तिलोत्तमाले बनायो १० बेडको सुबिधा सम्पन्न आइसोलेसन सेन्टर

स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकास गरेर लैजाने गरी तयारी : नगर प्रमुख घिमिरे

स्वास्थ्यसमाचार /मुलुकमा कोरोना संक्रमितको संख्या बढिरहँदा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नै सक्रियतामा आइसोलेसन सेन्टर निर्माण गरेको छ ।

कोरोना संक्रमणको पूर्वतयारी अन्तर्गत् तिलोत्तमाले शँकरनगर स्वास्थ्य चौकीमा आइसोलेसन सेन्टर निर्माण गरेको हो ।स्वास्थ्य चौकीबाट नियमित प्रवाह हुँदै आएको सेवालाई वडा नं २ को कार्यालयमा स्थान्तरण गरी स्वास्थ्य चौकीलाई आइसोलेसन सेन्टरको रुपमा तयार गरिएको नगर प्रमुख बासुदेव घिमिरेले वताए ।

आइसोलेसन सेन्टरको लागि एक जना चिकित्सक र एक जना नर्स नियुक्त गरिएको छ ।बुटवल कोरोना अस्पतालका चिकित्सक तथा प्राविधिकको निगरानी र परामर्शको आधारमा आइसोलेसन सेन्टर निर्माण गरिएको स्वास्थ्य चौकी ईञ्चार्ज केशव भट्टराईले वताए । दश बेडको आइसोलेसन सेन्टरमा नेपाल सरकारले तोकेको एक तहको कोरोना अस्पतालको सम्पूर्ण सुविधा रहेको वताए ।

तत्काल दश बेड तयार गरिए पनि आवश्यकताको आधारमा थप दश बेड विस्तार गर्न सकिने उहाँले जानकारी दिए। सेन्टरमा आइसियु र भेन्टिलेटरको सुविधा नचाहिने कोरोनाका बिरामी तथा कोरोना सम्भावित सबै प्रकारका बिरामीको उपचार गर्न सकिने छ ।सेन्टरमा बिरामीलाई २४ सैं घण्टा सेवा दिनेगरी स्वास्थ्यकर्मीहरुको व्यवस्थापन हुने चिकित्सक संयोजक पाठकले वताए ।

तिलोत्तमा नगरपालिकाले आफ्नै स्रोतमा दुई जना चिकित्सक तथा एक जना स्टाफ नर्स नियुक्त गरेको छ भने दश वटा स्वास्थ्य संस्थामा झण्डै ८० जना कर्मचारीहरु कार्यरत छन् । बुटवल कोरोना अस्पतालले पठाएका जुन कुनै ठाउँका बिरामीहरुलाई सेन्टरमा राखेर उपचार गरिने डा पाठकले वताए ।

उनका अनुसार सेन्टरमा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा राजेन्द्र खनाल, कोरोना फोकल पर्सन डा सुदर्शन थापा र मेट्रोनको सल्लाह सुझावको आधारमा काम भैरहेको छ ।नगर प्रमुख बासुदेव घिमिरेले कोरोना महामारीको अन्त्य भैसकेपछि स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकास गरेर लैजाने गरी तयारी भैरहेको जानकारी दिए।

अहिले थप गरिएका मेडिकल उपकरण तथा भौतिक पूर्वाधारले अस्पताल सञ्चालनमा सहजता ल्याउनेछ ।तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमण पूर्वतयारी अन्तर्गत् शँकरनगरमैं क्वारेन्टाइन सञ्चालन गरिरहेको छ । हालसम्म क्वारेन्टाइनबाट ९९ जनाले सेवा लिएको स्वास्थ्य शाखाले जनाएको छ ।

सम्बन्धित शिर्षक :