सहकार्य र सहयोगबाट नै कोरोना विरुद्धको लडाई जित्न सकिने

मुख्यमन्त्रीद्धारा सर्वदलीय बैठक

स्वास्थ्यसमाचार /प्रदेश ५कां. मुख्यमन्त्री शंकर पोखरेलले कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका काम र आगामी योजना बिषयमा सर्वदलीय बैठक राखेर जानकारी गराएका छन।

प्रदेशमा तीन तहका सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि अहिलेसम्म गरेका काम र योजनाका विषयमा जानकारी गराउदै उनले सबैको सहकार्य र सहयोगबाट नै कोरोना विरुद्धको लडाई जित्न सकिने बताए ।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले बाँके, दाङ, बुटवल र भैरहवामा चार वटा आइसियु सहितको कोरोना विशेष अस्पताल तयार गरी उपचार शुरु गरेको जानकारी गराउँदै भैरहवामा प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको परिक्षण भइरहेको केही दिनमै नेपालगञ्ज र दाङ्गमा पनि परिक्षण छिट्टै सुरु गरिने बताए ।

मुख्यमन्त्री पोखरेलले नेपाल भारत सीमा क्षेत्रमा कडाई गरिएको र सशस्त्र प्रहरी बलको आवश्यक संख्या थप गरी परिचालन गरिएको बताए । स्थानीय तहहरुले भारत लगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क संकलन र क्वारेन्टाइन निर्माण र दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङक संकलन गरी राहत वितरण गर्न थालेको बताए ।

कोरोना विरुद्धको अभियानलाई सफल बनाउन सबैको समन्वय र सहकार्यबाट संम्भव भएको बताउदै मुख्यमन्त्री पोखरेलले एकताबद्ध भई कोरोना विरुद्धको लडाईमा लाग्न सबै राजनीतिकदलहरुलाई आग्रह गरे ।

सर्बदलीय बैठकमा प्रदेशसभा नेकपा संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकाल, संसदीय समितिका सभापति दधिराम न्यौपाने, हरि रिजाल, कांग्रेस सचेतक निर्मला क्षेत्री, प्रदेश सभा सदस्य फकरुद्दीन खान, विजय जयसवाल, समाजवादी फोरमका प्रदेश सभा सदस्य सन्तोष पाण्डे र राजमो प्रदेशसभा सदस्य तारा जिसी सहभागी रहेका थिए ।

बैठकमा सहभागीहरुले कोरोना विरुद्धको लडाई सरकारको मात्रै नभएर सबैको साझा भएकाले सबैले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको नेकपा संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले जानकारी गराए ।

सम्बन्धित शिर्षक :