रुघाखोकीको उपचार नपाएर हुम्लामा नौजनाको मृत्यु, दुई सय बिरामी

हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकामा रुघाखोकीका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । २६ चैतयता फैलिएको महामारीले दुई सय बासिन्दा बिरामी छन् । तर, १९ दिनसम्म पनि उनीहरूले औषधि पाएका छैनन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ताँजाकोटमा मृत्यु हुनेको संख्या अपडेट गराएको छ । तर, केन्द्र अथवा प्रदेश सरकारको कुनै पनि टोली अहिलेसम्म प्रभावित गाउँमा पुगेको छैन । परीक्षण नभएकाले रोग के हो भन्नेसमेत पहिचान हुन सकेको छैन । फोनबाट लिएको जानकारीका आधारमा महाशाखा भन्छ, ‘सो गाउँमा स्वाइन फ्लु फैलिएको अनुमान गर्न सकिन्छ ।’

सदरमुकाम सिमकोटबाट ४५ कोस टाढा ताँजाकोट गाउँ पुग्न सडक छैन, पैदल जान तीन दिन लाग्छ, त्यसैले सरकारले डाक्टर र औषधि पठाएको छैन । जनताका लागि औषधि र स्वास्थ्यकर्मी पुर्‍याउन सरकारले हेलिकोप्टरसमेत व्यवस्था गर्न सकेको छैन ।

महामारीबाट मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा र बालबालिका छन् । ताँजाकोट गाउँपालिका वडा नम्बर १, २ र ३ मा दुई सय ५० भन्दा बढीमा रुघाखोकी र ज्वरो देखिएको स्थानीय जगत शाहीले बताए । गाउँपालिका प्रमुख बागदल मल्लले एक दर्जन बस्तीमा रोग फैलिएको जानकारी दिए । उनले संक्रमण देखिएको दुईदेखि चार दिनभित्रै बिरामीको मृत्यु हुने गरेको बताए । मैला स्वास्थ्य चौकीका अहेव मोतीलाल जैसीका अनुसार दुई दिनअघि १० महिने बालकको समेत मृत्यु भएको छ । पूरै गाउँ इन्फ्लुएन्जाबाट प्रभावित भएको उनले बताए ।

अझै हिँडेन स्वास्थ्यकर्मीको टोली
विकट ताँजाकोटमा नौजनाको ज्यान गइसक्दा पनि औषधि र विज्ञसहितको टोली प्रभावित क्षेत्रमा पठाइएको छैन । प्रदेश सरकारले शनिबार नेपालगञ्जबाट बाजुराको कोल्टीसम्म जहाजमा जाने र त्यहाँबाट पैदल पठाउने गरि शनिबार औषधि र उपकरणसहितको स्वास्थ्यकर्मी टोली खटाएका थियो । कोल्टीबाट पैदल ताँजाकोट पुग्न एक दिन लाग्छ । तर, प्रतिकूल मौसमका कारण कोल्टीका लागि जहाज उड्न नसकेपछि टोली नेपालगञ्जबाट अघि बढ्न सकेन । कर्णाली प्रदेश स्वास्थ्य महाशाखाका महामारी सम्पर्क व्यक्ति श्याम आचार्यको नेतृत्वमा डा। टेकराज भट्टराई र एकजना ल्याबका कर्मचारी साँझ सुर्खेत नै फर्किएको प्रदेश महाशाखा प्रमुख वृषबहादुर शाहीले बताए ।

गृहले हेलिकोप्टर पठाए आइतबार जाने
सुर्खेतबाट औषधिसहित चिकित्सकको टोली ताँजाकोट ल्याउन हेलिकोप्टर उपलब्ध गराइदिन हुम्ला जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयलाई पत्र पठाएको छ । गृहजिल्ला हुम्ला पुगेका कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले हेलिकोप्टरका लागि सिडिओमार्फत पहल गरेका हुन् । तर, गृहले शनिबार अबरेसम्म पनि हेलिकोप्टर उपलब्ध गराउने निश्चित नगरेको खबर प्राप्त भएको प्रदेश महाशाखा प्रमुख वृषबहादुर शाहीले बताए ।

‘जिल्लामा आवश्यक समन्वय भइरहेको छ । आइतबार हेलिकोप्टर टुंगो लागेपछि स्वास्थ्यकर्मी र औषधिसहितको टोली पठाउने भन्ने छ । गृहले हेलिकोप्टर उपलब्ध गराइदिए औषधिसहित तयारी अवस्थामा रहेका स्वास्थ्यकर्मी त्यसतर्फ लाग्छन्,’ शाहीले भने । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले आइतबार हेलिकोप्टरमा स्वास्थ्यकर्मी र औषधिसहितको टोली पठाइने बताए । रोगप्रभावित क्षेत्र सदरमुकामबाट चार दिन टाढा रहेकाले प्रदेश सरकारसँगको समन्वयमा सुर्खेतबाटै टोली जाने निर्णय भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वाइन फ्लुको आशंका
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सकहरूले हुम्लामा फैलिएको रुघाखोकी र ज्वरो स्वाइन फ्लु भएको हुन सक्ने आशंका गरेका छन् । स्वाइन फ्लु ९एचवानएनवान पिडिएम ०९० सँग मिल्दोजुल्दो लक्षण देखिएको उनीहरूको भनाइ छ । महाशाखा प्रमुख डा। लालले सुर्खेतबाट गएको टोलीले नमुना संकलन र परीक्षण गरेपछि मात्रै रोग पहिचान हुने बताए । आवश्यक जनशक्ति र रोगको सही पहिचान हुन नसक्दा रुघाखोकी फैलिएको उनले बताए ।

रुघाखोकीबाट ताँजाकोट गाउँपालिकाकी ७५ वर्षीया कुसुकली रिठालको २६ चैतमा मृत्यु भएको थियो । ६० वर्षीय सुरजित खड्काको १ वैशाख, ५५ वर्षीय वीरबल रिठालको १४ वैशाख, ५५ वर्षीय रङ्गे कालीको ६ वैशाखमा, पाँच वर्षीया सुनकेस्रा सुनारको १० वैशाखमा र ७० वर्षीया अम्मकली मल्लको ३ वैशाखमा मृत्यु भएको थियो । त्यस्तै, ५५ वर्षीय लक्ष्य सुनारको १ वैशाख, ७६ वर्षीय बज्जिरे सुनारको ७ वैशाख र दशमहिने बालक सञ्जीव थापाको १२ वैशाखमा मृत्यु भएको हो । बिरामीमा टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने लक्षण देखिएको छ ।

घरघरमा बिरामी, औषधिको चरम अभाव
स्थानीय जगत शाहीले घरघरमा रुघाखोकी लागेर बिरामी लम्पसार परेको बताए । उनले औषधि अभाव भएको पनि जानकारी दिए । मैला स्वास्थ्यचौकीका अहेब मोतीलाल जैसीका अनुसार पहिलेभन्दा बिरामीको संख्या कम भएको छ । तर, औषधिको भने चरम अभाव रहेको उनले बताए । ‘सुरुमा औषधि थियो, तर गाउँमा बिरामी बढेपछि औषधि अभाव भएको छ,’ उनले भने । गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र स्याकू शुक्रबार मात्रै काठमाडौं गएको जैसीले बताए । गाउँपालिकामा रहेका स्वास्थ्यकर्मी रोग नियन्त्रणमा खटिएको पनि उनले बताए ।

भएको औषधि तीन साताअघि नै सकियो स् बागदल मल्ल, अध्यक्ष ताँजाकोट गाउँपालिका
पछिल्ला दुई सातामा नौजनाको ज्यान गएको छ । रोगको पहिचान अझै हुन सकेको छैन । बिरामीमा ज्वरो आउने, छाती दुख्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने लक्षण देखिएको छ । गाउँपालिकामा औषधि र स्वास्थ्यकर्मी छैनन् । भएको औषधि पनि केही साताअघिको स्वास्थ्य शिविरमा वितरण गरेर सकिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले औषधि र स्वास्थ्यकर्मीको टोली पठाउने जनाएको छ ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शिर्षक :