सैनामैनामा सुविधा सम्पन्न अस्पतालको निर्माण कार्य सुरु गरिने

आर्थिक बर्ष २०७७⁄०७८ को नीति तथा कार्यक्रम सार्वजनिक

स्वास्थ्यसमाचार /सैनामैना नगरपालिकाले आर्थिक बर्ष २०७७⁄०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नगरप्रमुख चित्र बहादुर केसीले नीति तथा कार्यक्रममा कोरोना भाईरसको महामारीले स्वास्थ्य क्षेत्रको विस्तार र सबलिकरण गर्नुपर्ने पाठ सिकाएको बताउँदै आगामी आर्थिक वर्ष स्वास्थ्य संस्थाहरुको स्तरोन्नति, पूर्वाधार विकास, जनशक्ति व्यवस्था र सेवाको समतामूलक पहुँच एवं गुणस्तर वृद्धि गर्न स्वास्थ्य क्षेत्रको पुन स् संरचना गरिने उल्लेख छ ।

कोरोना महामारी लामो समय सम्म रहिरहे नगरपालिका भित्रै सञ्चालनमा रहेका सामुदायिक क्वरेण्टीन संख्या ५ र आइसोलेशन कक्ष संख्या १ को क्षमता विस्तार गरिनेछ ।

नीति तथा कार्यक्रममा स्थानीय तहमा एक अस्पताल बनाउने कार्यक्रम अनुरुप यस नगरपालिकामा सुविधा सम्पन्न अस्पतालको निर्माण कार्य सुरु गरिने तथा सबै स्वास्थ्य संस्थाहरुमा व्यवस्थित फिबर क्लिनिक सञ्चालन गरिनेछ । रामापुर स्वास्थ्य चौकीमा आँखा अस्पताल निर्माण र वडा नं ११ वनकट्टीमा २४ घण्टे प्रसुती सेवाको विस्तार गरिनेछ ।

स्वास्थ्य चौकी नभएका ९ वटा वडाहरुमा आधारभुत स्वास्थ्य चौकी भवन निर्माण गरी सञ्चालनमा ल्याइने नीतिमा उल्लेख छ । कोरोना महामारीमा उपचारमा संलग्न स्वास्थ्य कर्मीहरुलाई प्रोत्साहित गर्न जोखिम भक्ताको व्यवस्था मिलाईनेछ ।

स्वास्थ्य वीमा सम्बन्धी कार्यक्रम अन्तर्गत २०७७ कार्तिक मसान्तसम्म सवै नगरवासीको स्वास्थ्य वीमा गरिनेछ । महिला स्वास्थ्य स्वयंम सेविका र ८४ वर्ष उमेर नाघेका जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य वीमाको व्यवस्था मिलाइने नीतिमा उल्लेख छ । स्वयंम सेविकाहरुले गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै महिला स्वास्थ्य स्वयंम सेविका अक्षय कोषमा थप रकमको व्यवस्था गरिनेछ ।

त्यस्तै नगरपालिकाका सम्पूर्ण नगरवासीहरुलाई सफा र स्वच्छ खानेपानीको व्यवस्था मिलाउन एक घर एक धारा” कार्यक्रम सहित सबै नगरबासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन संघीय र प्रदेश सरकारको समन्वयमा पाइपलाईन विस्तार, ओभरहेड ट्याङकी निर्माणको कार्य अगाडी बढाइन नीतिमा उल्लेख गरिएको छ ।

सफा घर, टोल र शहर सैनामैनावासीको एउटै रहर” भन्ने नारालाई सार्थक बनाउन फोहोरको दीर्घकालिन व्यवस्थापनका लागि सैनामैना नगरपालिका वडा नं १०, एक्ला पहाडमा बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाको सहकार्यमा अन्तर स्थानिय तह संयुक्त फोहोर प्रशोधन केन्द्र निर्माण गर्न संघीय सरकारबाट जग्गाको भोगाधिकार लिने प्रक्रिया अघि बढाइएको नीतिमा उल्लेख छ ।कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको संचालनमा भएको थियो ।

सम्बन्धित शिर्षक :