बुटवल उपमहानगरमा कोरोनासंगै डेंगू विरुद्धको अभियान सुरु

१९ वटै वडाहरुमा स्वास्थ्यकर्मी तथा स्वयमसेवकहरुलाई डेंगूको पूर्वतयारीमा केन्द्रित हुन निर्देशन

स्वास्थ्यसमाचार /बुटवलमा कोरोना भाइरस (कोभिड–१९) को महामारीसंगै अब डेंगू रोगका विरुद्ध पनि अभियान सुरु भएको छ ।बुटवल उपमहानगरपालिकाले नगरका १९ वटै वडाहरुमा स्वास्थ्यकर्मी तथा स्वयमसेवकहरुलाई डेंगू रोगको महामारीका विरुद्ध सावधानी र पूर्वतयारीमा केन्द्रित हुन निर्देशन दिएको छ ।

कोराना महामारीसंगै डेंगूको महामारीको जोखिम समेत बढेको भन्दै समुदाय स्तरमा सुरक्षित तरिकाले सचेतनाका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको हो । महामारीका बेलामा टोलटोलमा गरिएका राहत वितरण र सचेतनाका अभियानमा खटिएकाहरुलाई नै अब डेंगू रोगका बारेमा पनि सचेत गराउन लगाउने छ ।

उपमहानगरले स्थानीय विपद् व्यवस्थापन समिति र त्यसमातहका समुदाय स्तरका संयन्त्रलाई महामारीबाट जोगिने उपाय अबलम्बन गर्दै डेंगू रोगका विरुद्धको अभियानमा सामेल गराउने तयारी भएको प्रमुख शिवराज सुवेदीले जानकारी गराए ।

महामारीका बेलामा विशेष काम गरिरहेको स्थानीय विपद् व्यवस्थापन समिति र त्यस मातहतको क्रायसिस म्यानेजमेन्ट सेन्टर (सीएमसी) ले समेत यो अभियानमा पैरवी गर्ने छ । महामारीका असर, प्रभाव र त्यसबाट जोगिने उपायका बारेमा सचेतनाका काम भइरहेकाले अब त्यसैमार्फत डेंगू रोगका विरुद्ध पनि विशेष अभियान चलाउन सकिने छ ।

लामखुट्टेको वासस्थान खाजी गरी लार्भा नष्ट गर्नका लागि ‘खोज तथा नष्ट गर’ कार्यक्रम सञ्चालन गरिने छ । यसखालका लामखुट्टेको बासस्थान रहेका क्षेत्रको पहिचानका लागि स्वास्थ्य क्षेत्रका प्राविधिकलाई खटाउने र त्यसैका आधारमा खोज र नष्ट गर अभियान चलाइने प्रमुख सुवेदीको भनाइ छ ।

डेंगु रोग नियन्त्रण र रोकथामका लागि समुदायस्तरमा सचेतना जगाउन विभिन्न संयन्त्रलाई परिचालन गरिने बताउँदै प्रमुख सुवेदीले महिला स्वास्थ्य स्वयमसेविका, टोलविकास संस्था, राजनीतिक दल, नागरिक अगुवा तथा आमसञ्चारकर्मीको सहकार्यमा नै अभियान प्रभावकारी बनाइने वताए ।

अहिले केही दिन यता लगातार पानी परिरहेको छ । महामारीको रोकथामका लागि झण्डै दुई महिनादेखि बन्दाबन्दी (लकडाउन) छ । यो बेलामा ग्यारेजलगायतका क्षेत्र बन्द हुँदा धेरै ठाउँमा पानी जम्ने अवस्था छ । त्यसखालका लामखुट्टेका लागि अहिले अण्डा पार्न उपयुक्त समय देखिएको स्वास्थ्यकर्मीको भनाइ छ । यहीँ बेलामा खोज र नष्ट गर अभियान सञ्चालन गर्दा प्रभावकारी हुनसक्छ ।

बुटवलमा रहेको १९ वटा वडा मध्ये डेंगू रोग लगाउन सक्ने लामखुट्टेको उपयुक्त बासस्थान रहेका क्षेत्रको खोजी गरेर त्यहीँबाट लार्भा नष्ट गर्ने अभियान सञ्चालनको तयारी भइरहेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले वताए ।

जोखिमका क्षेत्र निर्धारण र डेंगू सार्ने लामखुट्टेको बासस्थान रहेका क्षेत्रको पहिचान तथा जनवास्थ्यका सेवालाई प्रभावकारी बनाउनका लागि उपमहानगरका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंह नेतृत्वको स्वस्थ्यकर्मी तथा प्राविधिकको टोलीलाई निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत शर्माले वताए ।

सिंह नेतृत्वको टोलीले सरोकारवालासंगको सहकार्यमा प्राविधिक परिचालन गर्ने छ र सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा स्वास्थ्यचौकीहरुलाई तम्तयारीमा राख्ने छ । हालको महामारी रोकथामका लागि यहाँका स्वास्थ्य संस्थामा फिवर क्लिनिक सञ्चालन गरिएको छ भने दीर्घ रोगीलाई घरघरमै औषधि पु¥याउनुका साथै स्वास्थ्यकर्मीलाई हटलाइन सेवामा खटाइएको छ ।

यस्ता हुन्छन् डेंगू सार्ने लामखुट्टे

एउटा लामखुट्टेको जीवनकाल सालाखाला ३० दिनको हुने गर्छ । एउटा लामखुट्टेले आफ्नो जीवनभर करिब पाँच सयदेखि एक हजारसम्म अण्डा पाने गर्दछ । संक्रमित लामखुट्टेका सबै अण्डा पनि संक्रमित नै हुने गर्दछन् ।

यसले सफा र जमेको पानीमा मात्रै अण्डा पार्ने गर्दछ र यसको अण्डा पानीबिना पनि महिनौसम्म जीवित रहनसक्छ । यो लामखुट्टेले सामान्यतया उज्यालोमा टोक्ने गर्दछ । एउटा मानिसबाट अर्कोमा सोझै सर्दैन ।

हरेक अण्डाबाट नयाँ लामखुट्टेको जन्म हुँदा प्रत्येक जिवित लामखुट्टेले डेंगुको विषाणु बोकेको हुन्छ र त्यसले अर्को स्वस्थ मानिसलाई टोकेमा रोगबाट सक्रमित हुन्छ । पोथी जातको लामखुट्टेलाई फूल पार्नका लागि धेरै मात्रामा प्रोटिनको आवश्यकता पर्ने भएकाले पोँथी लामखुट्टेलै धेरै रगत चुस्ने गर्दछ । भाले जातको लामखुट्टेले बोट बिरुवाको रस चुसेर जीवनयापन गर्नेगर्दछ ।

नेपालमा कहिले देखि देखियो ?

नेपालमा सन् २००४ मा पहिलो विरामी (विदेशी) भेटिएको थियो । दुई वर्ष अघिसम्म त नेपालमा यसका विरामीको पहिचानलाई गोप्य राख्ने गरिन्थ्यो । पहिलो विरामी देखिएको दुई वर्ष पछि तराई र भित्री मधेशका केहि जिल्लामा डेंगुका विरामीहरु भेटिएका थिए ।

त्यसको करिब चार वर्षपछि अथात् सन् २०१० मा त रुपन्देहीमै यसका विरामी देखिए । त्यसबेला सबैभन्दा धेरै प्रभाव रुपन्देही, चितवन र नवलपरासी जिल्लामा पर्न गएको थियो ।

त्यतिखेर आठ सय जना विरामी देखिएकोमा एक वर्षपछि तीन गुणाले बृद्धि भएर करिब दुई हजार विरामी देखा परेका थिए । तीमध्ये अधिकांशलाइ निको भएको थियो ।

डब्लूएचओलाई चिन्ता बढाएको रोग

विगत केही दशक देखि विश्वभरी नै डेंगु रोगको संक्रमण अत्यधिक रुपमा बढ्दै गएपनि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिन्ता व्यक्त गरेको छ । ५० वर्षमा यो रोगको संक्रमण ३० गुणाले बढेको डब्लूएचओको भनाइ छ । १२८ भन्दा बढी मुलुकका ३.९ अरब मानिसहरु यस रोगको जोखिमको क्षेत्रमा बसोबास गर्ने गरेका छन् ।

त्यसमा नेपालका तराई क्षेत्र पनि पर्दछन् । प्रत्येक वर्ष झण्डै ३९ करोड मानिसमा डेंगु रोगको संक्रमण हुने गरेको र त्यसमा २० हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको तथ्यांक छ ।

लक्षण र चिन्ह

३–१० दिनसम्ममा यसको संक्रमण देखिन सक्छ । १०२ र १०३ डिग्रीसम्मको ज्वरो आउनु, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाका गेडी दुख्ने, जिऊ र जोर्नी दुख्ने, राताराता बिमीरा आउने हुन्छ ।

सामान्यता ज्वरो आएको तीन देखि पाँच दिनसम्ममा डेंगू ज्वारो देखिने गर्दछ । समयमै उपचार नपाएमा मानिसको मृत्यु हुन सक्छ ।

सम्बन्धित शिर्षक :