स्वास्थ्य मन्त्रालयले भन्यो : स्वास्थ्यकर्मीको तलव काटिदैन

कोरोना उपचार तथा रोकथाम नियन्त्रणका कोषमा स्वेच्छिक सहयोग गर्न सकिने

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफु मातहतका कर्मचारी तथा डाक्टर, नर्स लगायत सम्पूर्ण स्वास्थ्यकर्मीको तलव कट्टा नहुने स्पष्ट पारेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले यसको जानकारी गराए । मन्त्रीपरिषद्को बैठकले ३ देखि ७ दिनसम्मको तलव काट्ने भनिएकोमा मन्त्रालयद्वारा डाक्टर सहित सम्पूर्ण स्वास्थ्यकर्मीको तलव काट्ने निर्णय नभएको प्रवक्ता देवकोटाले वताए । । कोरोना उपचार तथा रोकथाम नियन्त्रणका लागि स्थापना गरिएको कोषमा स्वेच्छिक सहयोग गर्न भने सकिनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको परीक्षणको दायरा बढाएको छ। उपत्यका सहित ११ स्थानमा कोरोनाको परीक्षण सुरु भएसँगै दायरा बढेको हो।पछिल्लो २४ घण्टामा काठमाडौंमा ४ सय १ र बाहिर २ सय २९ गरी ६ सय ३० जनाको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ।

उक्त अवधिमा नयाँ संक्रमित भेटिएको छैन। यो सँगै नेपालमा कोरोनाको आशंकामा परीक्षण भएका नमूनाको संख्या ३ हजार ५ सय २४ पुगेको छ। अहिले पनि ८ सय बढीको नमूना परीक्षण भइरहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।

डा देवकोटाका अनुसार उपत्यका भित्र १५ र बाहिर १ सय १० गरी १ सय २५ जना आईसोलेसनमा भर्ना भई उपचार भइरहेको छ। ८ हजार ६ सय ६० जना क्वारेन्टाइनमा छन्।कैलालीमा ३ सय ३९, कञ्चनपुरमा १ सय ३७, कपिलवस्तुमा २१ र बागलुङमा १९ जनाको नमूना परीक्षण भएका छन् । परीक्षण भएका सबै रिपोर्ट नेगेटिभ आएको प्रवक्ता देवकोटाले बताए।

 

सम्बन्धित शिर्षक :