बुटबल उपमहानगरद्धारा कोरोना रोकथाम, नियन्त्रण र राहत खर्च सार्वजनिक

१करोड ९३ लाख ८८ हजार रुपैयाँको खर्च भएको सार्वजनिक

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाले कोरोना महामारीविरुद्ध भएगरेका कामहरुको सबै विवरण सार्वजनिक गरेको छ ।कोषमा जम्मा भएको रकम र खर्च भएको रकमसमेत एकत्रित गरेर सबै विवरण सार्वजनिक गरेको हो ।

बुटवलले कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि भइरहेको काममा सहकार्य गर्ने तीनै तहका सरकार, राजनीतिक दल, सुरक्षा निकाय, निजी क्षेत्र, सामाजिक संघसंस्था र सञ्चारकर्मीलाई आभार प्रकट गर्दै निरन्तर सहकार्यको अपेक्षा गरिएको प्रमुख शिवराज सुवेदीले वताए ।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा राहत वितरणमा भएका खर्च विवरण जस्ता तस्कै सार्वजनिक गरिएको भन्दै प्रमुख सुवेदीले वेभसाइटमा पनि राखिने वताए ।

खर्चमा मितव्ययिता

उपमहानगरमा हालसम्म बिभिन्न शिर्षकमा एक करोड ९३ लाख ८८ हजार सात सय ७६ रुपैयाँको खर्च भएको सार्वजनिक विवरणमा छ । सार्वजनिक गरिएको खर्च विवरण अनुसार कोरोना विशेष अस्पताल निर्माण तथा त्यसम्बन्धी कार्यहरुमा दुई लाख ६९ हजार ४०१ रुपैयाँ खर्च भएको छ।

भने क्वारेन्टाइनहरुको निर्माणमा ७९ हजार ५ सय ४५, क्वारेन्टाइनहरुमा आवश्यक पर्ने सामान तथा व्यवस्थापनका लागि ३ लाख २४ हाजर ५९४ तथा क्वारेन्टाइनमा बस्नेहरुका लागि खाना तथा औषधिका लागि ११ लाख ५१ हजार ५५८ रुपैयाँ खर्च भएको छ ।

यसैगरी उपमहानगरपालिकामा राहत वितरणलगायतका लागि १ करोड ६४ लाख ४१ हजार ११ रुपैयाँ खर्च भएको छ भने मास्क, सेनिटाइजर, पिपिइ लगायतका सामाग्री खरिदका लागि ९ लाख ५६ हजार ६ सय ५३ तथा अन्य विविध खर्चमा १ लाख ६५ हजार ११४ रुपैयाँ भएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले वताए ।

व्यवस्थित क्वारेन्टिन र आइसोलेशन

बुटवलले प्रदेश सरकार तथा लुम्बिनी प्रादेशिक अस्पतालसँगको सहकार्यमा बुटवलको धागो कारखानामा कोरोना विशेष अस्पताल सञ्चालन गरेको छ भने बुटवल–११ देविनगरमा अवस्थित एन्फा टेक्निकल सेन्टरमा आइसोलेशन सेन्टर, तामनगरको केएनआइटिमा आइसोलेसन सेन्टर सञ्चालन गरेको छ ।

यस्तै कान्ति मावि, नवरत्न मावि र मोतिपुर माविमा क्वारेन्टाइन निर्माण गरि सञ्चालनमा ल्याएको छ । बुटवलमा निर्माण गरिएको कोरोना विशेष अस्पतालका लागि यस क्षेत्रका सामाजिक संघ संस्थाहरुबाट ४१ लख ५० हजार आर्थिक सहयोग तथा शौचालय निर्माण, पिपिई, स्वास्थ्य सामग्री र औषधिलगायतका सहयोगहरु प्राप्त भएका थिए ।

क्वारेन्टिनबाट ६ सय ७० जना डिस्चार्ज

हालसम्म बुटवलका क्वारेन्टाइनमा ७ सय ८५ जनालाई ल्याई राखिएकोमा ६ सय ७० जनालाई घर पठाइ सकिएको तथा १ सय १५ जना अझै पनि क्वारेन्टाइनमा बसिरहेका उपमहानगरले जनाएको छ ।

हालसम्म १०२ जनको पिसिआर परीक्षण तथा ४३३ जनाको आडिटि परीक्षण गरिएको छ । पिसिआर परिक्षण गरिएका मध्ये बुटवलका ४ जना कोरोना पोजेटिभ देखिएको छ ।

बुटवलमा हालसम्म ४ सय बढी नागरिक विदेशबाट घर फर्केका छन् । कोरोना नियन्त्रण तथा रोकथामका लागि बुटवलका आठवटा स्वास्थ्य संस्थाबाट आठ हजार पाँचसय २७ जनाको स्वास्थ्य परीक्षण भएको स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहले वताए ।

सम्बन्धित शिर्षक :