लाण्टका लागि करिव ५५ लाख बजेट आवश्यक पर्ने रोटरीले जनाएको छ । त्यस्तै करिव ५० लाख रुपियाँको लागतमा वनवाटिकामा इ–लर्निङ एण्ड साइन्स थिएटर र ६५ देखि ८० लाख रुपियाँको लागतमा ब्लड कलेक्सन मोवाइल भ्यान सञ्चालन गर्ने काम पनि रोटरीले अगाडि बढाएको छ ।

परियोजनाका लागि रोटरी इन्टरनेशनल डिष्टिक ३२९२ बाट सहयोगको आश्वासन पाएको र स्थानीय, प्रदेश र संघ सरकारसँग पनि सहयोगको आग्रह गरिएको अध्यक्ष श्रेष्ठले बताए । पत्रकार सम्मेलनमा रोटरी क्लव अफ बुटवलको मंगलबार हुने २८ औं चार्टड नाइटका बारेमा पनि जानकारी गराइएको थियो । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का गभर्नर राजीव पोखरेलको प्रमुख आतिथ्यमा हुने चार्टड नाइटको तयारी पूरा भएको रोटरी क्लव अफ बुटवलले जानकारी गराएको छ ।

कार्यक्रमबारे जानकारी दिंदै अध्यक्ष श्रेष्ठले चार्टड नाइटका अवसरमा विभिन्न पदक, पुरस्कार र छात्रवृत्ति वितरणको कार्यक्रम पनि राखिएको बताए । कार्यक्रमकै अवसरमा सञ्चारकर्मीहरु मध्येबाट एकजनालाई पत्रकारिता पुरस्कार, पत्रकार अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने पत्रकारिता छात्रवृत्ति, नरेन्द्रतेज दृष्टिबिहीन विद्यार्थी अक्षयकोष, द्रव्यचन्द्र दृष्टिबिहीन अक्षयकोष, सपना अक्षयकोष, वृजनयन ट्रस्ट लगायतका अक्षयकोषबाट विभिन्न विद्यार्थीलाई पुरस्कृत गरिने भएको छ ।

पत्रकार सम्मेलनमा रोटरी क्लव अफ बुटवलका प्रेसिडेन्ट इलेक्ट रो. डा. ताराप्रसाद उपाध्याय, सचिव रो. रोम शर्मा, प्रोजेक्ट डाइरेक्टर रो. मधप्रसाद अर्याल लगायतले विभिन्न विषयमा प्रकाश पारेका थिए ।विभिन्न सामाजिक कार्यक्रममा सक्रिय रहँदै आएको रोटरी क्लव अफ बुटवलले बिगतमा विद्यालयमा आर्थिक सहयोगदेखि लिएर स्वास्थ्य, शिक्षा, पर्यटन पूर्वाधार, खेलकूद लगायत विभिन्न सामाजिक क्षेत्रमा लगानी गर्दै आएको छ ।

रोटरी क्लव अफ बुटवलले समय समयमा सामाजिक जनचेतना ¥याली, सभा गोष्ठी, अन्तक्र्रिया गर्दै आएको तथा गरिव र दैवी प्रकोपपीडितहरुको लागि समयसमयमा मानवीय उद्दारका कार्यहरु पनि गर्दै आएको सचिव रो. रोम शर्माले बताए ।स्थापनाकालमा ६५ जना सदस्य संख्याबाट सुरु भएको रोटरी क्लव अफ बुटवलमा अहिले सदस्य संख्या वृद्धि भई ११७ पुगेको छ ।

सम्बन्धित शिर्षक :