कोभिड-१९ : नेपालका लागी थप चूनौतीपूर्ण बन्दै !

डा. तुल्सीराम भण्डारी, जनस्वास्थ्यविज्ञ

नेपालमा हालसम्म मृत्यु भएका व्यक्तिहरुमध्ये करिब एक-तिहाइ (३२%)मा अन्य स्वास्थ्य समस्या नरहेको र कोरोना संक्रमणबाटै मृत्यु भएको छ भने बाँकीमा कोरोना परीक्षण पोजेटिभ देखिएता पनि अन्य गम्भीर स्वास्थ्य समस्याहरू पनि रहेको उल्लेख छ “

***********************************

सन् २०१९ को डिसेम्वर अन्त्यतिर चीनको हुआवे प्रान्तको वुहान सहरमा रुघाखोकीको जस्तै लक्षण र चिन्हहरु देखिने अज्ञात रोग देखियो । यो रोग बिस्तारै चीनको अन्य भागमा पनि फैलियो तर यसको निश्चित कारण पहिचान हुन सकेन र उपचार गर्दा सफलता नमिले पश्चात चीनले विश्व स्वास्थ्य संगठनलाई सूचित गर्यो  यो रोग चीन लगायत अन्य मुलुकहरूमा पनि फैलिदै गयो ।

फेब्रुवरी ११, २०२० मा International Committee on Taxonomy of Viruses (ICTV) ले यस रोगको कारण सार्स कोरोना भाइरस-२ (SARS-COV-2) भएको विधिवत घोषणा गर्यो । यो नयाँ प्रजातिको भाइरस मानवमा पहिलो पटक पहिचान भएको हो । मार्च ११, २०२० मा विश्व स्वास्थ्य संगठनले यसलाई Corona Virus Disease -2019 (COVID-19) नामकरण गर्नुको साथै विश्वव्यापी महामारी (Pandemic of COVID-19) घोषणा गर्यो ।

यो रोग श्वास-प्रश्वासको माध्यमबाट सर्ने रोग हो । संक्रमित व्यक्तिले खोक्दा, हाछयु गर्दा वा बोल्दा मुखबाट निस्कने छिटाहरूको माध्यमबाट संक्रमित व्यक्तिबाट स्वस्थ व्यक्तिमा सर्दछ । यसले व्यक्तिमा सामान्य रुघाखोकीदेखि गम्भीर प्रकृतिका श्वास-प्रश्वास समस्या गराउन सक्छ तथापि संक्रमित व्यक्तिहरू मध्ये करिव ८०% मा प्राय लक्षणहरू देखिदैन, करिव १५% मा सामान्य रोघखोकीका लक्षणहरू देखिन्छन भने ५% मा कडा लक्षणहरु देखिने र ३-५% संक्रमित व्यक्तिहरूको मृत्यु भएको देखिन्छ ।

COVID-19 संक्रमणका प्रमुख लक्षणहरूमा- १००.४ डिग्री फरेनहाइट वा सो भन्दा उच्च ज्वरो आउनु, लगातार हाछयु आउनु, सुख्खा खोकी लाग्नु, घाँटी दुख्नु, टाउको दुख्नु, थकाई लाग्नु,जिउ दुख्नु , मुटुको धड्कन वृद्धि हुनु, झाडापखाला तथा वान्ता हुने आदि लक्षणहरू देखिन्छन । रोगको जटिलता बढ्दै जाँदा शरीरमा कडा पीडा हुने, निमोनिया, खकारमा रगत देखिने र तीब्र झाडापखाला जस्ता लक्षणहरू देखिन्छन र रोगीको मृत्यु हुने सम्भावना पनि हुन्छ ।

कोभिड-१९ को संक्रमण अगस्ट ३१, २०२० सम्ममा विश्वका २०६ देशहरू र १२ वटा स्वशासित क्षेत्रहरूमा फैलिएको छ । संक्रमणको आधारमा अघिल्लो १० स्थानमा रहेका विश्वका देशहरूमा क्रमसः संयुक्त राज्य अमेरिका, ब्राजिल, भारत, रूस, पेरू, दक्षिण अफ्रिका, कोलोम्विया, मेक्सिको, स्पेन र चिली रहेका छन् भने नेपाल ६२ औं स्थानमा रहेको छ ।

त्यसैगरी विश्व स्वास्थ्य संगठनको कार्यक्षेत्रको आधारमा हेर्दा बढी संक्रमित हुने क्षेत्रहरूमा क्रमश: अमेरिका, युरोप, दक्षिण पूर्व एसिया, पूर्वी भूमध्य सागरीय क्षेत्र, अफ्रिका र पश्चिम प्रसान्तीय क्षेत्र रहेका छन । हालसम्म यो रोगबाट विश्वमा २५,४१६,२३६ मानिसहरू संक्रमित भएका छन भने ज्यान गुमाउने र निको हुनेहरूको संख्या क्रमश: ८,५१,०९९ र १७,७२४,४०६ रहेको छ ।  विश्वको तथ्यांक हेर्दा ९९% संक्रमितहरुमा सामान्य अवस्था पाइएको छ भने एक प्रतिशत संक्रमितहरु जटिल अवस्थाबाट गुज्रिरहेका छन । विश्वमा हालसम्म निदान भएका संक्रमितहरु मध्ये ९५% रोगीहरू पूर्ण निको भइ अस्पतालबाट फिर्ता भएका छन भने ३-५% प्रतिशत संक्रमितहरुको मृत्यु भएको छ ।

नेपालमा अगस्ट ३१, २०२० सम्म ३९,४६० मानिसहरू संक्रमित भएका छन् भने २२८ मृत्यु भएको छ ।  हालसम्म करिब ५४%(२१,४१०)मानिसहरूले कोरोना संक्रमणबाट विजय प्राप्त गरिसकेका छन । नेपालले हालसम्म ६,९३,४७२ मानिसहरूको PCR परीक्षण गरिसकेको छ भने हाल नेपालका विभिन्न क्वारेन्टिन र आइसोलेसन केन्द्रहरूमा क्रमशः ७,३३७ र १७,८२२ मानिसहरू रहेका छन् ।  विश्वमा कोरोनाबाट संक्रमित मध्ये करिव ३-५% मानिसहरूको मृत्यु भएको छ भने नेपाल ०.५७७% मानिसहरूको मृत्यु भएको छ ।

कोभिड-१९ संक्रमण स्वस्थ व्यक्तिमा भन्दा अन्य रोग भएका व्यक्तिहरूमा बढी समस्यामूलक देखिएको छ र मृत्युदर पनि अन्य रोगहरू जस्तै रक्तचाप, मधुमेह, मृगौलाको समस्या, मुटुरोग, क्यान्सर, निमोनिया, हाइपोथाइरोडिजम र एचआइभी/एड्स भएका व्यक्तिहरूमा बढी छ । नेपालमा हालसम्म मृत्यु भएका व्यक्तिहरु मध्ये करिब एक-तिहाइ (३२%) मा अन्य स्वास्थ्य समस्या नरहेको र कोरोना संक्रमणबाटै मृत्यु भएको छ भने बाँकी व्यक्तिहरूमा कोरोना परीक्षण पोजेटिभ देखिएता पनि अन्य गम्भीर स्वास्थ्य समस्याहरू पनि रहेको उल्लेख छ ।

नेपालमा हालसम्म मृत्यु भएका व्यक्तिहरूको उमेर अनुसार विश्लेषण गर्दा – १८ वर्ष वा सो भन्दा कम उमेरका ४%, १९–४० वर्ष उमेरका १६.५७%, ४१–६० वर्ष उमेर समूहका ४०.५७% र ६० वर्ष माथिका ३८.३८% रहेको छ भने प्रदेश अनुसार बिश्लेषण गर्दा प्रदेश दुई सबभन्दा बढी प्रभावित देखिन्छ भने त्यसपछि क्रमसः बाग्मती, प्रदेश पाँच, प्रदेश एक, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेश रहेको तथ्यांक २०७७ भाद्र ११ को कान्तिपुर दैनिकले प्रकाशित गरेको छ । यो तथ्यांकलाई थप विश्लेषण गर्दा नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा उनीहरुको उमेरसँग प्रत्यक्ष सम्वन्ध रहेको देखिन्छ अर्थात उत्तरार्धका वयस्कहरू र वृद्धहरूमा यसको मृत्युदर बढी देखिन्छ ।

तर विश्वको तथ्यांकसँग तुलना गर्दा यसको मृत्यु तथा अस्पताल भर्ना दर उत्तरार्धका वयस्कहरू र वृद्धहरूको साथसाथै बालबालिका तथा किशोरकिशोरीहरूमा पनि बढी देखिन्छ । अमेरिकाको ‘रोग नियन्त्रण तथा रोकथाम केन्द्र’ ले सार्वजनिक गरेको तथ्यांक अनुसार अमेरिकामा कोरोनाबाट हुने मृत्यु तथा अस्पताल भर्ना हुने दरमा सबभन्दा कम १८-२९ वर्षको समूहमा रहेको छ । यस समूहलाई आधार मानेर तुलना गर्दा मृत्यु र अस्पताल भर्ना हुने दर ०-४ वर्ष र ५-१७ उमेर समूहमा क्रमस: चार गुणा र नौं गुणा बढी रहेको छ भने बाँकी समूहमा उमेर बढ्दै जाँदा मृत्यु तथा अस्पताल भर्ना दर दुवै बढेको देखिन्छ जुन ८५ वर्ष वा सोभन्दा माथिको समूहमा १३ गुणा बढी रहेको छ ।

नेपालमा २०७६ माघ ९ गते पहिलो कोरोना संक्रमित व्यक्ति फेला परेको थियो भने त्यसको करीब २ महिना पछि २०७६ चैत्र १० गते दोस्रो संक्रमित व्यक्ति पाइएको थियो ।२०७७ भाद्र १३ गते प्रकाशित नागरिक दैनिकका अनुसार-नेपालमा २०७७ जेष्ठ १ गते सम्म संक्रमितको संख्या २४९ पुग्दा सम्म यो रोगबाट कसैको ज्यान गएको थिएन । २०७७ आषाढ १ गते सम्म संक्रमितहरुको संख्या बढेर ६२११ पुग्यो त्यस बेला रोगको मृत्यु दर ०.३०% रहेको थियो |देसमा संक्रमण निरन्तर बढ्दै गयो तथापि आषाढ महिनामा कूल मृत्युदरमा कमी आएको देखिन्छ ।

श्रावण १ गते सम्म पुग्दा मृत्युदर ०.३०% बाट घटेर ०.२२% पुगेको थियो । सरकारले आषाढको दोस्रो साताबाट देसमा बन्दाबन्दीलाई खुकुलो पार्दै लग्यो । निजी सवारी साधनहरुको आवतजावत र मानिसहरुको हिडडुलमा उल्लेख्य बृद्धि भयो । पसल बजार तथा अन्य सार्वजनिक स्थलहरु पनि खुल्दै गए जसको परिणाम भाद्र १ गते सम्म आइपुग्दा मृत्युदर बढेर ०.३९%पुग्यो | त्यसैगरी लक्षणसहितका संक्रमितहरुको संख्यामा पनि बृद्धि भयो ।  नेपालका सहरी तथा ग्रामीण क्षेत्रहरुमा समुदाय स्तरबाट पनि संक्रमण देखिन थाल्यो । हाल काठमाण्डौ उपत्यका लगायत तराईका अन्य ठूला सहरहरुमा संक्रमण बढी देखिएको छ भने देसभर नै संक्रमण बढिरहेको छ । नेपालमा २०७७ भाद्र १२ गते सम्म आइपुग्दा कोरोना संक्रमणबाट हुने मृत्युदर ०.५३% पुगेको छ ।

नेपालमा सुरुका दिनहरुमा नयाँ संक्रमित भन्दा निको भएर जाने संक्रमितहरुको अनुपात उच्च रहेको थियो जसको परिणाम देसमा कूल संक्रमितको अनुपात बढे पनि सक्रिय संक्रमितहरुको संख्यामा कमी आएको थियो तर पछिल्ला दिनहरुमा निको हुनेको अनुपातमा नयाँ संक्रमितको संख्या उच्च रहेको छ । त्यसैगरी रोगको निको हुने अनुपात पनि पहिलाको भन्दा धेरै ढिलो देखिन्छ भने अर्कोतर्फ लक्षण सहितका संक्रमितहरुको संख्या बढ्नुको साथै अस्पताल भर्नादर पनि बढेको छ ।

हाल अस्पतालहरुमा ICU र Ventilator मा राखेर उपचार गरिने रोगीहरूको अनुपात पनि उल्लेख्य बढेको छ | त्यसैगरी देसका बिभिन्न भागहरुमा क्वारेन्टिन र आइसोलेशनमा रहनेहरुको संख्यामा पनि बृद्धि भैरहेको छ । स्वास्थ्य सेवाहरुको अभाव हुनुको साथसाथै चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुमा पनि संक्रमणको दर बढिरहेको छ ।

विश्वमा कोरोनाबाट कूल संक्रमित हुनेहरु र निको हुनेहरू मध्ये क्रमस ३-५% र ४.६५% मानिसहरुको मृत्यु भएको छ भने नेपालमा यो प्रतिसत क्रमस: ०.९५% र ०.५५% रहेको छ । नेपालमा कोरोना संक्रमणबाट भएको मृत्युदर विश्व र एशिया महादेशको तुलनामा कम रहे तापनि सार्क मुलुकहरु माल्दिभ्स, श्रीलंका र भुटानको भन्दा बढी रहेको छ ।  नेपालमा हाल कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेकोले लक्षण सहितका बिरामीहरुको संख्या पनि बृद्धि भएको विज्ञहरुको दाबी छ ।

नेपालमा पुरुष र महिला विचको संक्रमण अनुपात करिब ४:१ रहेको छ त्यसै गरी मृत्यु हुनेहरुमध्ये करीब ८०% भन्दा बढी ४० वर्षभन्दा माथि उमेर समूहका व्यक्तिहरु रहेका छन जसमध्ये उमेर समूह ६१-८० र ८० वर्ष माथिका व्यक्तिहरूमा मृत्युदर क्रमस: ४.८४% र १०.१८% रहेको छ ।

नेपालमा बन्दाबन्दी खुकुलो पारे पश्चातका दिनहरूमा कोरोना संक्रमण अनपेक्षित रुपमा बढी रहेको छ । कूल संक्रमित बढ्नुको साथै लक्षण सहितका संक्रमित बढ्नु र मृत्युदर बढ्नु नेपालको लागि थप चुनौती बन्दै गएको छ ।  सरकारले यस महामारीको अवस्थालाई सूक्ष्म रुपले विश्लेषण गरेर बढी प्रभावित क्षेत्रहरूमा लक्षित कार्यक्रम संचालन गर्नु पर्ने देखिन्छ।  जस्तै सुरक्षा व्यवस्थालाई चुस्त पारी बन्दाबन्दी, निषेधाज्ञा र जनस्वास्थ्यका मापदण्डहरूको प्रभावकारी कार्यान्वयन गर्नु पर्दछ ।

त्यसैगरी सरकारले भविष्यमा आउनसक्ने सम्भावित अवस्थालाई मध्यनजर गरी स्वास्थ्य पूर्वाधारहरूको विकास, जनशक्तिको क्षमता अभिवृद्धि, आवश्यक औषधी तथा उपचार सामग्रीको व्यवस्थापनमा केन्द्रित रहनु पर्दछ । त्यसैगरी सरकारले आफ्नो स्वास्थ्य सूचना प्रणालीलाई सुदृढ गरी आवश्यक सूचना आम समुदायसम्म सम्प्रेषण गर्ने र गलत सूचनाहरूको समयमै पहिचान गरी भ्रमहरूलाई समयमै चिर्न सक्नु पर्दछ ।

डा. तुल्सीराम भण्डारी जनस्वास्थ्य विज्ञ एवं पोखरा विश्वविध्यालयको सह-प्राध्यापक हुनुहुन्छ । 

सम्बन्धित शिर्षक :