रुपन्देहीको सीमावर्ती भारतको महाराजगंजमा ६ जना कोरोना संक्रमित फेला

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारबाट करिब ५ किलोमिटरकै दुरीमा ६ जनामा कोरोना पुष्टि

स्वास्थ्यसमाचार /छिमेकी मुलुक भारतमा नेपालकै नजिकसम्म कोरोना पोजिटिभ देखिएपछि यस क्षेत्रका बासिन्दाले थप सर्तकता अपनाउन तथा भारतीय तरकारीको प्रयोग नगर्न आग्रह गरिरहेका छन् ।

भैरहवाबाट करिब २० किलोमिटरको दुरीमा तथा रुपन्देहीकै मर्चवारबाट पाँच किलोमिटर दुरी भित्र पर्ने कोल्हुई क्षेत्र आसपासमा कोरोना पोजिटिभ बिरामी भेटिएको भारतीय संचार माध्यमले जनाएका छन् । कोल्हुई र पुरन्दरपुर क्षेत्रमा ६ जना कोरोना संक्रमित देखिएका छन् ।

दिल्लीको तबलिगी मरकजमा सहभागी भई आएका भारत महाराजगंज जिल्लामा संक्रमितको संख्या बढेको छ ।मरकजबाट २३ जना फर्केर आएको र तिनीहरु मध्ये ६ जनामा कोरोना देखिएको छ । यिनीहरुलाई भारत महाराजगंज जिल्लामा रहेको मिठौरा स्वास्थ्य चौकीको आईसोलेसनमा राखिएको छ ।

यस्तै संक्रमितको परिवार तथा मरकजबाट आएका बाँकीलाई पनि क्वारेन्टाईनमा राखिएको भारतीय प्रहरीले जानकारी दिएको छ ।कोल्हुई रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारबाट करिब ५ किलोमिटरकै दुरीमा रहेको छ । शहरी क्षेत्रमा लकडाउनको प्रभाव देखिए पनि ग्रामीण क्षेत्र अझ बिशेष गरि मर्चवार क्षेत्रमा लकडाउनको प्रभाव देखिएको छैन ।

मर्चवार क्षेत्रको मूख्य बजार नै भारतको कोल्हुई लगायतको क्षेत्र भएको कारण यो क्षेत्रमा जोखिम बढेको छ । सीमामा दुवै देशका सुरक्षाकर्मीले निगरानी बढाए पनि खुल्ला सीमाका कारण दुवै देशको नागरिकहरु सुरक्षाकर्मीको आँखा छलेर सीमा वारपार गरि रहेका छन् ।

मर्चवार क्षेत्रबाट नै तरकारी, खाद्यन्न लगायतको बस्तुहरु लुकाई छिपाई नेपाल ल्याउने र यहाबाट नेपालकै बिभिन्न भागमा जाने भएकोले कोरोनाको जोखिममा नेपाली पनि रहेको भन्दै सरोकारवालाले चिन्ता ब्यक्त गरेका छन् ।रुपन्देही प्रशासन भने मर्चवार क्षेत्रमा सुरक्षा चुस्त रहेको दावी गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी खड्क बहादुर खत्रीले सीमा क्षेत्रको सबै ठाउमा प्रहरी खटाएको बताए ।

यद्दपी खुल्ला सीमाको कारण केही समस्या आएकोले सबैलाई यस बारे अपनत्व लिन उनले आग्रह गरेका छन् । प्रहरी संगै त्यस क्षेत्रमा स्थानिय तहहरुले पनि सीमामा निगरानी बढाउन र नेपाल आउने ब्यक्तिको बारेमा जानकारी दिन खड्काले आग्रह गरे ।

सम्बन्धित शिर्षक :