कोरोना विरुद्ध समन्वय र सहकार्य गर्न मूख्यमन्त्रीको भिडियो सम्वाद

कोरोना रोकथाम तथा नियन्त्रणमा मुख्यमन्त्रीले छैठौं भिडियो संवाद

रीमा बि.सी.
स्वास्थ्यसमाचार /प्रदेश नं. पाँच सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कार्यका विषयमा मुख्यमन्त्री शंकर पोखरेलले गाउँपालिका राष्ट्रिय महासंघका पदाधिकारी समेत रहेका स्थानीय तहका प्रमुखसँग एकिकृत भिडियो संवाद गरेका छन ।

कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय तहका प्रमुखसंग मुख्यमन्त्रीले गरेको छैठौ भिडियो संवाद हो । । आजको भिडियो संवादमा गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय सदस्य एंव बाँकेको खजुरा गाउँपालिका अध्यक्ष किष्मतकुमार कक्षपति, महासंघका केन्द्रीय सदस्य एंव अर्घाखाँचीको छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेल,गाँउपालिका राष्ट्रिय महासंघ,प्रदेश पाँचका अध्यक्ष एंव गुल्मीको छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्त, महासंघको प्रदेश सचिव एंव प्युठानको गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरी, महासंघको प्रदेश सदस्य एंव रुपन्देहीको ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट, नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्मा सहभागी भएका थिए ।

भिडियो संवादका क्रममा पालिका प्रमुखहरुबाट अहिलेसम्म गरेका कामबारे जानकारी लिएपछि मुख्यमन्त्री पोखरेलले कोरोना नियन्त्रणमा आगामी दिनमा गर्नुपर्ने कामबारे मार्गनिर्देशन समेत गरेका थिए । पालिका प्रमुखहरुले भारत लगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क संकलन, क्वारेन्टाइन निर्माण र क्वारेन्टाइनमा बसेका नागरिकको अवस्थाका विषयमा मुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।

जानकारीका क्रममा दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङक संकलन गरी राहत वितरण गर्न थालेको जानकारी गराउँदै आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन मिलाउनका लागि पालिकाका अध्यक्षहरुले मुख्यमन्त्रीको ध्यानाकर्षण गराए ।

पालिकाका अध्यक्षहरुलाई स्थानीयस्तरमा राहत कोषको स्थापना र व्यवस्थित गरी दैनिक ज्यालादारी गरेर खाने विपन्न नागरिकलाई राहत प्रदान गर्न मुख्यमन्त्री पोखरेलले आग्रह गरे । दैनिक ज्यालादारी गरेर खाने मजदुर र विपन्न समुदायलाई खाद्यान्न लगायत सामग्रीको व्यवस्थापन गर्ने काम राज्यको दायित्व भएको र त्यसको पहिलो व्यवस्थापन स्थानीय तहले गर्नुपर्ने मुख्यमन्त्रीले बताए ।

मुख्यमन्त्री पोखरेलले पालिकाले व्यवस्थापन गर्न अप्ठयारो भएमा आवश्यक सहयोग प्रदेशले गर्ने बताए । प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरेको र त्यहा आइसियु सहितको उपचारको व्यवस्था रहेकोले कोरोनाको उपचारको आवश्यक प्रवन्ध भएको उनले गराए ।

भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला परिक्षण शुरु गरिएको, नेपालगञ्ज र दाङमा छिट्टै प्रयोगशाला परिक्षण हुने बताउदै ¥यापिड टेस्ट शुरु गरिएको र क्वारेन्टाइनमा बसेका सबैको ¥यापिड टेस्ट गरिने, ज्वरो आएका र आइसोलेसनमा रहेकाको स्वाब परिक्षण गरिने गरी व्यवस्था मिलाइएको पनि जानकारी दिए।

मुख्यमन्त्री पोखरेलले नेपाल—भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको संख्या बढाइएको र सीमावर्ती क्षेत्रबाट पूर्णतःआवतजावत बन्द गर्न आवश्यक प्रवन्ध मिलाइएको बताउँदै सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न पनि पालिका प्रमुखहरुलाई आग्रह गरे ।

उनले अहिले खेती स्याहार्ने र लगाउने बेला भएकाले सामाजिक दुरी कायम गर्ने गरी खेती स्याहार्ने र लगाउने व्यवस्थाका लागि सहजीकरण गर्न र केही समस्या आए ध्यानाकर्षण गराउन मुख्मयन्त्रीले पालिका प्रमुखहरुलाई आग्रह गरे ।

मुख्यमन्त्री पोखरेलले दाताले सिधै राहत वितरण गर्न थालेको र यसले समस्या ल्याउने भन्दै एकद्धार प्रणालीबाट राहत वितरण गर्नका लागि निर्देशन दिदै राहत वितरणको आवश्यक समन्वय पालिकाले गर्ने र वडा मार्फत राहत वितरणको व्यवस्था गर्दा प्रभावकारी हुने बताए ।

कोरोना विरुद्धको अभियानलाई सफल बनाउन सबैको समन्वय र सहकार्यबाट संभव भएको बताउदै उनले केही समस्या परे तत्काल सम्पर्क गरी समाधानको पहल गर्न आग्रह समेत गरे । उनले अन्य प्रदेशबाट आउने नाकामा कडाई गरी अघि बढ्न र सबैको एकीकृत प्रयासबाट मात्रै कोरोना विरुद्धको लडाईमा जीत हासिल गर्न सकिने बताउनुभयो । पालिका प्रमुखहरुले लकडाउनको समयसीमा अझै बढाउन र कडाई गर्न पनि आवश्यक रहेको मुख्यमन्त्रीलाई सुझाव दिए ।

सम्बन्धित शिर्षक :